बाइबलबारे ७ ओटा आश्चर्य

संसारमा हालसम्म प्रकाशित सबै पुस्तकहरूमध्ये बाइबल विविध क्षेत्रमा आश्चर्यपूर्ण छ । बाइबलबारे भएका विविध आश्चर्यमध्ये यहाँ ७ ओटा आश्चर्यबारे चर्चा गरिएको छ ।

 

१. पहिलो आश्चर्य— एकत्व

बाइबलका सबै पुस्तक लेख्नलाई जम्माजम्मी झन्डै पन्ध्र सय वर्ष लागेको थियो । बाइबल लेख्न ४० भन्दा बढी मानवीय लेखक संलग्न भए । ती लेखकहरू विभिन्न पेसा र क्षेत्रका थिए । मोशा मिश्रदेशको विश्वविद्यालयमा तालिम प्राप्त अगुवा, पत्रुस मछुवा, आमोस गोठाला, यहोशू सेनापति, नहेम्याह मद्य टक्र्याउने, लूका वैद्य, सोलोमोन राजा, पावल रब्बी, दानिएल प्रधानमन्त्री थिए ।

लेखकका पेसाहरू मात्र फरक-फरक थिएनन्, तर लेखिएका स्थानहरू पनि फरक-फरक थिए । मोशाले उजाडस्थानमा लेखे भने यर्मियाले कालकोठरीमा । लूकाले यात्रामा लेखे भने यूहन्नाले पत्मोस टापुमा । दानिएलले दरबारमा लेखे भने पावलले झ्यालखानामा ।

कसैले हर्षको टाकुराबाट लेखेका छन् भने कसैले उदासीको सागरबाट । कसैले युद्धको समयमा लेखेका छन् भने कसैले शान्तिको समयमा । कसैले निश्ययताको समयमा लेखेका छन् भने कसैले आशङ्काको समयमा ।

बाइबललाई एसिया, युरोप र अफ्रिका गरी तीनवटा महादेशमा मात्र लेखिएन तर  हिब्रू, आरमेइक र ग्रिक गरी तीनवटा भाषामा पनि लेखियो । पुरानको करारका अधिकांश भाग हिब्रू भाषामा लेखिए भने केही भाग आरमेइकमा । नयाँ करारलाई ग्रिक भाषामा लेखियो ।

हामी बाइबलमा कविता, ऐतिहासिक विवरण, गीत, संस्मरण, व्यङ्ग्य, जीवनी, आत्मचरित्र, कानुन, भविष्यवाणी, दृष्टान्त, रूपक आदिजस्ता विविध साहित्यिक शैलीहरू पाउँछौँ ।

बाइबलले सैयौँ विषयलाई सम्बोधन गरेको छ । विवाह, पुनर्विवाह, पारपाचुके, समलिङ्गता, व्यभिचार, परस्त्रीगमन, आज्ञाकारिता, परमेश्वरको प्रकृति र प्रकाश आदिजस्ता विभिन्न विषयहरू बाइबलका पानाहरूमा अभिलिखित छन् ।

बाइबलमा यति धेरै विविधता भए तापनि हामी बाइबलमा एकता पाउँछौँ । अनेकतामा एकता बाइबलको विषेशता हो । बाइबलको एकत्व यसका आश्चर्यपूर्ण चरित्रहरूमध्ये एक हो । मानवीय परिप्रेक्ष्यबाट हेर्दा असम्भवजस्तो लागे तापनि हामी बाइबलमा एउटै मुख्य विषयवस्तु पाउँछौँ— मानव-जातिको लागि परमेश्वरको छुटकाराको योजना । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/228/)

 

२. दोस्रो आश्चर्य— अनुवाद

हिब्रू, आरमेइक र ग्रिक गरी बाइबललाई तीनवटा मूल भाषामा लेखिएको थियो तर आज हजारौँ भाषामा बाइबलको वचन उपलब्ध छ । विकिपिडियाअनुसार अक्टोबर २०१८ सम्ममा पूरै बाइबललाई ६८३ ओटा भाषामा, नयाँ करारलाई थप १,५३४ ओटा भाषामा र यसका अंशहरूलाई थप १,१३३ ओटा भाषामा अनुवाद गरिएको छ । यसरी बाइबलको कुनै न कुनै अंश कम्तीमा पनि ३,३५० ओटा भाषामा अनुवाद भइसकेको छ । बाइबलको वचनलाई थप भाषाहरूमा पुर्‍याउने कामले निरन्तरता पाइरहेको छ ।

