उत्पत्ति ३:१५— मसीहसम्बन्धी पहिलो भविष्यवाणी

आदम र हव्वा पापमा फसेपछि परमेश्वरले सर्पलाई भन्नुभयो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्” (उत्पत्ति ३:१५) ।

यो मसीहको बारेमा भएको पहिलो भविष्यवाणी हो । यस खण्डलाई प्रोटइभाङ्गेलियोन भनेर पनि चिनिन्छ । यो दुईवटा ग्रिक शब्द मिलेर बनेको छः प्रोटोस र इभाङ्गेलियोन । अगिल्लोको अर्थ ‘पहिलो’ हुन्छ भने पछिल्लोको अर्थ ‘सुसमाचार’ हुन्छ । तसर्थ यो खण्ड पूरै बाइबलमा उद्धारको विषयमा भएको पहिलो उल्लेख हो ।[i]

उत्पत्ति ३ अध्याय मानिसको पतनबारे वर्णित खण्ड हो । यस खण्डको प्रकृतिको कारणले गर्दा यसले सर्पको शिर कुच्च्याउने भन्दा बेसी कुरा व्यक्त गरेको छ । यहाँ मसीहलाई ‘स्त्रीको सन्तान’ भनिएको छ । यस पदमाथि टिप्पणी गर्दै जे. एस. हफम्यान भन्छन्, “यहाँ असन्दिग्ध रूपमा उद्धारकर्ताको भविष्यवाणी गरिएको छ । उद्धारकर्ताको स्पष्ट र क्षणिक पराजयलाई अङ्‌कित गर्दै कुर्कुच्चोको अस्थायी डसाइ पनि भविष्यवाणी गरिएको छ । तर उही समयमा सर्पको शिर कुच्च्याउने (जसको अर्थ हुन्छ घातक प्रहार) तथ्यमा उद्धारकर्ताको अन्तिम विजय पनि भविष्यवाणी गरिएको छ ।”[ii]

प्रतिष्ठित ईश्वरशास्त्री जोन एफ. वालभुर्डले आफ्नो पुस्तक जिजस क्राइस्ट आओर लर्डमा व्यक्त गरेका छन्, “स्त्रीको सन्तानबारे भएको सन्दर्भ परमेश्वरका पुत्रको जन्मबारे भएको भविष्यवाणी हो । लूकाको वंशावलीले भन्न खोजेको कुरो यही नै हो (तुलना गर्नुहोस् गलाती ४:४) । आउनुहुनेवाला मसीह स्त्रीको सन्तान अर्थात् मानिस हुनुपर्थ्यो । तथापि उहाँलाई पुरुषको सन्तान नभनिएको सत्यतामा यहाँ हामी कन्यबाटको जन्मको भविष्यवाणी पाउँछौँ (यशैया ७:१४; मत्ती १:२१, २२) ।”[iii]

मसीहसम्बन्धी यस पहिलो भविष्यवाणीमा मूलतः तीनवटा कुराबारे भविष्यवाणी गरिएको छः (क) मसीह स्त्रीको सन्तान हुनुहुनेथियो (ख) उहाँलाई अस्थायी रूपमा बाधा पुर्‍याइनेथियो र (ग) अन्तमा उहाँ विजयी हुनुहुनेथियो । यस खण्डले मसीहको जीवनका तीनवटा महत्त्वपूर्ण पक्षबारे भविष्यवाणी गरेको छः उहाँको जन्म, मृत्यु र पुनरुत्थान ।

क्रूसको मृत्युद्वारा शैतानले येशूलाई बाधा पुर्‍याएको महसुस गरे तापनि पुनरुत्थानद्वारा उहाँ स्थायी विजेता बन्नुभयो । यसरी युगौँ पहिले गरिएको यो भविष्यवाणी येशूको जन्म, मृत्यु र पुनरुत्थानमा पूरा भयो ।

 

सन्दर्भ स्रोतहरूः

[i]    https://en.wikipedia.org/wiki/Protevangelium Accessed on 8 November 2019

[ii]    J.A. Huffman, The Messianic Hope in Both Testaments (Butler, IN: Higley Press, 1956), p.38.

[iii]   Quoted by Josh McDowell, The New Evidence That Demands a Verdict (Nashville: Thomas Nelson Publishers, 1999), p.288.

 

Facebook Comments

Powered by Youth Circle