७ जना नास्तिक जो प्रसिद्ध ख्रीष्टियान अगुवा बने

इतिहासमा मनग्गे नास्तिकहरू ख्रीष्टियान भएका छन् जसमध्ये यहाँ ७ जनाको चर्चा गरिएको छ ।

(१) रबी जकरियाअसफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ पढिन्, “म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ ।” ‘जीवित’ भन्ने शब्दले तिनको हृदयलाई छोयो । तिनले तत्काल आफ्नो जीवन येशूमा समर्पित गरे, “हे येशू, तपाईंले नै यो जीवन दिनुहुन्छ भने म यो चाहन्छु । मलाई यो अस्पतालको शय्याबाट कुशलसाथ बाहिर लैजानुहोस् । म प्रतिज्ञा गर्दछु कि सत्यताको खोजीमा म हर सम्भाव्य प्रयास गर्ने छु ।” येशूले तिनलाई अस्पतालबाहिर मात्र ल्याउनुभएन, तर तिनी त संसारभरि नै परिचित वक्तासाथै लेखक कहलाइएका छन् । नास्तिकबाट ख्रीष्टका अनुयायी बनेका तिनको नाउँ हो— रबी जकरिया ।

रबी अन्तर्राष्ट्रिय जगत्‌मा परिचित ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै रेडियो कार्यक्रम प्रस्तोता हुन् । ख्रिस्टाब्द १९८४ मा तिनले RZIM नामक संस्था स्थापना गरे । परिचित ख्रीष्टियान अगुवा चक कोलसनले रबीलाई “हाम्रो समयका महान् रक्षाशास्त्री” भनेका छन् । रक्षाशास्त्री भनेको ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने व्यक्ति हो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/295/)

(२) सी. एस. लेविसनास्तिकदेखि प्रभावशाली ख्रीष्टियान रक्षाशास्त्रीसम्म

सी. एस. लेविस ख्रीष्टियान परिवारमा जन्मेका थिए र तिनको परिवार चर्च अफ आएरल्यान्डमा जान्थ्यो । धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा तिनी नास्तिक बने । नास्तिकवादको पक्षमा तिनको तर्क थियो, “यदि परमेश्वरले यस संसारको रचना गर्नुभएको थियो भने हामीले देखेजस्तै यो संसार यति कमजोर र दोषी नहुनुपर्थ्यो । तिनी ख्रीष्टियान नहुन खोजेका थिए । आफ्नो धर्मान्तरणलाई तिनले जोसका साथ विरोध गरेका थिए तथापि तिनी सफल भएनन् । अन्ततः आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे अर्थात् तिनी ख्रीष्टियान बने । नास्तिकवाददेखि आस्तिकवाद र खास गरी ख्रीष्टियान विश्वाससम्म भएको आफ्नो यात्रालाई तिनले सर्प्राइज्ड बाई जोए (१९५५) नामक आफ्नो आत्मकथामा बयान गरेका छन् ।

सी. एस. लेविसको पूरा नाउँ हो— क्लाइभ स्ट्याप्लेस लेविस । सम्भवत: तिनी बिसौँ शताब्दीका सर्वश्रेष्ठ रक्षाशास्त्री थिए । रक्षाशास्त्रीले ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्दछ । परिवार र मित्रहरूका बिचमा “ज्याक” भनेर चिनिएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए । आख्यान र आख्यानेतर दुवै क्षेत्रमा कलम चलाएका लेविस ख्रीष्टियानसाथै गैरख्रीष्टियान जगत्‌का अनमोल स्रष्टा हुन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/299/)

(३) फ्रान्सिस कोलिन्स नास्तिक वैज्ञानिकबाट ख्रीष्टियान वैज्ञानिक

तिनी नास्तिक थिए । तिनको बुझाइमा धार्मिक विश्वास आधारभूत रूपमा अन्धविश्वाससिवाय केही थिएन । तर्कको लागि त्यहाँ कुनै ठाउँ थिएन, न त्यहाँ खोज हुन्थ्यो न त कुनै अनुसन्धान ।

