पर्यटकहरूलाई ठग्ने उद्देश्यले अङ्ग्रेजी सिक्न चाहेका जँड्याहा ट्याक्सी ड्राइभर पास्टर बने

एसिया महादेशको दक्षिण पूर्वमा अवस्थित राष्ट्र फिलिपिन्सको राजधानी सहर मनिलामा हर्बी नाउँ गरेका मानिस बस्थे । उपद्रव गर्ने वातावरणमा हुर्केका तिनले ड्रग्सको कारोबार गर्थे । २१ वर्षकै उमेरमा तिनी अपराध गर्ने गिरोहमा मिल्न गए । तर तिनको गिरोह प्रहरीको निसानामा परेपछि तिनी ट्याक्सी ड्राइभर बने । अन्य चालकहरूले जस्तै तिनले विदेशीहरूलाई तोकिएकोभन्दा बढी पैसा लिने गर्थे ।

एक दिन हर्बीका मित्रले तिनलाई नयाँ करारको बाइबल देखाए । तिनले मित्रबाट उक्त बाइबल सापट लिए तर त्यो बाइबल अङ्ग्रेजी भाषामा लेखिएको रहेछ । संसारका अन्य धेरै मानिसहरूले जस्तै हर्बीले पनि अङ्ग्रेजी भाषाको महत्त्व राम्ररी बुझेका थिए । त्यसैले तिनी अङ्ग्रेजी सिक्न चाहन्थे । अङ्ग्रेजी सिकेर तिनी विदेशी पर्यटकहरूलाई सजिलैसित ठग्न चाहन्थे । तिनले बाइबल पढ्न थाले जसले तिनलाई अनपेक्षित नतिजामा पुर्‍यायो । तिनले अङ्ग्रेजी मात्र सिकेनन्, तर तिनी हराएका पापी रहेछन् भनेर पनि तिनले थाहा पाए । एक दिन तिनी एकलै समुद्री तटमा हिँडिरहँदा तिनले परमेश्वरलाई पुकारे, “हे प्रभु, मलाई बचाउनुहोस् र मेरो जाँड खाने आदतबाट मलाई छुटकारा दिनुहोस् ।” परमेश्वरले आफ्नो महान् कृपामा तिनको अनुरोधलाई सुन्नुभयो । एक जना पास्टरले तिनलाई परामर्श दिए र अन्त्यमा तिनी ख्रीष्टियान बने ।

कथा यहीँ टुङ्गिदैन । पछि हर्बी बाइबल कलेजमा भर्ना भए, थप बाइबल अध्ययनको लागि । परमेश्वरले तिनलाई पास्टर हुने बोलावट दिनुभयो र तिनी पास्टर बने । त्यसका अतिरिक्त तिनी फिलिपिन्समा बाइबल लिगको सहनिर्देशकसमेत बने ।

Facebook Comments

Powered by Youth Circle