यशैया ७:१४ मा उल्लिखित ‘कन्या’ ले कसलाई जनाउँछ ?

यशैयाले भने, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (यशैया ७:१४) । यहूदाको इतिहासको विचलित घडीमा यशैयाद्वारा यो भविष्यवाणी आएको थियो । अगमवक्ताले ७३४ ख्रिस्टपूर्वमा यो भविष्यवाणी बोलेका थिए ।

आहाजले ७३५-७१५ ख्रिस्टपूर्वसम्म यहूदामा शासन गरे । तिनको शासनको आरम्भतिर अरामका राजा रसीन र इस्राएलका राजा पेकह मिलेर तिनको विरुद्धमा युद्ध छेडे । अश्शूरको विरुद्धमा लडाइँ गर्न आहाज अराम-इस्राएल गठबन्धनसित मिलुन् भनेर तिनी र तिनको राज्यको विरुद्धमा आक्रमण गरिएको थियो, तर तिनीहरू विजयी हुन सकेनन् । त्यस बेला अश्शूर शक्तिशाली हुँदै गइरहेको थियो जसले सबैलाई निमिट्ट्यान्न पार्ने धम्की दिँदै थियो ।

अराम-इस्राएल गठबन्धनबाट राजा आहाज त्रसित थिए । आहाज पहिले अराम र इस्राएलको हातबाट पराजित भइसकेका थिए । त्यस बेला एदोमीहरू र पलिश्तीहरूले पनि यहूदालाई धम्की दिँदै थियो । गठबन्धन शक्तिले आहाजलाई सत्ताच्यूत गरी तिनको साटो ताबेलका छोरालाई कठपुतली राजा बनाउन खोज्दै थियो । तसर्थ राजा आहाजले अश्शूरबाट सैनिक सहायता लिनेबारे सोच्दै थिए । तर राजाको यो विकल्पमा पनि समस्या थियो किनकि अश्शूर शक्तिशाली भए तापनि स्वार्थी थियो ।

यस्तै परिवेशमा यशैया अगमवक्ताले राजा आहाजलाई भेटी परमेश्वर तिनको पक्षमा हुनुहुनेथियो भनी निश्चयता दिलाए । ती राजाहरूको गठबन्धनदेखि डराउनुपर्दैनथ्यो किनकि ती दुई त केवल ‘धुवाँ उठ्ने अगुल्टा’ थिए भनी यशैयाले व्यक्त गरे । वास्तवमा यी दुवै राजा अर्थात् रसीन र पेकह दुई वर्षपछि ७३२ ख्रिस्टपूर्वमा मरे ।

यशैया अगमवक्ताले भनेका कुरो साँचो थियो र परमेश्वरले आहाजलाई अवश्य छुटकारा दिनुहुनेथियो भन्नाका लागि आहाजलाई प्रमाणस्वरूप कुनै चिन्ह माग्न अनुरोध गरिँदा तिनले इन्कार गरे । राजालाई हप्काएपछि अगमवक्ताले आफ्नो सन्देश जारी राखे, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, …” (यशैया ७:१४) ।

पस पदमा उल्लिखित ‘कन्या’ ले कसलाई उल्लेख गर्छ ? बाइबल विद्वान्‌हरूले तीनवटा दृष्टिकोण अगाडि सारेका छन् ।

(१) कन्याले कुनै अज्ञात स्त्रीलाई उल्लेख गर्छ ।

यस अवधारणाका समर्थकहरूअनुसार इतिहासको कुनै अज्ञात स्त्रीद्वारा यो भविष्यवाणी पूरा भयो । यो दृष्टिकोण साँचो हो भने मत्ती १:२२-२३ लाई कसरी व्याख्या गर्ने ? “अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌: ‘हेर, एउटा कन्‍याले गर्भधारण गर्नेछिन्‌, र त्‍यसले एउटा पुत्र जन्‍माउनेछिन्‌, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,’ जसको अर्थ हो, ‘परमेश्‍वर हामीहरूसँग’ ।” मत्तीका अनुसार कन्या मरियमले येशूलाई जन्म दिँदा यो भविष्यवाणी पूरा भयो ।

(२) कन्याले केवल मरियमलाई उल्लेख गर्छ ।

दोस्रो दृष्टिकोणअनुसार ‘कन्या’ ले केवल मरियमलाई उल्लेख गर्छ; यशैयाको समयको कुनै पनि स्त्रीसित यसको कुनै सरोकार छैन । निस्सन्देह उहाँ उल्लिखित कन्याले मरियमलाई उल्लेख गर्छ (मत्ती १:२३), तर के ‘कन्या’ ले मरियमलाई मात्र उल्लेख गर्छ त ? पक्कै पनि होइन । यो मरियमसित मात्र जोडिएको सन्दर्भ थियो भने आहाजलाई दिइएको चिन्हको अर्थ के त ? अराम-इस्राएल गठबन्धन चाँडै नै पराजित हुनेथियो भन्ने यशैयाको भनाइसित यो भविष्यवाणी कसरी सम्बन्धित हुन सक्छ ? कन्याबाट जन्मने बालकले ‘दही र मह’ खाने छ (यशैया ७:१५) भन्ने यशैयाको भविष्यवाणी प्रभु येशू ख्रीष्टसित कसरी सम्बन्धित छ ? “बालकले खराबलाई इन्कार गर्न र असललाई छान्न अघि देश उजाड पारिनेछ” (पद १६) भन्ने भविष्यवाणी येशूको जीवनमा कसरी सम्बन्धित हुन सक्छ ?

(३) कन्याले यशैयाको समयको कुनै स्त्री र मरियम दुवैलाई उल्लेख गर्छ ।  

तेस्रो अवधारणा पहिलो र दोस्रो अवधारणाको सम्मिश्रण हो । यो भविष्यवाणी मूलतः राजा आहाजतिर नै तेर्सिएको छ । अगमवक्ताले आफ्नो सन्देश दिँदा ती स्त्री कन्या नै थिइन् तर उनले विवाह गरी बालक जन्माउनेथिइन् । अराम-इस्राएल गठबन्धन तोडिने बेला बालक अझै सानै हुनेथियो । शताब्दीऔँपछि पवित्र आत्माको अगुवाइमा मत्तीले यस पदलाई उद्धृत गरी कन्या मरियमको जीवनमा लागु गरे ।

यसरी यशैया ७:१४ को भविष्यवाणी ऐतिहासिक रूपमा यहूदाका राजा आहाजको समयमा पूरा भयो भने पछि कन्या मरियम र उनका पुत्र प्रभु येशू ख्रीष्टको जीवनमा पूरा भयो ।

 

Facebook Comments

Powered by Youth Circle