आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । ख्रिस्टाब्द १९३४ मा अर्जेन्टिनामा जन्मेका लुइसलाई सुसमाचारीय प्रचारको क्षेत्रमा धेरैले बिल्ली ग्राहमका उत्तराधिकारीको रूपमा पनि हेर्छन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु येशू ख्रीष्टबाट निकै टाढा गएका थिए । तिनको आफ्नो पुस्तक The Secret Life of a Fool: One Man’s Raw Journey from Shame to Grace मा लेखकले आफ्नो कथालाई उदाङ्गो पारेका छन् । पिता लुइसद्वारा छोरो आन्द्रुलाई पठाइएको एउटा पत्रलाई पनि उक्त कृतिमा समावेश गरिएको छ जसको अंश यस प्रकार रहेको छ:
प्रिय आन्द्रु, …
आन्द्रु, तिमी परमेश्वरका जन हुन जन्म्यौ । तिम्रो जीवनमा परमेश्वरको योजना त्यही नै हो । त्यही नै परमेश्वरको उद्देश्य हो । … परमप्रभु परमेश्वरले तिमीलाई अनन्त प्रेमले प्रेम गर्नुहुन्छ । उहाँले चाल्नुभएको पहिलो कदम यही थियो कि उहाँ स्वैच्छिक रूपमा क्रुसमा जानुभयो । त्यस क्रुसमा उहाँ तिम्रो सट्टामा मर्नुभयो । उहाँले तिम्रो ठाउँ लिनुभयो; तिम्रो दण्ड बोक्नुभयो र तिम्रो दोषलाई सदाको लागि हटाइदिनुभयो । …
आन्द्रु, यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने, आन्द्रु तिम्रो उद्धार हुनेछ । किनकि आन्द्रु, तिमीले आफ्नो हृदयले विश्वास गर्छौ र तिमी निर्दोष ठहरिन्छौ, अनि तिमीले मुखले स्वीकार गर्छौ र उद्धार पाउँछौ । … किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।” …
आन्द्रु, तिमी मेरा छोरा भएकाले तिम्रो निम्ति मेरो प्रेम गहन छ । परमेश्वरले तिमीलाई सृष्टि गर्नुभएकोले मैले तिम्रो जीवनमा देखेको क्षमता उत्कृष्ट छ । तिमीले येशू ख्रीष्टलाई आफ्नो मालिक र प्रभुको रूपमा स्वीकार गरी उहाँप्रति आज्ञाकारी बन्यौ भने तिमीले दसौँ लाखको जीवनमा आशिष् ल्याउन सक्नेछौ; तिनीहरूलाई बद्लन सक्नेछौ; तिनीहरूको जीवनमा महान् खुसी र अनन्त जीवन ल्याउन सक्नेछौ ।
“मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।” मैले येशूको यस भनाइलाई तिम्रो उमेरमा गम्भीरतापूर्वक लिएँ । म यसलाई माया गर्दछु । संसारमा यो सबैभन्दा उत्तम जीवन हो । मेरा पुत्र, तिमीले आफ्ना सारा हृदय र प्राणले येशूलाई पछ्यायौ भने तिमी पनि आनन्दित हुनेछौ । यस विद्रोही संसारमा अरू के छ ? धेरै कुराहरू छैनन् ।
चाँडै नै भेटौँला ।
म तिमीलाई माया गर्दछु र तिम्रो लागि प्रार्थना गर्दछु,
पिता