मेडिकल क्षेत्रमा पढ्ने क्रममा अस्पतालका बिरामीहरू रोगसित जुधिरहेका देखेका थिए तिनले । त्यस्तो दर्दनाक अवस्थामा तिनीहरूले परमेश्वरलाई सराप्नुको साटो सान्त्वनाको लागि तिनीहरू आआफ्ना विश्वासमा भरोसा गरेका देखिन्थे । ती बौद्धिक व्यक्तिले तिनीहरूको आस्थालाई बुझ्न सकेनन् । तिनी बेचैन भए । तिनले धार्मिक विश्वासलाई इन्कार गर्दै आएका थिए, तर तिनले वास्तवमै केलाई इन्कार गरेका थिए त्यो भने तिनलाई थाहा थिएन । एउटा वैज्ञानिकले उपलब्ध तथ्याङ्कविना निर्णय लिँदैन । तर वैज्ञानिक भएर पनि तिनले त्यस्तो निर्णय लिएकोमा तिनी चिन्तित थिए ।

आफ्नो चिन्तालाई दुर गर्न तिनी एक जना ख्रीष्टियान अगुवाकहाँ गए । तिनी ती अगुवाको अफिसमा बसे र तिनले ती सेवकको विश्वासको निन्दा गरे र ईश्वर-निन्दक वचनहरू बोले । तथापि तिनले इमानदारीपूर्वक आफूले जान्न चाहेका कुरो जान्ने अपेक्षा पनि गरे । केही समय छलफलमा बितेपछि ती ख्रीष्टियान अगुवाले भने, “तपाईंको कथाले मलाई कुनै एक जना व्यक्तिको बारेमा याद दिलाउँछ जसले आफ्नो अनुभवको बारेमा लेखेका छन् । तिनको नाउँ हो— सी. एस. लेविस जो अक्सफोर्डका विद्वान् थिए ।”

ती ख्रीष्टियान अगुवाले सी. एस. लेविसद्वारा लिखित पुस्तक मेएर क्रिस्चियानिटीको एक प्रति पनि ती खोजकर्ताको हातमा थमाइदिए । परमेश्वर अस्तित्वमा हुनुहुन्छ र एउटा तर्कसङ्गत व्यक्तिको लागि विश्वास नगर्नभन्दा विश्वास गर्न सजिलो हुन्छ भन्ने लेविसका तर्कहरूले तिनलाई प्रभावित तुल्याए । तरै पनि तिनी विश्वास गर्न अनिच्छुक थिए; तिनी तयार थिएनन्; तिनले चाहेका थिएनन् ।

लेविसद्वारा लिखित त्यस पुस्तकलाई पढेपछि तिनी केही हप्तासम्म बेचैन भए । परमेश्वर अस्तित्वमा हुनुहुँदैन भन्ने अवधारणाबाट तिनी निकै खुसी थिए । विश्वास गर्ने या नगर्ने भन्ने सङ्घर्षमा तिनले झन्डै एक वर्ष बिताए ।

ठिक समय आयो अनि तिनले आफ्नो जीवन परमेश्वरमा सुम्पे । त्यो तिनको जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण थियो । तिनको नाउँ हो— फ्रान्सिस सेलर्स कोलिन्स । तिनले नास्तिकवाददेखि ख्रीष्टियान विश्वाससम्मको आत्मिक यात्रालाई आफ्नो कृति द ल्याङ्ग्वेज अफ गड: अ साइन्टिस्ट प्रिजेन्ट्स एभिडेन्स फर बिलिफमा उल्लेख गरेका छन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/307/)

(४) अलिस्टर म्याकग्रेथ नास्तिकबाट ख्रीष्टियान बनेका वैज्ञानिक

आएरल्यान्डमा जन्मेका अलिस्टर म्याकग्रेथ झगडालु नास्तिकको रूपमा हुर्केका थिए । तिनी नास्तिकवादमा लाग्नुका खास गरी दुईवटा कारण थिए । पहिलो, तिनले स्कुलमा विज्ञानसित सम्बन्धित विषयहरू लिएर पढेका थिए । दोस्रो, ख्रिस्टाब्द १९६० को दसकमा मार्क्सवादी बन्नु प्रचलित थियो ।

