फ्रान्सिस कोलिन्स— नास्तिक वैज्ञानिकबाट ख्रीष्टियान वैज्ञानिक

तिनी नास्तिक थिए । तिनको बुझाइमा धार्मिक विश्वास आधारभूत रूपमा अन्धविश्वाससिवाय केही थिएन । तर्कको लागि त्यहाँ कुनै ठाउँ थिएन, न त्यहाँ खोज हुन्थ्यो न त कुनै अनुसन्धान ।

मेडिकल क्षेत्रमा पढ्ने क्रममा अस्पतालका बिरामीहरू रोगसित जुधिरहेका देखेका थिए तिनले । त्यस्तो दर्दनाक अवस्थामा तिनीहरूले परमेश्वरलाई सराप्नुको साटो सान्त्वनाको लागि तिनीहरू आआफ्ना विश्वासमा भरोसा गरेका देखिन्थे । ती बौद्धिक व्यक्तिले तिनीहरूको आस्थालाई बुझ्न सकेनन् । तिनी बेचैन भए । तिनले धार्मिक विश्वासलाई इन्कार गर्दै आएका थिए, तर तिनले वास्तवमै केलाई इन्कार गरेका थिए त्यो भने तिनलाई थाहा थिएन । एउटा वैज्ञानिकले उपलब्ध तथ्याङ्कविना निर्णय लिँदैन । तर वैज्ञानिक भएर पनि तिनले त्यस्तो निर्णय लिएकोमा तिनी चिन्तित थिए ।

आफ्नो चिन्तालाई दुर गर्न तिनी एक जना ख्रीष्टियान अगुवाकहाँ गए । तिनी ती अगुवाको अफिसमा बसे र तिनले ती सेवकको विश्वासको निन्दा गरे र ईश्वर-निन्दक वचनहरू बोले । तथापि तिनले इमानदारीपूर्वक आफूले जान्न चाहेका कुरो जान्ने अपेक्षा पनि गरे । केही समय छलफलमा बितेपछि ती ख्रीष्टियान अगुवाले भने, “तपाईंको कथाले मलाई कुनै एक जना व्यक्तिको बारेमा याद दिलाउँछ जसले आफ्नो अनुभवको बारेमा लेखेका छन् । तिनको नाउँ हो— सी. एस. लेविस जो अक्सफोर्डका विद्वान् थिए ।”

ती ख्रीष्टियान अगुवाले सी. एस. लेविसद्वारा लिखित पुस्तक मेएर क्रिस्चियानिटीको एक प्रति पनि ती खोजकर्ताको हातमा थमाइदिए । परमेश्वर अस्तित्वमा हुनुहुन्छ र एउटा तर्कसङ्गत व्यक्तिको लागि विश्वास नगर्नभन्दा विश्वास गर्न सजिलो हुन्छ भन्ने लेविसका तर्कहरूले तिनलाई प्रभावित तुल्याए । तरै पनि तिनी विश्वास गर्न अनिच्छुक थिए; तिनी तयार थिएनन्; तिनले चाहेका थिएनन् ।

लेविसद्वारा लिखित त्यस पुस्तकलाई पढेपछि तिनी केही हप्तासम्म बेचैन भए । परमेश्वर अस्तित्वमा हुनुहुँदैन भन्ने अवधारणाबाट तिनी निकै खुसी थिए । विश्वास गर्ने या नगर्ने भन्ने सङ्घर्षमा तिनले झन्डै एक वर्ष बिताए ।

ठिक समय आयो अनि तिनले आफ्नो जीवन परमेश्वरमा सुम्पे । त्यो तिनको जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण थियो । तिनको नाउँ हो— फ्रान्सिस सेलर्स कोलिन्स । तिनले नास्तिकवाददेखि ख्रीष्टियान विश्वाससम्मको आत्मिक यात्रालाई आफ्नो कृति द ल्याङ्ग्वेज अफ गड: अ साइन्टिस्ट प्रिजेन्ट्स एभिडेन्स फर बिलिफमा उल्लेख गरेका छन् ।[i]

कोलिन्स वंशाणुसम्बन्धी अमेरिकाका प्रसिद्ध वैज्ञानिक हुन् । तिनी नेसनल इन्स्टिच्युट अफ हेल्थका अध्यक्ष हुन् । तिनले विभिन्न किसिमका रोगसित सम्बन्धित जिनहरू पत्ता लगाएका छन् । फलस्वरूप मानवीय जिनोम परियोजनाको थालनी भएको थियो ।[ii]

विज्ञान, औषधी र धर्मजस्ता विविध विषयहरूमा कलम चलाएका यी परिचित वैज्ञानिकका केही कृतिहरू प्रकाशित भइसकेका छन् । तिनले नै द बायोलोगोस फाउन्डेसनको स्थापना गरे जसले विज्ञान र धर्मबिचको सम्बन्धलाई बढुवा गर्छ ।[iii]

१४ अप्रिल १९५० मा कोलिन्सको जन्म पिता फ्लेचर कोलिन्स र माता मार्गरेट जेम्स कोलिन्सबाट अमेरिकाको भर्जिनिया राज्यमा भएको थियो । परिवारमा जन्मेका चार सन्तानमध्ये तिनी कान्छा थिए । ६ कक्षासम्म घरमै पढेपछि तिनी स्कुल भर्ना भए र माध्यमिक स्कुलमा पढ्दा रसायनशास्त्री बन्ने तिनको सपना थियो ।[iv]

ख्रिस्टाब्द १९७४ मा याले विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका कोलिन्स व्यावहारिक ख्रीष्टियान हुन् ।[v] मनग्गे पुरस्कारसाथै इनामहरू हात पारेका कोलिन्सले भनेका छन्, “बाइबलको परमेश्वर जिनोमको पनि परमेश्वर हुनुहुन्छ । उहाँलाई मण्डलीमा वा प्रयोगशालामा आराधना चढाउन सकिन्छ । उहाँको सृष्टि तेजस्वी, विस्मयकारी, धेरै जटिल र सुन्दर छ ।”[vi] तिनका अनुसार एउटा वैज्ञानिक विश्वासी बन्न सक्छ, “म वैज्ञानिक र एक विश्वासी हुँ अनि यी दुईवटा विश्वदृष्टिमा म कुनै द्वन्द्व देख्दिनँ ।”[vii]

 

सन्दर्भ स्रोतहरूः

[i]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. १८८ ।

[ii]   https://en.wikipedia.org/wiki/Francis_Collins Accessed 29 September 2019

[iii] Ibid.

[iv] Ibid.

[v]   https://www.britannica.com/biography/Francis-Collins Accessed 29 September 2019

[vi] http://edition.cnn.com/2007/US/04/03/collins.commentary/index.html Accessed 29 September 2019

[vii] Ibid.

Facebook Comments

Powered by Youth Circle