ख्रिस्टाब्द १९३९ मा स्त्रीहरूका लागि राभेन्सब्रक बन्दी शिविर खडा गरियो । यो शिविर जर्मनीको राजधानी बर्लिनको ९० किलोमिटर उत्तरपट्टि राभेन्सब्रक नामक गाउँको नजिकै स्थापना गरिएको थियो । यहाँ ९०,००० भन्दा बेसी स्त्रीसाथै केटाकेटीले ज्यान गुमाएका थिए भनी विभिन्न स्रोतहरूले जनाएका छन् । यो एउटा यस्तो शिविर थियो जसलाई नाजीहरूले नरक बनाएका थिए । क्रुरताको कुनै सीमा थिएन । न्याय अपरिचित थियो । स्मरण रहोस्, यो दोस्रो विश्वयुद्धको कहानी हो ।
दोस्रो विश्वयुद्धको बेला सतावटमा परेका यहूदीहरूका मुक्तिदाताको रूपमा उदाएकी थिइन्, कोरी टेन बुम । उनी हल्यान्डका एक ख्रीष्टियान महिला थिइन् जसले आफ्ना पिता र परिवारका अन्य सदस्यहरूसित मिलेर कैयौँ यहूदीहरूको जीवन जोगाउन मदत पुर्याएकी थिइन् । तर उक्त कुरो थाहा पाएपछि नाजीहरूले बुम र उनको परिवारलाई पनि उही शिविरमा थुने । रिहा भएपछि बुमले द हाइडिङ्ग प्लेस नामक एउटा पुस्तक लेखिन् जसमा उनले आफ्नो कथालाई सार्वजनिक गरेकी छन् ।
अकल्पनीय दु:खकष्टको बिचमा पनि उक्त शिविरमा एउटा निकै शक्तिशाली प्रार्थना फेला पारियो । यो प्रार्थना मृत बच्चीको वस्त्रमा पाइएको थियो:
हे परमप्रभु, भलो गर्ने पुरुष र स्त्रीहरूलाई मात्र नसम्झनुहोस् तर कुभलो गर्नेहरूलाई पनि सम्झनुहोस् । तरै पनि तिनीहरूले हामीमाथि ल्याएका सबै दु:खकष्टलाई याद नगर्नुहोस् । बरु यो दु:खकष्ट, हाम्रो सङ्गति, एक अर्काप्रति हाम्रो बफादारी, हाम्रो विनम्रता, हाम्रो उत्साह, हाम्रो उदारता र यस सङ्कष्टबाट वृद्धि भएको हृदयको महान्ताको कारणले हामीले फलाएका फलहरूलाई याद गर्नुहोस् । हामीलाई सताउनेहरूलाई तपाईंले न्याय गर्नुहुँदा हामीले फलाएका यी सबै फल तिनीहरूका निम्ति क्षमा बनुन् ।
Reasons to Believe KamalAdhikari.com.np 


