के परमेश्वरको लागि कन्याबाट येशूको जन्म मामुली कुरो होइन र ?

७९ प्रतिशत अमेरिकीले येशू कन्याबाट जन्मनुभयो भनेर विश्वास गरे तापनि दार्शनिक विलियम लेन क्रेगको लागि तिनी जवान छँदा ख्रीष्टियान विश्वासमा आउनको लागि त्यो अवरोध बनेको थियो । तिनले भने, “मेरो विचारमा यो वाहियात कुरो थियो । कन्याबाटको जन्म साँचो हुनको लागि मरियमको डिम्बमा शून्यताबाट y क्रोमोजोमको रचना भएको हुनुपर्थ्यो । मरियमसित छोरो जन्माउने आनुवंशिक पदार्थ थिएन ।”

तरै पनि तिनी ख्रीष्टियान बने । तिनले भनेका छन्, “विश्वासमा आउनको लागि तपाईंका सबै प्रश्नको समाधान हुनुपर्छ भन्ने छैन । तपाईंले केवल यति भन्नु आवश्यक छ, ‘साक्षीको तौलले यो साँचोजस्तो देखिन्छ । तसर्थ मैले मेरा सबै प्रश्नको जवाफ नपाए तापनि म विश्वास गर्ने छु र भविष्यमा उत्तरहरूको अपेक्षा गर्नेछु’ ।”

पछि क्रेग सृष्टिकर्ताको पक्षमा वैज्ञानिक साक्षीहरू प्रस्तुत गर्ने प्रवीण दार्शनिक बने । तिनले येशू कन्याबाट जन्मनुभएको थियो भन्ने सम्बन्धमा तार्किक उत्तर दिएका छन्, “मेरो आफ्नै विषयमा भन्नुपर्दा, मलाई विश्वासमा आउनको लागि कन्याबाटको जन्म एउटा मुख्य अवरोध भएको थियो । यस्तो कुरो म विश्वास गर्न सक्दिनथेँ । तर जब मैले परमेश्वरले सारा विश्वको सृष्टि गर्नुभयो भन्ने तथ्यमाथि मनन गर्न थालेँ तब एउटी स्त्रीलाई गर्भवती बनाउन उहाँको निम्ति कठिन कुरो थिएन । जब एउटा गैरख्रिस्टियानले परमेश्वर को हुनुहुन्छ भनी बुझ्दछ तब आश्चर्यकर्महरूको समस्या उसको निम्ति समस्या हुन छोड्दछ ।”

७० वर्षका विलियम लेन क्रेग ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै ईश्वरशास्त्री हुन् । तिसवटाभन्दा बेसी पुस्तकका लेखकसाथै सम्पादक तिनलाई धेरैले वर्तमान समयका सर्वाधिक महान् ख्रीष्टियान रक्षाशास्त्री मान्छन् ।

कन्याबाट येशूको जन्मको विरुद्धमा प्रायः अगाडि सारिएको तर्क हो— यो जीवशास्त्रीय दृष्टिकोणबाट असम्भव छ । त्यस बेलाका मानिसहरूको अज्ञानताको कारणले मात्र यसलाई स्वीकार गरिएको थियो भनी यसका आलोचकहरू दाबी गर्छन् । आश्चर्यकर्महरू असम्भव छन् भन्ने अवधारणा प्रायः प्रकृतिवादी दृष्टिकोणबाट आउँछ । दृढ प्रकृतिवादले अलौकिकताको कुनै पनि सङ्केतलाई पूर्णतः खारेज गर्छ । तिनीहरूको बुझाइमा केवल शून्यता र परमाणु अस्तित्वमा छन् । प्रकृतिवादीहरू सही छन् भने कन्याबाटको जन्मलगायत कुनै पनि आश्चर्यकर्म असम्भव हुन्छ । तर के तिनीहरू सही छन् त ? प्रकृतिवादको खण्डन गर्नु यस पङ्क्तिकारको आशय नभएकोले यहाँ यति मात्र भन्नु पर्याप्त हुन्छ कि वैयक्तिक सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्नाका लागि अधिक साक्षीहरू उपलब्ध छन् ।

बाइबलीय दृष्टिकोणअनुसार परमेश्वर सर्वज्ञानी, सर्वव्यापी र सर्वशक्तिमान् मात्र हुनुहुन्न तर सारा विश्वको सार्वभौम सृष्टिकर्ता पनि हुनुहुन्छ । उहाँले आफ्नो सृष्टिमाथि हस्तक्षेप गर्न सक्नुहुन्छ । सृष्टिमाथि उहाँको हस्तक्षेप नै आश्चर्यकर्म हो । कन्याबाट येशूको जन्म एउटा आश्चर्यकर्म थियो । सारा विश्वलाई शून्यताबाट सृष्टि गर्न सक्नुहुने परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ भने उहाँको लागि एउटा कन्याको कोखमा येशूको गर्भधारण गराउनु मामुली कुरो होइन र ?

Facebook Comments

Powered by Youth Circle