विज्ञानको इतिहास र दर्शनशास्त्रबारे पढेपछि तिनले महसुस गर्न थाले कि विज्ञान तिनले सोचेजस्तै सिधा थिएन । पछि तिनी रसायनशास्त्रको अध्ययनको लागि अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भए । क्रमश: तिनले पत्ता लगाए कि नास्तिकवाद पनि विश्वासमा नै अडेको रहेछ । अर्को भाषामा भन्नुपर्दा, नास्तिकवाद कसैले कुनै कुरोमाथि गर्ने विश्वास रहेछ; यो कुनै प्रमाणित कुरो रहेनछ । नास्तिकवादमाथि विश्वास गर्नलाई मजबुत आधार नभएको पनि तिनले आविष्कार गरे । तिनले व्यक्त गरेका छन्, “मैले महसुस गर्न थालेँ, कि नास्तिकवाद कम सन्तुष्टप्रद साक्षीको आधारमा आश्रित रहेछ । एक पटक दरिलो, निर्णायक र निश्चायक देखिएका तर्कहरू बढ्दो मात्रामा दोषयुक्त, काम-चलाउ र अनिश्चित देखिए ।”

म्याकग्रेथले ख्रीष्टियान ईश्वरशास्त्रलाई गहनतापूर्वक अनुसन्धान गरे । नास्तिकवादको तुलनामा ख्रिस्टियमत बेसी बौद्धिक अनुशासन भएको पाए तिनले । यी आविष्कारहरूले तिनलाई नास्तिकवादबाट ख्रीष्टियान विश्वासतर्फ रूपान्तरित हुन आकर्षित गर्‍यो र तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/310/)

(५) मार्भिन ओलास्की जसले आफूले खोजेका शान्ति बाइबलका पानाहरूमा फेला पारे

१२ जुन १९५० मा मार्भिन ओलास्कीको जन्म अमेरिकामा यहूदी परिवारमा भएको थियो । तर तिनी किशोर अवस्थामा नास्तिक बने । कलेजमा मार्क्सवादको शिष्य बनी ख्रिस्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे । त्यही समयतिर तिनले बिहे गरे; सम्बन्धविच्छेद गरे । तिनको आफ्नै स्वीकारमा तिनले दस आज्ञाको “हत्या नगर्नू” भन्ने आज्ञासिवाय हरेक आज्ञाको उल्लङ्घन गरे । अनैतिकताले भरिएको जीवन जिएका मार्भिन बिस्तारै मार्क्सवादबाट वाक्क हुन थाले । तिनलाई मार्क्सवादी अवधारणाहरू चरम लाग्न थाले । त्यहाँ जे पनि गर्न मिल्ने भो भन्ने तिनको बुझाइ थियो । तसर्थ, जीवनको उद्देश्य तिनले त्यस वादमा भेट्टाउन सकेनन् । अन्तत: तिनले कम्युनिस्ट पार्टीलाई त्यागिदिए ।

जीवनमा उद्देश्य खोजी हिँडेका मार्भिनले बाइबलको नयाँ करारका अतिरिक्त ख्रीष्टियानहरूले लेखेका अन्य मनग्गे पुस्तकहरू पढे । तिनले खोजेका शान्ति र उद्देश्य तिनले बाइबलका पानाहरूमा फेला पारे र ख्रिस्टाब्द १९७६ मा तिनी ख्रीष्टियान बने । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/322/)

(६) जोन सी. राइट दक्ष लेखक जसले अन्ततः परमेश्वरमा घुँडा टेके

२२ अक्टोबर १९६१ मा अमेरिकामा जन्मेका जोन सी. राइट विज्ञानसित सम्बन्धित आख्यान र काल्पनिक उपन्यासमा कलम चलाउने अमेरिकाका दक्ष लेखक हुन् । अरफान्स अफ खायोस, द गोल्डेन एजजस्ता प्रसिद्ध उपन्यासहरू प्रकाशित गरिसकेका राइट पहिले वकिलसाथै अखबारका सम्पादक थिए ।