धेरैजसो पुस्तकहरू अन्य भाषामा अनुवाद नै गरिँदैनन् । अनुवाद गरिए पनि दुई वा तीनवटा भाषामा मुश्किलैले छापिन्छन् । ज्यादै थोरै पुस्तकहरू मात्रै दस नाघ्न सक्छन् । तर बाइबलको हकमा भने हामी आश्चर्यपूर्ण तथ्याङ्क पाउँछौँ ।

संसारमा बोलिने ७,१११ ओटा ज्ञात विद्यमान भाषामध्ये बाइबल अनूदित तथ्याङ्क भनेको लगभग ४७% भए तापनि संसारका ९०% भन्दा बढी जनसङ्ख्याले बाइबलका वचनहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन् ।

विकिपिडियाअनुसार संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक हो— बाइबल । दोस्रो नम्बरमा पास्टर क्रिस ओखिलोमद्वारा अङ्ग्रेजीमा लिखित रापसोडोसी अफ रियालिटिज पर्छ जसलाई १,००० ओटाभन्दा कम भाषामा अनुवाद गरिएको छ । तेस्रोमा कार्लो कोलोडीको कृति (ले अभेन्चुर डि पिनोखिओ) पर्छ जसको अनूदित सङ्ख्या ३०० भन्दा कम रहेको छ । यसै गरी, जोन बनयानद्वारा लिखित पिलग्रिम्स प्रोग्रेसलाई २०० ओटा, थोमस केम्पिसद्वारा लिखित द इमिटेसन अफ क्राइस्टलाई ९५ ओटा, भगवद्गीतालाई ८० ओटा, पूर्ण कुरआनलाई ५० ओटा, सी. एस. लेविसद्वारा लिखित कृति द क्रोनिकल्स अफ नार्नियालाई ४७ ओटा भाषामा अनुवाद गरिएको छ ।

मानिसहरूले आफ्नै भाषामा धर्मशास्त्रलाई पढ्न पाउनुपर्छ भन्ने चौधौँ शताब्दीका बाइबल अनुवादक जोन विक्लिफको सपना परमेश्वरले केही दसकभित्र पूरा गर्दै हुनुहुन्छ भनी अपेक्षा गर्न सकिन्छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/219/)

 

३. तेस्रो आश्चर्य— प्रचार-प्रसार

संसारमा सबैभन्दा बढी पढिने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी बिक्री-वितरण हुने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक कुन हो ? यी सबैको जवाफ हुन्छ, बाइबल । चाहे आख्यान होस् वा आख्यानेतर अन्य कुनै पनि पुस्तक प्रचार-प्रसारमा बाइबलको नजिक पनि आएको छैन । हरेक वर्ष १० करोड प्रति बाइबल छापिन्छ भने अनुमान गरिएको छ । यो तथ्याङ्कलाई आधार मान्दा प्रति दिन २,७३,९७२ ओटा, प्रति घण्टा ११,४१५ ओटा, प्रति मिनेट १९० ओटा र प्रति सेकेन्ड ३ ओटा बाइबल छापिन्छ ।

मुद्रित बाइबलले मात्र प्रचार-प्रसारमा इतिहास रचेको छैन तर बाइबल एप्स पनि लाखौँ-करोडौँको सङ्ख्यामा डाउनलोड गरिएका छन् । युभर्नसको बाइबल एपलाई मात्र २०१७ को अन्त्यसम्ममा ३० करोड पटक डाउनलोड गरिएको थियो ।

हालसम्म पुरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू ७ अरबभन्दा बेसी बिक्री–वितरण भएको छ भनी अनुमान गरिएको छ ।

