मिसनरीको सुसमाचारद्वारा डरलाग्दो हत्याराको परिवर्तन

ख्रिस्टाब्द १७९५ मा स्कटल्यान्डमा जन्मेका रोबर्ट मोफाट उन्नाइसौँ शताब्दीमा अफ्रिकामा मिसनरी भएर जाने प्रभुका साहसिला सेवक हुन् । तिनी विश्वविख्यात मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा थिए । दक्षिण अफ्रिकामा ५० वर्षभन्दा बेसी समय बिताएका मोफाटले उक्त देशको बेखुनास नामक आदिवासीको भाषामा बाइबललाई अनुवाद गरे ।

मोफाटले जुन ठाउँमा सुसमाचार लिएर गएका थिए, त्यहाँ जागेर अफ्रिकानर नाउँ गरेका एक डरलाग्दा हत्यारा थिए । तिनी यति हिंसक थिए कि दक्षिण अफ्रिकी सहर केप टाउनका गभर्नरले तिनलाई जीवित वा मृत फेला पारेको खण्डमा झन्डै पचार हजार नेपाली रुपियाँ बराबरको धनराशी उपहार दिने घोषणा गरेका थिए । अफ्रिकानर र तिनका मानिसहरू दक्षिण अफ्रिकाको त्रास बनेका थिए । रोबर्ट मोफाट अफ्रिकानरको जातिको लागि मिसनरी भएर जाँदा केप टाउनका मानिसहरूले तिनी जिउँदै फर्केर आउनेथिए भनी कहिल्यै अपेक्षा गरेका थिएनन् । अफ्रिकानरले मोफाटको खप्परलाई चिया पिउने भाँडो बनाउनेथिए भनी सहरका मानिसहरूले बताए ।

तर मोफाटले परमेश्वरमाथि दृढ भरोसा राखे । तिनले उक्त जङ्गली जातिका बिचमा साहसपूर्वक सुसमाचारको सन्देश बाँडे । उदेकको कुरो के भयो भने तिनै हत्यारा नै पहिलो विश्वासी बने । पछि मोफाटले तिनलाई आफूसितै केप टाउन सहरमा लगे । ती हिंसक जङ्गली हत्यारालाई नम्र ख्रीष्टियान व्यक्तिमा परिवर्तन भएको देखेर सहरका शासकले आश्चर्य मान्दै भने, “कस्तो आश्चर्यकर्म! यो त संसारको आठौँ आश्चर्य हो ।”

अफ्रिकानर दक्षिण-पश्चिम अफ्रिकामा बसोबास गर्ने ओर्लाम जातिका तृतीय मुखिया थिए । तिनको जन्म करिब १७६९ मा दक्षिण अफ्रिका (हाल नामिबिया) मा भएको थियो । तिनी क्लास अफ्रिकानरका छोरा थिए । जागेरले नयाँ जन्म पाएपछि ख्रीष्टियान मिसनरीहरूद्वारा तिनलाई पढ्न र लेख्न सिकाइयो । मिसनरीहरू ओर्लाम जातिबाट बिदा भएपछि तिनी नै धार्मिक शिक्षक र अगुवा बनेका थिए । १८२३ मा तिनको निधन भएपछि तिनका माहिला छोरा जोङ्कर अफ्रिकानर तिनका उत्तराधिकारी बने ।

Facebook Comments

Powered by Youth Circle