कन्याबाट येशूको जन्मको लागि मण्डली पिताहरूको साक्षी

बाइबलमा प्रस्ट रूपमा सिकाइएको कन्याबाट येशूको जन्मसम्बन्धी सिद्धान्तलाई आदि मण्डलीका पिताहरूले पनि प्रस्ट रूपमा सिकाए । मण्डलीका पिताहरू प्राचीन समयका प्रभावशाली ख्रीष्टियान ईश्वरशास्त्रीसाथै लेखकहरू थिए । येशूको शिक्षालाई उहाँका चेलाहरूले फैलाए भने उहाँका चेलाहरूको शिक्षालाई मण्डलीका पिताहरूले । यस आलेखमा तीन जना मण्डलीका पिताको साक्षीलाई उल्लेख गरिएको छ ।

(१) इग्नेसिएसको साक्षी (करिब ख्रिस्टाब्द ३५-१०८)    

इग्नेसिएस आदि ख्रीष्टियान मण्डलीका लेखकसाथै एन्टिओखियाका बिशप थिए । स्मरण रहोस्, येशूका अनुयायीहरूलाई पहिलो पटक एन्टिओखियामा नै “ख्रीष्टियान” भनिएको थियो (प्रेरित ११:२६) । इग्नेसिएसले नै पहिलो पटक “क्रिस्चियानिटी” (ख्रिस्टियमत) र “क्याथोलिक” (विश्वव्यापी) भन्ने शब्दहरूको प्रयोग गरेका थिए । करिब ख्रिस्टाब्द ६९ मा तिनी एन्टिओखिया मण्डलीका तृतीय बिशप बने जुन पदमा रहेर तिनले ४० वर्षसम्म सेवा गरे ।[i]

ख्रिस्टाब्द ११० मा इग्नेसियसले लेखे, “हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो ।”[ii] स्मरण रहोस्, इग्नेसियस येशूका चेला प्रेरित यूहन्नाका विद्यार्थी थिए । निस्सन्देह, इग्नेसियसले यो जानकारी आफ्ना गुरुबाट पाएका थिए ।

(२) अरिस्तिदेसको साक्षी (ख्रिस्टाब्द दोस्रो शताब्दी)  

अरिस्तिदेस दोस्रो शताब्दीका ग्रिक लेखक थिए जो मूलतः अपोलोजी अप अरिस्तिदेस नामक आफ्नो पुस्तकको लागि परिचित छन् । तिनी एथेन्समा बस्थे ।

लेखक अरिस्तिदेसले ख्रिस्टाब्द १२५ मा कन्याबाट येशूको जन्मबारे यसरी लेखे, “उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । … शरीरअनुसार उहाँ हिब्रू कन्या मरियमबाट जन्मनुभयो ।”[iii]

(३) जस्टिन मार्टरको साक्षी (ख्रिस्टाब्द १००-१६५)

जस्टिन मार्टर दोस्रो शताब्दीका सर्वाधिक महत्त्वपूर्ण रक्षाशास्त्री (अपोलोजिस्ट) थिए । तिनको जन्म प्यालेस्टाइनको सामरियामा भएको थियो, अन्यजाति परिवारमा । बाल्यकालमा राम्रै शिक्षा हासिल गरेका जस्टिन दार्शनिक प्लेटोको दर्शनशास्त्रबाट प्रभावित थिए । तिनी एफिससमा छँदा एक जना प्रौढ ख्रीष्टियान व्यक्तिबाट निकै प्रभावित भए जसलाई तिनले समद्रीतटमा संयोगवशः भेटेका थिए । पुरानो करारका यहूदी अगमवक्ताहरूले मसीहको बारेमा बताएका भविष्यवाणीहरू येशूको जीवनमा पूरा भए भनी ती वृद्धले बताउँदा जस्टिन छक्क परे । फलतः ख्रिस्टाब्द १३२ मा तिनी ख्रीष्टियान बने ।

प्रसिद्ध प्राचीन रक्षाशास्त्री जस्टिन मार्टरले येशूको आश्चर्यपूर्ण जन्मको अवधारणाबारे १५० मा प्रस्ट रूपमा व्यक्त गरे, “पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणाम स्वरूप जन्मनुभएन । … परमेश्वरको शक्ति कन्यामाथि ओर्ली उनीमाथि छाया पारियो अनि उनी कन्या छँदै गर्भवती भइन् । … किनभने कन्या भए तापनि परमेश्वरको शक्तिद्वारा उनी गर्भवती भइन् । … परमेश्वरको इच्छाअनुसार उहाँका पुत्र येशू ख्रीष्ट कन्या मरियमबाट जन्मनुभएको छ ।”[iv]

 

सन्दर्भ स्रोतहरूः

[i]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ३१० ।

[ii] Ignatius, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 303.

[iii] Aristides, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 304.

[iv] Justin Martyr, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 304.

 

Facebook Comments

Powered by Youth Circle