हिएन फाम नाउँ गरेका एक जना जवान मानिसले एसियाको दक्षिण-पूर्वमा पर्ने मुलुक भियतनाममा अमेरिकी सैनिकहरूको लागि अनुवादको काम गर्थे । भियतनामको पतन भएलगत्तै फामलाई गिरफ्तार गरी झ्यालखानामा हालियो । तिनले अमेरिकीहरूलाई सहायता गरेका थिए भनी तिनलाई आरोप लागेको थियो ।
झ्यालखानाका हाकिमहरूले फामलाई प्रजातन्त्रको विरुद्धमा सिकाउन खोज्थे । तिनलाई दिनदिनै मार्क्स र लेनिनका विचारहरू पढ्न दिइन्थ्यो । ती विचारहरू तिनको मस्तिष्कमा बिस्तारै टुसाको रूपमा पलाउन थाले ।
फामले सोच्न लागे, “सायद मलाई झुट बोलिएको छ । सायद परमेश्वर अस्तित्वमा हुनुहुन्न । सायद पश्चिमी जगत्ले मलाई छल गरेको छ ।” भोलिपल्ट उठ्दा तिनले प्रार्थना नगर्ने र आफ्नो विश्वासको बारेमा नसोच्ने निधो गरे ।
भोलिपल्ट बिहान फामलाई झ्यालखानाका शौचालयहरू सफा गर्ने जिम्मा दिइयो । सफा गर्ने क्रममा तिनले टोइलेट पेपरको एउटा बाकस भरिएर पेपरहरू यत्रतत्र छरिएको देखे जसमध्ये एउटा कागजको टुक्राले तिनको ध्यान खिँच्यो । तिनले हतारसँग त्यसलाई पक्रे अनि त्यसलाई सफा गरेर त्यसमा लेखिएका कुराहरूलाई बेलुका पढे, “हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ । किनकि म यो पक्का गरी जान्दछु कि ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन ।”
यो वचन पढेर फाम धुरुधुरु रोए । आफ्नो विश्वासलाई त्याग गर्नै खोजेका व्यक्तिलाई योभन्दा सान्दर्भिक खण्ड कुन हुन सक्छ र ? तिनले परमेश्वरमा क्षमा मागे । त्यस दिनदेखि उसो फामले विश्वासद्वारा जिउने र परमेश्वरका प्रतिज्ञाहरूमा भर पर्ने निर्णय लिएका छन् ।