नैतिक नियमको तर्कको जरा रोमी २:१२–१५ मा गडेको छ, जहाँ बताइएको छ कि ह्रदयमा लेखिएको व्यवस्थाको कारणले कुनै मानिसलाई बहाना छैन । दार्शनिक इम्मानुएल कान्टको समयदेखि यस तर्कलाई विभिन्न ढाँचामा प्रस्तुत गरिएको छ । तर सी. एस. लेविसद्वारा लिखित चर्चित पुस्तक मेएर क्रिस्चियानिटीमा प्रस्तुत रूप नै सबैभन्दा प्रसिद्ध छ । यस तर्कको मुटुको संरचना यस्तो छः
क. नैतिक नियमको अस्तित्वले त्यस नियम दिने व्यक्तिलाई देखाउँछ ।
ख. मानव-जातिका बिचमा वस्तुगत नैतिक नियमहरू विद्यमान छन् ।
ग. तसर्थ, नैतिक नियम दिने व्यक्ति अस्तित्वमा हुनैपर्छ ।
उन्नाइसौँ शताब्दीको सङ्घारमा इम्मानुएल कान्टका लेखहरूपछि मात्र यस तर्कले प्रसिद्धी पायो । कान्ट आफैले परमेश्वरको अस्तित्वका लागि यस तर्कको प्रयोग नगरे तापनि पछिल्ला विचारकहरूले यस तर्कमा परमेश्वरको अस्तित्वको लागि तर्कसङ्गत आधार छ भनी यसलाई पुनः परिभाषित गरे ।
एक अर्थमा यस तर्कमा पनि कार्यकारणको नियम अन्तर्निहित छ । तर नैतिक नियमहरू प्राकृतिक नियमहरू भन्दा पृथक् छन् । के हो भनी नैतिक नियमले व्याख्या गर्दैनन्, तर के हुनुपर्छ भनी यसले व्याख्या गर्छ । हरेक मानिसको ह्रदयमा ठिक र बेठिकको एउटा निरपेक्ष मापदण्ड लेखिएको छ । मानिसहरूले यसलाई इन्कार गर्न सक्छन्; तिनीहरूले यसलाई दबाउन सक्लान्; तिनीहरूका क्रियाकलापहरू यसको विरुद्धमा होलान्; तर तिनीहरूले यसलाई जान्दछन् भनी तिनीहरूका प्रतिक्रियाहरूले प्रकट गर्छन् । के ठिक र के बेठिक हो भनी मानिसले निर्धारण गर्ने कुरो होइन, यो त तिनीहरूले पत्ता लगाउने कुरो मात्र हो । ठिक र बेठिकलाई मानिसले निर्धारण गर्ने हो भने बलत्कार, हत्या, नरसंहार वा अन्य कुनै पनि दुष्ट कुराहरू गलत छन् भनी हाम्रा भित्री ह्रदयबाट हामीलाई थाहा हुन्छ । यो नैतिक नियमको प्रदर्शनी हो । टेक्सास विश्वाविद्यालयका प्राध्यापक जे. बुजीसेवस्कीले लेखे, “हरेक व्यक्तिलाई निश्चित सिद्धान्तहरू थाहा छ । यस्तो कुनै ठाउँ छैन जहाँ हत्या सद्गुण हो र कृतज्ञता दुष्कर्म हो ।” यी उत्तरदायित्वहरू मानिसले कसरी जाने ? सजिलो उत्तर हो परमेश्वरले तिनीहरूमा यो हालिदिनुभएको छ ।
निष्कर्षमा, संसारमा नैतिकता अस्तित्वमा भएकोले यसको पछाडि नैतिकदाता हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।