ख्रिस्टाब्द १९८६ को जनवरी महिनामा इस्राएल देशको गालील समुद्रको उत्तरी तटमा माटोमुनि गडेर रहेको अवस्थामा एउटा डुङ्गा फेला पारियो । दुई हप्ताभित्रै यो खबर वनको डडेलोझैँ फैलियो । स्थानीय अखबारहरूले “येशूको डुङ्गा” फेला पारियो भनी लेख्न थाले । गालीलको समुद्रमा पत्ता लगाइएको “पहिलो प्राचीन पानी जहाज” भनी पुरातत्त्वविद्हरूले घोषणा गरे । यो ख्रीष्टियानसाथै यहूदीहरूका लागि एउटा महत्त्वपूर्ण ऐतिहासिक खोज थियो ।
मोसे र युबाल नाउँ गरेका दाजुभाइले यो प्राचीन डुङ्गा पत्ता लगाएका थिए । खडेरीको कारणले गर्दा तालको पानीको सतह घटेको बेलामा तिनीहरू तटको जाँच गर्न गएका थिए । डुङ्गामा क्षति नहोस् भन्ने हेतुले १२ दिन १२ रात लगाएर निकै होसियारीसँग पुरातात्त्विक दलद्वारा त्यसको उत्खनन गरिएको थियो । डुङ्गालाई इस्राएलस्थित यिगाल अल्लोन सङ्ग्राहलयमा राख्नुअगि ७ वर्षसम्म रासायानिक पदार्थमा डुबाएर राखिएको थियो ।
२६.५ फिट लमाइ, ७.५ फिट चौडाइ र ४.५ फिट उचाइ भएको यो डुङ्गा पहिलो शताब्दी ख्रिस्टपूर्व र ख्रिस्टाब्दको बिचमा प्रयोग गरिएको थियो जुन समयमा येशू यस धरतीमा मानव चोलामा बाँच्नुभएको थियो । १२ किसिमका बेग्लाबेग्लै काठबाट निर्मित यस डुङ्गालाई बारम्बार मर्मत गरिएको तथ्यले यसलाई दसकौँसम्म प्रयोग गरिएको थियो भनी देखाउँछ । पुन: मर्मतको सम्भावना नदेखिएपछि डुङ्गाका उपयोगी काठहरूलाई निकाली त्यसलाई त्यसै छाडिदिएको हुनुपर्छ जुन शताब्दीऔँसम्म हिलोमा गडिन पुग्यो ।
येशूको जीवनी र सेवाकार्यमा डुङ्गाले उल्लेखनीय भूमिका निर्वाह गरेको छ । येशू डुङ्गामा हुनुहुँदा उहाँले बतासलाई शान्त पार्नुभयो (मर्कूस ४:३९) । डुङ्गा छालको चपेटामा पर्दा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो (मत्ती १४:२५) । येशू उहाँका चेलाहरूसँगै डुङ्गामा चढेर गालीलको समुद्र वारपार गर्नुहुन्थ्यो भनी चारवटै सुसमाचारले बारम्बार उल्लेख गरेका छन् । सुसमाचारहरूमा झन्डै ५० पटक डुङ्गाको उल्लेख गरिएको छ । सुसमाचारहरूले चित्रण गरेको डुङ्गामा जस्तै पत्ता लगाइएको यस डुङ्गामा तेर्ह जना व्यक्ति (येशू र उहाँका १२ जना चेला) सजिलैसित अटाउन सक्थे ।
येशू र उहाँका चेलाहरूले यस डुङ्गालाई प्रयोग गरेका हुन सक्छन् भनी केहीले निष्कर्ष निकाल्ने प्रयास गरेका भए तापनि यकिनसाथ भन्न मुस्किल छ । तर योचाहिँ निश्चयतासाथ भन्न सकिन्छ कि बिसौँ शताब्दीको अन्त्यमा पत्ता लगाइएको यस डुङ्गाले येशूको समयको डुङ्गाको प्रतिनिधित्व भने अवश्य गर्दछ । सुसमाचारीय विवरणहरूलाई काल्पनिक कथाको दर्जा दिन खोज्नेहरूलाई यस आविष्कारले गतिलै झट्का दिएको छ ।