एक दिन राइटले यसरी प्रार्थना गरे, “प्रिय परमेश्वर, मलाई थाहा छ कि तपाईं अस्तित्वमा हुनुहुन्न । ज्यामितिमा दक्षता हासिल गरेका व्यक्तिले विपरीत कोणहरू बराबर हुन्छन् भनी प्रमाणित गर्न सक्छ भनी म निश्चयतासाथ पुष्टि गर्न सक्छु । तथापि, एउटा विद्वान्‌को हैसियतले म भुलमा छु भन्ने काल्पनिक सम्भाव्यतालाई स्वीकार गर्न बाध्य छु म । तसर्थ, यदि म भुलमा छु भने कुनै न कुनै तरिकाले तपाईंले आफैलाई प्रकट गराउनुहोस् जसले तपाईंको अस्तित्वलाई प्रमाणित गरेको होस् । तपाईंले जवाफ दिनुभएन भने मैले तपाईंमाथि विश्वास गर्छु या गर्दिनँ भन्ने कुरामा कि तपाईंले वास्ता गर्नुहुन्न कि त मलाई विश्वस्त पार्ने साक्षी उपलब्ध गराउन तपाईंसित शक्ति नै छैन । पहिलोले तपाईं दयालु हुनुहुन्न भनी तर्क गर्दछ भने पछिल्लोले तपाईं सर्वशक्तिमान् हुनुहुन्न भनेर । जुनसुकै अवस्थामा पनि तपाईं आराधनाको लागि अयोग्य ठहरिनुहुन्छ । यदि तपाईं अस्तित्वमा हुनुहुन्न भने यो प्रार्थना हावामा फालिएका शब्दहरू मात्र हुन्छन् र मैले थोरै मर्यादाबाहेक केही गुमाउँदिनँ । यस विषयमा तपाईंको दयालु सहकार्यको लागि म पहिले नै धन्यवाद व्यक्त गर्दछु । जोन राइट ।”

यसको दुई दिनपश्चात् राइटलाई हृदयघात भयो, तर तिनी मरेनन् । पछि तिनी अस्पतालमा भर्ना भए । दिनहरू बित्दै गए र तिनले परमेश्वरको बारेमा धेरै दिनसम्म दर्शन देखे र तिनका प्रार्थनाहरूको पनि जवाफ पाए । फलत: ४२ वर्षको उमेरमा नास्तिकवादलाई त्यागी तिनी ख्रीष्टियान बने । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/325/)

(७) पिटर हिचेन्सबाइबल जलाएका तिनले बाइबलकै पक्षमा वकालत गर्न थाले

ख्रिस्टाब्द १९५१ मा पिटर हिचेन्सको जन्म युरोपेली टापुको मुलुक माल्टामा भएको थियो । तिनका दाजु क्रिस्टोफर हिचेन्स कुख्यात नास्तिक थिए । दाजुभाइ नै धार्मिक दृष्टिकोणबाट सचेत परिवारमा हुर्के तापनि दुवै जना प्रखर नास्तिक बने । आफूले घरमा सिकेका ख्रीष्टियान मूल्य-मान्यताहरूको विरुद्धमा उत्रे तिनीहरू । वास्तवमा पिटरको विद्रोह यति उत्कट थियो कि तिनी स्कुलमा पढ्दा तिनले आफ्नो बाइबललाई आगो लगाएर जलाइदिएका थिए ।

करिब ३० वर्षको उमेरमा आइपुग्दा पिटरले नास्तिकवाद र साम्यवादप्रति भएको आफ्नो दृष्टिकोणमाथि गम्भीर रूपमा प्रश्न तेर्साए । तिनले आफ्ना ख्रीष्टियान पूर्वजहरूलाई विचार गर्दा तिनले पाए कि तिनीहरू न असभ्य थिए, न अज्ञानी थिइ, बरु तिनीहरू त महान् सिप भएका मानिसहरू थिए जसको सृजनशीलतालाई विश्वासले बाधा दिएको थिएन ।

अन्ततः पिटरले येशू ख्रीष्टमाथि विश्वास गरे । नास्तिकवादबाट ख्रीष्टियान विश्वाससम्मको यात्रालाई तिनले आफ्नो पुस्तक द रेज अगेन्स्ट गडमा बयान गरेका छन् । अहिले तिनी ख्रीष्टियान विश्वासको बफादार रक्षक हुन् । ६७ वर्षका तिनी परिचित पत्रकारसाथै लेखक हुन् । तिनका आठवटा कृति प्रकाशित भइसकेका छन् । इङ्गल्यान्डको मण्डलीको सदस्य बनेका पिटरको बुझाइअनुसार युरोपमा ख्रिस्टियमतको ह्रास नै पहिलो विश्वयुद्धको कारण थियो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/328/)

 

 

Facebook Comments

Powered by Youth Circle