माओत्सेतुङद्वारा लिखित पुस्तक कोटेसन्स फ्रम चेएरम्यान माओत्सेतुङ दोस्रोमा आउँछ । लिटिल रेड बुक भनेर पनि परिचित यस पुस्तकलाई १ अरबभन्दा बेसी सङ्ख्यामा बेचिएको छ भनी अनुमान गरिएको छ यद्यपि वास्तविक तथ्याङ्क विवादस्पद छ । स्पेनका लेखक मिगुल डे कर्भान्टस साभेद्राद्वारा लिखित डन क्विक्सटे नामक कृति तेस्रोमा श्रेणीमा पर्छ । यो कृति ५० करोड प्रति बिक्री गरिएको छ भनी अनुमान गरिएको छ । चार्ल्स डिकेन्सद्वारा लिखित अ टेल अफ टु सिटिज चौथोमा र जे. आर. आर. टोल्किनद्वारा लिखित द लर्ड अफ द रिङ्ग्स पाँचौँमा पर्छ । यी पुस्तकहरू क्रमशः २० करोड र १५ करोड प्रति बिक्री गरिएको अनुमान गरिएको छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/222/)

 

४. चौथो आश्चर्य— अविनाशिता

बाइबलले भोगेको सतावटको कथा ज्यादै मार्मिक छ । ख्रीष्टियान धर्मलाई निमिट्ट्यान्न पार्ने चुनौती दिने भोल्टेयर, बाइबलको विश्वसनीयतालाई नष्ट गर्न खोज्ने प्रोफाइरी, बाइबललाई उपहासमा उडाउने लुसियन, बाइबललाई निर्मूल पार्न खोज्ने डायोक्लिसन, पन्ध्र वर्षमा बाइबललाई मुर्दा घरमा पुर्‍याइदिन्छु भनी हाँक दिने रोबर्ट इङ्गरसोल सबै नै इतिहासमा मरेर गए, तर बाइबल यसका आशिष्‌हरूलाई लिएर संसारको चारैतिर द्रुतगतिमा सवार हुँदै छ ।

संसारमा सबैभन्दा बेसी सतावट भोग्ने पुस्तक हो— बाइबल । मानव इतिहासमा यसको निर्मूलनको लागि हर सम्भाव्य प्रयास गरिएको थियो । सबै ओहोदाका मानिसहरू यसको विरुद्धमा खनिएका थिए: तानाशाह, सम्राट्, पोप, राजा, राजकुमार, पुजारी, शासक, लेखक, व्यङ्ग्यकार आदि । तथापि ती सबै पृथ्वीको धुलोमा मिसिएर गए, तर बाइबल अविनाशी छ । यसको उन्मूलनको लागि मानिसको हरेक युक्तिका बाबजुत पनि हाम्रो भूगोल र हाम्रो समयमा यसको उपलब्धता यसको अर्को अद्वितीय पक्ष हो ।

संसारको इतिहासमा बाइबलले सबैभन्दा बढी सतावट भोग्नु परे तापनि यसले आज व्यक्ति, परिवार, समाज, प्रान्त र राष्ट्रलाई गलत मार्गबाट फर्काई असल मार्गमा डोर्‍याएको छ । इतिहासमा बाइबलको उन्मूलन भएको भए संसारले आज यो सभ्यता देख्न पाउँदैनथ्यो भन्दा अत्युक्ति नहोला । यदि बाइबलमा मानवीय हात मात्र समावेश हुँदो हो त निस्सन्देह आज तपाईं र मेरो हातमा बाइबल हुनेथिएन । यो शताब्दीमा बाइबलको उपलब्धता यसमा भएको ईश्वरीय हातको सङ्केत हो । तसर्थ यसलाई नष्ट गर्न खोज्नेहरू अवश्य हुन्छन् तर यसलाई कसैले कहिल्यै नष्ट गर्न सक्दैन । येशू ख्रीष्टको भनाइ वास्तवमै कति साँचो छ, “स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्” (मर्कूस १३:३१) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/231/)

 

५. पाँचौँ आश्चर्य— भविष्यवाणी

बाइबलमा हामी अचूक रूपमा पूरा भएका कैयौँ भविष्यवाणीहरू पाउँछौँ । बाइबलको एउटै भविष्यवाणी पनि चुकेको छैन । बाइबल परमेश्वरको वचन हो भन्नाका लागि पूरा भएका भविष्यवाणीहरू एउटा दृढ साक्षी हो । अन्य पुस्तकको विपरीत बाइबलमा सैयौँ वर्ष अगाडि बताइएका विशिष्ट भविष्यवाणीहरू पाइन्छन् । भविष्यवाणी उल्लिखित मात्रै छैनन्, तर समय आइपुगेपछि ती अचूक रूपमा पूरा पनि भएका छन् ।

