“यो विशाल विश्व कसरी आफै बन्न सक्छ ?”— वैज्ञानिक केप्लर

जोहानन केप्लर (ख्रिस्टाब्द १५७१-१६३०) जर्मनीका प्रतिभावान् गणितज्ञसाथै खगोलविद् थिए । विश्वचर्चित वैज्ञानिक सर आइज्याक न्युटनको जन्मअगि नै तिनीद्वारा प्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका थिए केप्लर । तिनी एक भक्त ख्रीष्टियान थिए । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरले आफ्नो कृति विश्वको रहस्यको निष्कर्षमा सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन् ।

केप्लरका एक जना मित्र थिए जसले परमेश्वरको अस्तित्वलाई इन्कार गर्थ्यो । उसको बुझाइमा यो सारा विश्व आफसे आफ उत्पन्न भएको थियो । उसको दृष्टिकोण मुनासिब थिएन भनी केप्लरलाई थाहा थियो तर उसलाई कसरी बुझाउने होला भनेर केप्लर चिन्तित थिए । यो सारा विश्वको पछाडि एक जना महान् रचनाकारको हात छ भनेर उसलाई विश्वस्त पार्नका लागि केप्लरले एउटा संरचनाको निर्माण गरे जसमा सौर्य मण्डलको अवधारणालाई देखाइएको थियो । ग्रहहरूले सूर्यको वरिपरि परिक्रमा गर्दै थिए ।

जब केप्लरको मित्र बेधशालामा आएर उक्त सुन्दर दृश्यलाई देख्यो तब खुसी हुँदै ऊ चिच्च्यायो “कति सुन्दर! कसले बनायो यसलाई ?” वैज्ञानिक केप्लरले ठट्टा गर्दै जवाफ दिए, “कसैले पनि बनाएको होइन । यो आफसे आफ यसरी बनेको हो ।” उसको साथीले केप्लरलाई हेर्दै भन्यो, “वाहियात कुरो! भन्नुहोस् न कसले बनाएको ?” त्यसपछि केप्लरले तर्कसङ्गत जवाफ दिए, “मित्र, तपाईं भन्दै हुनुहुन्छ कि यो सामान्य संरचना आफै बन्दैन । विशाल विश्वको यो त सानो नमुना मात्र हो । यो सानो संरचना त आफै बन्दैन भने यो विशाल विश्व कसरी आफै बन्न सक्छ ?”

Facebook Comments

Powered by Youth Circle