कट्टरवादी हिन्दु परिवारमा जन्मेकी शताब्दीले नयाँ करार पढेपछि येशूलाई पाइन्

उनको नाउँ हो, शताब्दी बनेर्जी । उनी भारतको कलकत्तामा एउटा कट्टरवादी हिन्दु परिवारमा जन्मेकी थिइन् । सबै धर्मले उही गन्तव्यमा पुर्‍याउँछन् र सबैले विभिन्न नामद्वारा उही ईश्वरलाई पुजेका हुन्छन् भन्ने उनको परिवारको विश्वास रहेको थियो ।

शताब्दीले एउटा ख्याति प्राप्त हिन्दु स्कुलमा दस कक्षासम्म अध्ययन गरिन् । पछि थप अध्ययनको लागि उनलाई एउटा ख्रीष्टियान स्कुलमा स्थानान्तरण गरियो । त्यहीँ उनले बाइबलको नयाँ करार हात पारिन् । उनले पढ्न थालिन् । सुसमाचारहरूलाई पढेपछि उनले येशूलाई पनि एक जना हिन्दु गुरुजस्तै देखिन् । तर रोमीको पुस्तक पढ्न थालेपछि उनको हृदय परिवर्तन भयो । उनले आफूलाई मूर्तिपूजकको रूपमा देखिन् । उनको बुझाइमा उनी पापी थिइन् । २,००० वर्षअगि लेखिएको पुस्तकले आधुनिक समाजको चित्रण गरेको देख्दा उनी छक्क परिन् ।

धर्मी ठहरिन खोज्ने शताब्दीका सबै प्रयास व्यर्थ थिए भनी रोमीको पुस्तक पढ्दा उनले पत्ता लगाइन् । शिरदेखि पाउसम्म उनी पापको सागरमा डुबेकी रहिछन् भनी रोमी ३ ले उनलाई छर्लङ्ग पार्‍यो । पढ्दै जाँदा यी वचनहरूले उनको ध्यानाकर्षण गरे, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो । धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला । तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी ५:६-८) ।

यी पदहरूमा परमेश्वरले उनलाई गर्नुभएको प्रेमको गहिराइ अभिलिखित थियो । उनले गरेका सबै पापका निम्ति प्रभुले दु:ख भोग्नुभएको थियो र मर्नुभएको थियो भनी उनले बुझिन् । फलस्वरूप ख्रिस्टाब्द २००३ मा उनले येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनेर स्वीकार गरिन् ।

शताब्दीको आत्मिक यात्राको आरम्भ भयो । उनी बाइबल अध्ययनको लागि बेङ्गलोरमा गइन् । स्नातकोत्तर पुरा गरेपछि उनी भारतको उत्तरी क्षेत्रमा गइन्, मिसनरी बनेर ।

Facebook Comments

Powered by Youth Circle