सैयौँ मान्छेको हत्यारा अन्तत: येशूको सुसमाचारद्वारा परिवर्तित

तिनको नाउँ हो, चिफ तारिरी । तिनी दक्षिण अमेरिकाको पश्चिममा पर्ने पेरु नामक राष्ट्रका जङ्गली आदिवासी थिए । तिनी थिए मान्छेको शिकार गर्नेहरूका मुखिया । तिनी यति डरलाग्दा थिए कि तिनले अन्य दस जना मुखियालाई मारेर तिनीहरूका टाउका गेँडिदिएका थिए । तिनले ती टाउकाहरूको प्रयोग गरी आफ्नो कुटीको सामु भएका खम्बाहरूलाई सजाएका थिए । तिनले जङ्गलमा बस्ने अन्य कैयौँ मानिसलाई पनि मृत्युको मुखमा पुर्‍याइदिएका थिए । तिनी देखेर पेरुका सेना पनि त्रसित हुन्थे र तिनको इलाकामा जाने आँट गर्दैनथ्ये ।

तर लोरेट्टा एन्डरसन र डोरिक कोस नाउँ गरेका दुई जना बाइबल अनुवादकले तारिरीको क्षेत्रमा जाने आँट गरे । ती अनुवादकहरूले आफूसित कलम, सिसाकलम, बाइबलजस्ता सामग्रीबाहेक अन्य कुनै हातहतियार बोकेनन् । लाग्थ्यो, तिनीहरू मृत्युको मुखमा होमिँदै थिए । तर परमेश्वरको प्रबन्ध बुझिनसक्ने छ । ती डरलाग्दा मुखियाले अनुवादकहरूप्रति स्नेह प्रकट गरे । निश्चय नै, अनुवादकहरूको कुनै पनि गतिविधि तिनको निम्ति त्रासदीपूर्ण नभएकोले तिनले ती अनुवादकद्वयमाथि हमला नगरेको हुनुपर्छ । ती दुई अनुवादकले अनौठो र अज्ञात प्रेमलाई प्रदर्शन गरे जसले मुखियालाई उत्सुक तुल्यायो । तिनीहरूले मुखियाको भाषा सिके अनि परमेश्वरले संसारलाई गर्नुभएको महान् प्रेमको विषयमा बताए ।

अन्ततोगत्वा, ख्रीष्टको सुसमाचारको शक्तिले ती कठोर मुखियको हृदयलाई नरम बनायो अनि तिनले आफ्नो जीवन प्रभु येशूमा सुम्पे । तिनी ख्रीष्टमा आएपछि तिनले आफ्ना जातिका झण्डै दुई सय मानिसलाई प्रभु येशूमा डोर्‍याए । ख्रीष्टाब्द १९६४ मा अमेरिकाको न्युयोर्क सहरमा भएको विश्व मेलामा समुद्घाटन् गर्ने काम यी मुखियाले नै गरेका थिए ।

Facebook Comments

Powered by Youth Circle