जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ

“आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी” (लूका १:३) गरेका लेखक लूकाले आफ्नो विवरणमा प्रस्तुत गरेका छन्:

छैटौँ महीनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो । तिनी एउटी कन्ये–केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो । त्यस कन्येको नाउँ मरियम थियो । स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा–पात्र, तिमीलाई अभिवादन ! परमप्रभु तिमीसँग हुनुहुन्छ ।” तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन् । स्वर्गदूतले तिनलाई भने, ‘नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ । अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन ।” मरियमले स्‍वर्गदूतलाई भनिन्‌, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ ।” स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्‌, र जो बाँझी कहलाइएकी थिइन्‌, तिनी अहिले छैटौँ महिनामा छिन्‌ । किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन ।” अनि मरियमले भनिन्‌, “हेर्नुहोस्‌, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌ ।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए (लूका १:२६–३८) ।

परमेश्वरले गब्रिएल स्वर्गदूतलाई मरियमकहाँ पठाउनुभयो । स्वर्गदूतले येशूको जन्मको सन्देश लिएर गएका थिए । मरियम गालीलको नासरतमा बस्थिन् । अन्य ठाउँका यहूदीहरूले नासरतका यहूदीहरूलाई तुच्छ दृष्टिकोणले हेर्ने भए तापनि स्वर्गदूत यही गाउँमा आए । स्वर्गदूतको आगमन हुँदा मरियमको मगनी योसेफसँग भएको थियो । मरियम कन्या नै थिइन् ।

स्वर्गदूतले मरियमलाई भने, “हे कृपा–पात्र, तिमीलाई अभिवादन ! परमप्रभु तिमीसँग हुनुहुन्छ” (पद २८) । यो उनले परमेश्वरबाट विशेष अनुग्रह प्राप्त गरेकी थिइन् भन्ने घोषणा थियो । उनले मुक्तिदाताकी आमा हुने अनुमति पाउँदै थिइन् । उनमा कुनै विशेष गुण भएकोले परमेश्वरले उनलाई छान्नुभएको थिएन । स्वर्गदूतको अभिवादनबाट मरियम विचलित भइन्, तर स्वर्गदूतले सान्त्वनाको वचन बोले । किनकि तिनी दण्डको सन्देश नभई आशिष्‌को सन्देश लिएर आएका थिए । उनी कन्या छँदा नै उनले बालक जन्माउनेथिइन् भनी गब्रिएलले बताए । पदहरू ३२-३३ मा बालकबारे पाँचवटा कुरा बताइएको छ ।

  • उहाँ महान्‌ हुनुहुनेछ
  • परमप्रधानका पुत्र कहलाइनुहुनेछ
  • परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।
  • उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ
  • उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन ।  

मरियमले जिज्ञासा व्यक्त गरिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ” (पद ३४) । यो अविश्वासको अभिव्यक्ति नभई व्याख्याको अनुरोध थियो । स्वर्गदूतले जकरियालाई जस्तै मरियमलाई हप्काएनन् । एकातिर उनी अविवाहित र कन्या थिइन् भने अर्कोतिर कुनै पुरुषसित उनको सहवास भएको थिएन । यहाँ ‘कन्या’ को लागि प्रयोग गरिएको ग्रिक शब्द पार्थेनोस हो । यसले कुनै पुरुषसित कहिल्यै सहवास नभएकी स्त्रीलाई जनाउँछ । तब स्वर्गदूतले प्रस्ट पारे, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ” (पद ३५) । पुरानो करारमा पवित्र वासस्थानमाथि छाया पारी परमेश्वरले आफ्नो उपस्थिति जनाउनुहुन्थ्यो (प्रस्थान ४०:३५) । ‘छाया पार्नु’ को लागि यहाँ पनि उही ग्रिक शब्द एपिस्कियाजोको प्रयोग चाखलाग्दो छ ।

पवित्र आत्माको शक्तिद्वारा मरियमले गर्भधारण गर्नेथिइन् र उहाँले मरियमद्वारा पवित्र सन्तान जन्माउनेथिइन् । परमेश्वरका पुत्रको ईश्वरत्व र पूर्वअस्तित्वको लागि आश्चर्यपूर्ण गर्भधारणको खाँचो थियो । तपाईं र मेरोजस्तै येशू ख्रीष्टको कुनै प्राकृतिक पिता हुनेथिएन । प्राकृतिक पिताले आदमबाट पाएको स्वभाव सार्छ । आदमबाट यस्तो स्वभाव प्राप्त गर्ने कुनै पनि मानिस पतित मानव-जातिको लागि मुक्तिदाता बन्न सक्दैनथ्यो । ख्रीष्ट मुक्तिदाता बन्नुपर्ने भएकोले उहाँ निष्पाप हुनुपर्थ्यो । उहाँ निष्पाप बन्न सक्ने एउटै तरिका भनेको प्राकृतिक नियमबाट नभई निष्पाप परमेश्वरको शक्तिबाट अलौकिकि नियमद्वारा गर्भमा आउनुपर्थ्यो ।

“जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ” (पद ३५) । कन्याबाटको जन्मको आश्चर्यकर्मद्वारा अनन्त परमेश्वरका अनन्त पुत्रले साँचो र पूर्ण मानवता धारण गर्नुहुनेथियो जसमा उहाँले आफ्नो ईश्वरत्वको कुनै मात्रा पनि गुमाउनुहुनेथिएन । उहाँ मानवता र ईश्वरत्व धारण गर्नुभएका अद्वितीय व्यक्तित्व हुनुहुनेथियो ।

मरियमले भनिन्‌, “हेर्नुहोस्‌, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्” (पद ३८) । आफ्नो सरल विश्वासमा मरियमले आफैलाई परमप्रभुको सामु सुम्पिन् । मरियमले जस्तोसुकै निन्दा वा तिरस्कार सहनुपरे तापनि परमेश्वरको इच्छा पूरा गर्न उनी तत्पर रहिन् ।

 

Facebook Comments

Powered by Youth Circle