इस्लाम धर्मका विद्वान्‌बाट येशू ख्रीष्टका चेला

भारतको लखनाउमा पढाइरहँदा अब्दुल मसिहले कानपुर घुम्न जाने निधो गरे जहाँ तिनले ब्रिटिस इस्ट इन्डियाका पादरी हेन्‍री मार्टिनसित मित्रता गाँसे । मार्टिनले हरेक आइतबार भिक्षाको लागि जम्मा भएका गरिबहरूलाई प्रचार गर्थे । अब्दुल धनी मानिस भए तापनि मार्टिनको प्रचारबाट प्रभावित भई तिनी पनि ती सेवाहरूमा उपस्थित हुन थाले । त्यहीँ नै अब्दुलले पहिलो पटक सुसमाचार सुन्ने मौका पाए । सुसमाचारले तिनको हृदयमा काम गर्‍यो । फलस्वरूप ३८ वर्षको उमेरमा अब्दुलले नयाँ जन्म पाए अर्थात् तिनी ख्रीष्टका अनुयायी बने । तिनमा ख्रीष्ट र ख्रीष्टियान धर्मशास्त्रको बारेमा थप जान्ने उत्साह जाग्यो । तिनले मार्टिनद्वारा उर्दु भाषामा अनुवाद गरिएको नयाँ करारलाई पढ्न लागे ।

ख्रिस्टाब्द १८११ मा आइतबारका दिन कलकत्ताको पुरानो चर्चमा अब्दुलले डेभिड ब्राउनद्वारा पानीको बप्तिस्मा लिए । बप्तिस्मापश्चात् तिनको नाउँ अब्दुल मसिह राखिएको थियो जसको अर्थ हुन्छ, “मसिहका सेवक ।” तिनको पहिलेको नाउँ सिख सालिह थियो । ख्रीष्टियान अगुवाहरूको अधीनमा रहेर वचन सिक्दै तिनले वर्षौं बिताए । पछि तिनी अभिषिक्त ख्रीष्टियान अगुवा बने । सेवकसाथै लेखक अब्दुल मसिहलाई एक प्रभावशाली स्थानीय ख्रीष्टियान अगुवाको रूपमा आदर गरिन्छ । उन्नाइसौँ शताब्दीको भारतीय ख्रीष्टियान मिसनमा तिनको उल्लेखनीय प्रभाव परेको थियो ।

१७७६ मा भारतको दिल्लीमा अब्दुलको जन्म एउटा ईश्वरभक्त मुसलमान परिवारमा भएको थियो । तिनी आफ्नो धर्ममा एक आदरणीय विद्वान् थिए । तर येशूको सुसमाचारको ज्योतिले तिनलाई ख्रीष्टको सेवकमा परिणत गर्‍यो ।

Facebook Comments

Powered by Youth Circle