म ललितपुर जिल्लामा बस्छु । ३ नम्बर प्रदेशमा भएका १३ ओटा जिल्लामध्ये एउटा जिल्लाको नाम हो, ललितपुर । हाम्रो प्रदेश पनि नेपालका ७ ओटामध्ये एउटा हो । एसियामा भएका ४८ ओटा देशमध्ये एउटा देशको नाउँ हो, नेपाल । एसिया पनि पृथ्वीमा भएका ७ ओटा महादेशमध्ये एक हो । पृथ्वी पनि हाम्रो सौर्यमन्डलका ८ ओटा ग्रहमध्ये एउटा हो । सौर्यमन्डल पनि हाम्रो आकाशगङ्गा तारापुञ्जको एउटा सानो हिस्सा हो । हाम्रो विश्वमा खरबौँ तारापुञ्जहरू छन् भनी अनुमान गरिएको छ । विश्व (अङ्ग्रेजीमा युनिभर्स) को अस्तित्वलाई कसैले इन्कार गर्न सक्दैन । यो सम्पूर्ण विश्व अकल्पनीय रूपमा विशाल र विचित्रको छ । प्रश्न यो होः यो सम्पूर्ण विश्व कहाँबाट आयो ? तलका तीनवटा जवाफमध्ये एउटा साँचो हुनैपर्छ ।
(१) यो अनन्त छ ।
(२) यो आफै अस्तित्वमा आयो ।
(३) यसको सृजना गरियो ।
विश्व अनन्त छ भन्ने पहिलो विकल्पलाई वैज्ञानिक समुदायले पूर्णतः खारेज गरिदिएको छ । महाविस्फोटमा यो सम्पूर्ण विश्वको थालनी भएको थियो भनी वैज्ञानिकहरू साधारयणतया सहमत छन् । भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षवादको सिद्धान्त, विश्वको फैलावट, महाविस्फोटको विकिरणजस्ता वैज्ञानिक साक्षीहरूले वैज्ञानिकहलाई यो विश्व अनन्त नभई यसको आरम्भ भएको छ भन्ने निष्कर्षमा डोर्याएका छन् ।
दोस्रो विकल्पले भन्छ कि यो सम्पूर्ण विश्व आफै अस्तित्वमा आयो । दार्शनिक दृष्टिकोणबाट यो असम्भव छ । शून्यताले कहिल्यै पनि कुनै वस्तुलाई आफै अस्तित्वमा ल्याउन सक्दैन । विश्व अस्तित्वमा आउनुअगि केवल शून्यता थियो जससित यो विश्वलाई अस्तित्वमा ल्याउने शक्ति थिएन । हामी सबैलाई थाहा भएकै कुरो हो कि शून्यताले कहिल्यै कुनै पनि वस्तुलाई रचना गर्न सक्दैन । शून्यतामा हेर्ने, सुँघ्ने, काम गर्ने, सोच्ने वा रचना गर्ने क्षमता हुँदैन । तसर्थ, वैज्ञानिक र दार्शनिक आधारमा पहिलो र दोस्रो विकल्प दुवै नै रद्दीको टोकरीमा जान्छन् ।
तेस्रो विकल्पअनुसार यो सम्पूर्ण विश्वको लागि कोही जिम्मेवार छ । यो सम्पूर्ण विश्वभन्दा परको अस्तित्वले यसलाई सृजना गरेको हो भन्ने यो तेस्रो विकल्प तर्कसङ्गत देखिन्छ ।
कल्पना गर्नुहोस् कि तपाईंको कोठामा एउटा चित्र छ । त्यो कुनै चित्रकारले बनाएको हो भन्ने प्रमाण के छ ? चित्रको अस्तित्व नै चित्रकारको प्रमाण हो । जसरी चित्रकारविना एउटा चित्र अस्तित्वमा आउन सक्दैन त्यसै गरी यो सारा विश्व रचनाकारविना अस्तित्वमा आउन सक्दैन । तिनै रचनाकारलाई आस्तिकहरू परमेश्वर भन्दछन् ।