बाइबल लेखिँदा जम्माजम्मी कतिवटा अगमवाणी थियो होला ? जे. बार्टोन पाइनेले बाइबलमा १८१७ ओटा अगमवाणीको सूची तयार पारेका छन् जसमध्ये पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ ओटा छन् । उही लेखकको गणनाअनुसार पूरै बाइबलको २७ प्रतिशत भागले अगमवाणीलाई ओगटेको छ । यो भनेको बाइबलको एक-चौथाईभन्दा बढी खण्ड अगमवाणीसँग सम्बन्धित हुनु हो । संसारको अन्य कुनै पुस्तक यस्तो छैन ।

बाइबलीय भविष्यवाणीको समाप्तिको अध्ययनले परमेश्वर मानवीय इतिहासको नियन्त्रक हुनुहुन्छ भनी दृढतापूर्वक पुष्टि गर्छ ।

संसारमा विभिन्न धर्मका धार्मिक ग्रन्थहरू पाइन्छन् । यी ग्रन्थमा पूरा भएका एउटै पनि विशिष्ट भविष्यवाणी पाईंदैन भनी सुक्ष्म जाँचले प्रकट गरेको छ । परमेश्वरबाहेक अन्य कुनै धार्मिक ग्रन्थकार वा दार्शनिकलाई भविष्यको बारेमा ज्ञान नहुने भएकोले तिनीहरूका पुस्तकहरूमा भविष्यबारे असाधारण कुरा नलेखिनु अनौठो कुरो होइन । ग्रिक, रोमीसाथै मध्यपूर्वका उत्कृष्ट पुस्तकहरूसाथै धार्मिक ग्रन्थमा पनि भावी घटना, मानिस वा अभियानको बारेमा कुनै विशिष्ट र सबिस्तार ढङ्गमा वर्णित भविष्यवाणी पाईंदैन ।

भविष्यवाणीको क्षेत्रमा संसारमा बाइबलजस्तो अर्को कुनै पुस्तक छैन । बाइबलका कैयौँ भविष्यवाणीहरू जस्ताको तस्तै पूरा भइसकेका छन्, केही पूरा हुँदै छन् भने कैयौँ पूरा हुन बाँकी नै छन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/265/)

 

६. छैटौँ आश्चर्य— प्रभाव

विश्वको इतिहास अध्ययन गर्ने सबैको लागि पाश्चात्य जगत्‌मा बाइबल र यसको शिक्षाको प्रभाव सुस्पष्ट छ । विश्व घटनाहरूमा पाश्चात्य जगत्‌को प्रभावकारी भूमिका पनि उत्तिकै प्रस्ट छ । संसारमा अन्य कुनै पुस्तक वा पुस्तकहरूको मालाभन्दा बाइबल धर्मशास्त्रले सभ्यतामाथि बढी प्रभाव पारेको छ । वास्तवमा संसारको कुनै पनि महान् नैतिक र धार्मिक कृतिले ख्रीष्टियान सिद्धान्तमा नैतिकताको गहिराइलाई उछिन्न सक्दैन र परमेश्वरबारे बाइबलीय मतभन्दा कुनैको पनि श्रेष्ठतर धारणा छैन । बाइबलले नै परमेश्वर, विश्व, र मानव-जातिको विषयमा सबै पाश्चात्य भाषाहरूमा यसको शिक्षालाई ल्यायो । पाश्चात्य जगत्‌मा बाइबल बुद्धिजीवी, नैतिकवान् र आत्मिक मानिसहरूको ज्यादै उपलब्ध, भरपर्न योग्य श्रोत र निर्णायक पुस्तक बनेको छ ।

