सोद्देश्यमूलक अङ्ग्रेजी teleological को अनुवाद हो । यो ग्रिक शब्द telos बाट आउँछ जसको अर्थ हुन्छ, “उद्देश्य” वा “रचना” । विश्वको चारैतिर हेर्दा हामी पाउँछौं कि यो अविश्वसनीय रूपमा विचित्र, योजनाबद्ध, व्यवस्थित र सोद्देश्यमूलक छ । विश्व अस्तित्वमा मात्रै छैन, तर यो भद्रगोल नभई व्यवस्थित रचना भएकोले यसको पछाडि रचनाकार हुनैपर्छ भनी यसले तर्क गर्छ । यस तर्कलाई निम्नलिखित तरिकाले प्रस्तुत गर्न सकिन्छः
क. सबै रचनाको रचनाकार हुनुपर्छ ।
ख. विश्वमा अचम्मको रचना पाइन्छ ।
ग. तसर्थ, विश्वको पछाडि महान् रचनाकार हुनैपर्छ ।
कुनै पनि समयमा हामीले जटिल रचना देख्यौं भने हाम्रो अघिल्लो अनुभवले हामीलाई बताउँछ कि यसको पछाडि रचनाकार हुनैपर्छ । घडीले घडी बनाउनेलाई अङ्कित गर्छ; भवनले कालिगडलाई अङ्कित गर्छ; चित्रले चित्रकारलाई अङ्कित गर्छ; त्यसै गरी सन्देशले सन्देशवाहकलाई अङ्कित गर्छ । व्यवस्थित रचना कहिल्यै आफै उत्पन्न हुँदैन । हजारौँ बाँदर कम्प्युटरको अगाडि बसेर लाखौँ वर्षमा टाइप गरे तापनि तिनीहरूले कहिल्यै मुनामदनको उत्पादन गर्न सक्दैनन् । तर लक्ष्मी प्रसाद देवकोटाले सजिलैसित गरे । रचना जति जटिल हुन्छ त्यति नै रचनाकार बुद्धिमानी हुनुपर्छ ।
हाम्रो विश्व सुनिश्चित वैज्ञानिक नियमहरूद्वारा सञ्चालित छ । यी नियमहरूको कारणले गर्दा वैज्ञानिकहरूले चन्द्रमामा रकेट पठाउन सक्षम भएका छन् भने खगोलविद्हरूले चन्द्र ग्रहण र सूर्य ग्रहणको मिति अगावै तोक्न सफल भएका छन् । विश्वमा अचुकपना, जटिलता र सुव्यवस्था पाइन्छ भन्ने कुरा विवादमा छैन । विश्वमा रचनाको साक्षी सुस्पष्ट छ ।
सूर्य एउटा विशाल परमाणु यन्त्रजस्तो छ । मानव–जातिले सृष्टिदेखि उत्पादन गरेका भन्दा बढी शक्ति यसले एक सेकेन्डमा उत्पादन गर्छ । प्रत्येक सेकेन्डमा असी लाख टन पदार्थलाई यसले शक्तिमा रूपान्तरण गर्छ । सूर्यले विभिन्न प्रकारका विकिरण पनि फ्याँक्छ जसमध्ये केही जीवित प्राणीहरूक लागि घातक छन् । तर पृथ्वी सूर्यबाट ठिक दुरीमा रहेकोले जीव बाँच्नको लागि यसले ठिक ताप र विकिरण पाउँछ । सूर्य र पृथ्वीको बीचमा भएको ९ करोड ३० लाख माइलको दुरी प्राणी र बोटविरुवाको लागि ज्यादै उचित छ ।
पृथ्वी सूर्यबाट ठिक दुरीमा छ । चन्द्रमाबाट यसको दुरी ज्यादै ठिक छ । पृथ्वीको व्यास एकदमै ठिक छ । यसको ढल्काइ ठिक छ । समुद्रमा भएको यसको पानीको मात्रा ठिक छ । यसको तौल र पिण्ड ठिक छ । यी सबै ठिक–ठिक ठाउँमा रहेका कुराहरू “अकस्मात्” भएका हुन् भनी के एउटा विवेकशील व्यक्तिले पत्याउन सक्छ ?
तपाईं बाटोमा हिँडिरहनुहुँदा अकस्मात् एउटा हाते घडी फेला पार्नुभयो भने त्यो घडी त्यहाँ आइपुग्नुको कारण के होला भनी तपाईं सोच्नुहुन्छ — हुरी बतास वा वृष्टि ? वा कुनै प्राकृतिक शक्ति ? कुनै एउटा बुद्धिमान् व्यक्तिले यो बनाएको हुनुपर्छ र अभाग्यवशः कुनै एउटा यात्रीले त्यसलाई त्यहाँ खसाएको हुनुपर्छ भनी तपाईंले निष्कर्ष निकाल्नुहुन्न र ?
निष्कर्षमा, यो सारा विश्व व्यवस्थित रचना भएकोले यसको पछाडि रचनाकार हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।