येशू किन दुई हजार वर्षअगि आउनुभयो ?

येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो करिब ४ ख्रिस्टपूर्वमा जन्मनुभएको थियो । साढे तेत्तिस वर्ष यस धरतीमा रहनुभई उहाँ यस ग्रहबाट बिदा हुनुभयो । नयाँ करारका चारवटा सुसमाचार उहाँको बारेमा बताउने सर्वाधिक विश्वसनीय र अगिल्ला जीवनीहरू हुन् । येशू किन करिब दुई हजार वर्षअगि आउनुभयो ? किन त्योभन्दा अगाडि आउनुभएन ? किन त्योभन्दा पछाडि आउनुभएन ?

पावलद्वारा गलातीहरूलाई लिखित पत्रअनुसार येशू समयको पूर्णतामा जन्मनुभयो, “तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो” (गलाती ४:४) । अर्को पत्रमा व्यक्त उही लेखकको भनाइअनुसार येशू ठिक समयमा मर्नुभयो, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो” (रोमी ५:६) । येशू “समयको पूर्णतामा” मात्र जन्मनुभएन तर “ठिक समयमा” पनि मर्नुभयो ।

हामी सीमित मानव-जाति भएकाले तोकिएको समयमा काम फत्ते गर्न हामी चुक्छौँ । हामी कहिले ढिलो हुन्छौँ त कहिले छिटो । तर परमेश्वरले कहिल्यै ढिलो गर्नुहुन्न न त छिटो । उहाँले सधैँ ठिक समयमा काम गर्नुहुन्छ । उहाँले हामीले चाहेका समयमा नगर्नुहोला तर उहाँको आफ्नो समयमा भने अवश्य गर्नुहुन्छ । येशूलाई उहाँले ठिक समयमा यस पृथ्वीमा पठाउनुभयो । विभिन्न दृष्टिकोणबाट येशूको जन्म, मृत्यु र पुनरुत्थान ठिक समयमा भएको थियो ।

(१) भविष्यवाणीय दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो ।

पुरानो करारमा मसीहको जन्मको प्रकृति (यशैया ७:१४) र स्थान (मीका ५:२) को विषयमा मात्र भविष्यवाणी गरिएको थिएन तर उहाँको आगमनको समयको विषयमा पनि भविष्यवाणी गरिएको थियो (दानिएल ९:२४-२७) । मसीह अर्थात् येशू ख्रीष्ट भविष्यवाणीअनुसार पिताले तोक्नुभएको समयमा आउनुभयो । उहाँको आगमनको समय संयोग थिएन तर पुरानो करारको भविष्यवाणीमुताबिक थियो ।

(२) धार्मिक दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो ।  

येशूको आगमनको समयमा मानिसहरूले विविध धर्मसाथै आस्थालाई अङ्गाल्थे । कोही दर्शनशास्‍त्रको पछि लागेका थिए भने कोही गोप्य धर्मको । कसैले सम्राट्लाई पुज्थे त कसैले अन्य देवी-देवतालाई । पुराना धर्महरूले मानिसहरूलाई सन्तुष्टि दिन सकेको थिएन । त्यसैले तिनीहरू नयाँ धर्म वा आस्थाको खोजीमा थिए । येशूको सुसमाचारले तिनीहरूको यो आवश्यकता पूरा गरिदियो ।

(३) सांस्कृतिक दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो ।

३५६ ख्रिस्टपूर्वमा जन्मेका अलेक्जेन्डर महान् विश्‍व विजेता थिए । बिस वर्षकै उमेरमा सिंहासनमा बसेका तिनले आफ्नो अधिकांश शासनकाल युद्धमा बिताए । एसियादेखि उत्तर-पूर्वी अफ्रिकासम्म युद्ध लड्दै आएका तिनले ३२ वर्ष नपुग्दै प्राचीन संसारको एउटा विशालतम साम्राज्य खडा गरे । तिनी युद्धमा पराजित हुँदैनथ्ये र तिनलाई संसारकै एक सर्वाधिक सैनिक कमान्डरको रूपमा हेरिन्छ । १३ वर्षको छोटो अवधिमा तिनले प्राचीन संसारका अधिकांश ज्ञात भूमिहरूमाथि विजय हासिल गरेका थिए ।

अलेक्ज्यान्डर महान्‌को प्रभावको नतिजास्वरूप संस्कृति, दर्शनशास्त्र, सङ्घ-संस्था, कला, नाटक, साहित्य, वास्तुकला, विचारसाथै भाषामा संसार ग्रिकमय बन्यो । ग्रिक भाषा यति व्याप्त थियो कि जनसाधारणहरू पनि यस भाषासित निकै परिचित थिए । ग्रिक सम्पर्कको भाषा बनेको थियो । बाबेलको धरहराको समयदेखि इतिहासमा पहिलो पटक संसार एउटै भाषाद्वारा एकीकृत भएको थियो । संसारको एउटा कुनादेखि अर्को कुनासम्म एउटै भाषामा आफ्नो विचार व्यक्ति गर्न सकिन्थ्यो । येशूका अनुयायीहरूले सुसमाचार प्रचारको लागि अर्को भाषा सिक्नुपरेन ।

(४) राजनीतिक दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो ।

इटालीमा रोम नामले चिनिने सहर थियो । ख्रीष्टको आगमनसम्ममा रोमीहरूले आफ्नो वरिपरिको भूभागमा कब्जा जमाइसकेका थिए । तिनीहरूले पूरै रोमी साम्राज्यलाई जोड्ने बाटाहरू बनाए; खुला अपराधिक गतिविधिहरूलाई दबाए; जरिवाना प्रणालीको निर्माण गरे अनि विश्वव्यापी रोमी शान्तिको स्थापना गरे । साम्राज्यमा शान्ति छाएको थियो । मानिसहरू एक ठाउँदेखि अर्को ठाउँसम्म निर्धक्कसँग यात्र गर्न सक्थे । यस्तो सुरक्षित अवस्थामा सुसमाचार द्रुतगतिमा फैलन सक्थ्यो ।

येशूको आगमनमा अगस्टस रोमी सम्राट् थिए । तिनले जनगणनाको लागि उर्दी निकाल्दा वास्तवमा तिनले नजानिदो तरिकाले परमेश्वरको इच्छा पूरा गर्दै थिए । सम्राट्को उर्दीको नतिजास्वरूप गर्भवती मरियमले आफ्ना पति योसेफसँगै बेथलेहेमसम्मको ऐतिहासिक यात्रा गरिन् । उनले बेथलेहेममा बालकलाई जन्म दिँदा मीकाद्वारा बोलिएको सात सय वर्ष पुरानो भविष्यवाणी (मीका ५:२) पूरा भएको थियो ।

यसरी येशूको पहिलो आगमनको समय ठिक थियो । उहाँ ढिलो पनि आउनुभएन, छिटो पनि आउनुभएन । भविष्यवाणीय, धार्मिक, सांस्कृतिकसाथै राजनीतिक दृष्टिकोणबाट संसारका मुक्तिदाता येशू ख्रीष्ट ठिक समयमा आउनुभयो ।

Facebook Comments

Powered by Youth Circle