पवित्र प्रेरणा पाएको पुस्तक भएकोले मात्र होइन तर पाश्चात्य विचारमा व्यापक प्रभाव पारेकोले बाइबल एउटा महत्त्वपूर्ण प्रलेख हो । शताब्दीऔँसम्म प्रधान विश्वदृष्टिको रूपमा रहेको ख्रिस्टियमत र यसको सर्वाधिक महान् केन्द्रिय पाठयपुस्तक बाइबलले पाश्चात्य संस्कृतिको संरचनामा मुख्य भूमिका खेल्यो । फलस्वरूप ख्रिस्टियानोत्तर युगका थुप्रै साहित्यिक पाठ्यपुस्तकहरूले बाइबललाई बारम्बार उद्धृत गरे ।

साहित्यमाथि बाइबलले यति प्रभाव पारेको छ कि पृथ्वीको धरातलबाट सबै बाइबललाई मेटिदिने हो भने पनि अन्य पुस्तकहरूमा उद्धृत बाइबलका उद्धरणहरूलाई एकत्रित गरी बाइबलको अपरिहार्य शिक्षामा बाधा नपर्ने गरी पुनः बाइबलको रचना गर्न सकिन्छ भनी बाइबल विद्वान्‌हरू विश्वास गर्छन् । पाश्चात्य जगत्‌को साहित्यभित्र नाप्नै नसकिने गरी बाइबलले प्रवेश पाएको छ । वास्तवमा पाश्चात्य साहित्यलाई बाइबलले जति अन्य कुनै पुस्तकले प्रभाव पारेको छैन ।

सम्पूर्ण मानवीय इतिहासमा बाइबलले जस्तो प्रभाव अन्य कुनै पनि पुस्तकले पारेको छैन । तसर्थ बाइबल संसारमा सबैभन्दा प्रभावशाली पुस्तक हो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/268/)

 

७. सातौँ आश्चर्य— जीवन परिवर्तन गर्ने क्षमता

बाइबल साँच्चै परमेश्वरको वचन भएकोले जीवन परिवर्तन गर्ने क्षमता यसमा हुनैपर्छ भनी हामीले आशा गर्नु स्वाभाविक नै हो । येशूले आफ्नो आगमनको उद्देश्य बताउनुभयो, “म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भने हेतुले आएँ” (यूहन्ना १०:१०) ।

बाइबल जीवन परिवर्तन गर्ने पुस्तक हो । यसले दुई-चार जना, दुई-चार सय जना, दुई-चार हजार जनाका जीवन मात्र बद्लेको छैन, तर लाखौँ र करोडौँका जीवनलाई बद्लेको छ । अनैतिकताको सागरमा हिँडिरहेका अगस्टिन बाइबलको वचनद्वारा बद्लिएनन् मात्रै तर प्रभावशाली ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्तीसमेत बने । भयङ्कर डरलाग्दा डाँकुको रूपमा ख्याति कमाएका नर्वेका राजालाई रूपान्तरण गर्ने पुस्तक बाइबल नै थियो । तिनी मध्यकालीन ख्रीष्टियान जगत्‌का नायक बने जसले नर्वेको रूपान्तरणमा उल्लेखनीय भूमिका खेले । बाइबलले नै ड्रग्सको कुलतमा फसेका कोडी हफको जीवनमा आमूल परिवर्तन ल्याइदिएको थियो । तिनी आफू मात्र बद्लिएनन्, तर आफ्नो सेवाद्वारा कैयौँ मानिसहरूलाई पनि तिनले परमेश्वरको राज्यमा ल्याइरहेका छन्

दास भएर जन्मेका जर्ज वासिङ्गटन कार्भरलाई परिचित वैज्ञानिक बन्न प्रेरणा दिने पुस्तक बाइबल नै थियो । बाइबल पढेपछि नै जेफ्री दमार कुख्यात हत्याराबाट झ्यालखानामा नै ख्रीष्टका चेला बने । बदमास र सडके चोरको रूपमा परिचित जेरी म्याकअलीले परिवर्तनको अपेक्षासहित झ्यालखानामा नै बाइबल पढेपछि तिनी नयाँ सृष्ट बने । जोन न्युटनलाई भयानक ईश्वर-निन्दकबाट महान् प्रचारक, भजन लेखकसाथै सामाजिक सुधारक बन्न अभिप्रेरित गर्ने पुस्तक बाइबल नै थियो । ब्रह्माको खोजी गर्दै हिँडेका रबी महाराजले बाइबल पढेपछि सत्यता भेट्टाएका थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/272/)

 

Facebook Comments

Powered by Youth Circle