बाइबलमा सजिला कुराहरू मात्र छैनन् तर कठिन कुराहरू पनि छन् जसलाई बुझ्न होसियार अध्ययन हुनुपर्छ । यहाँ त्यस्तै ७ ओटा कठिनाइलाई व्याख्या गरिएको छ ।
(१) के निषेधित फल खाएको दिनमा नै आदम मरे (२:१६–१७) ?
निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो (उत्पत्ति २:१६-१७) भनी परमेश्वरले भविष्यवाणी गर्नुभए तापनि उत्पत्तिको विवरणअनुसार तिनी शारीरिक रूपमा तुरुन्तै मरेनन् । के आदम तुरुन्तै नमरेकाले परमेश्वरको भविष्यवाणी चुकेको हो त ? कदापि होइन ।
पवित्र धर्मशास्त्र बाइबललमा तीन किसिमका बेग्लाबेग्लै मृत्युको उल्लेख भएको पाइन्छ— शारीरिक मृत्यु, आत्मिक मृत्यु र अनन्त मृत्यु ।
शरीरबाट आत्माको विच्छेद हुनुलाई शारीरिक मृत्यु भनिन्छ । शारीरिक मृत्यु व्यक्तिको अन्त्य होइन भन्ने विषयमा पुरानो करारमा परमेश्वरका जनहरू सचेत थिए । अब्राहामको मृत्यु भएपछि तिनी “आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए” (उत्पत्ति २५:८) । यसले मृत्युपश्चात् तिनको आत्माको निरन्तर अस्तित्वलाई अङ्कित गर्दछ । पुरानो करारमा मरेका आत्माहरू पाताल भन्ने ठाउँमा जान्थे जुन मृतकहरूको वासस्थान थियो ।
दोस्रो किसिमको मृत्युलाई आत्मिक मृत्यु भनिन्छ । परमेश्वरबाट आत्मिक रूपमा विच्छेद हुनु नै आत्मिक मृत्यु हो (एफिसी २:१) । यो येशू ख्रीष्टमाथि विश्वास नगरेको अवस्था हो ।
तेस्रो किसिमको मृत्युलाई अनन्त मृत्यु भनिन्छ । परमेश्वरबाट सदाको निम्ति विच्देछ हुनु नै अनन्त मृत्यु हो । यसलाई दोस्रो मृत्यु पनि भनिन्छ (प्रकाश २१:८) ।
मृत्युका किसिमहरूबारे बाइबलीय दृष्टिकोणलाई हेरिसकेपछि अब हाम्रो प्रश्नमा फर्कौं— के आदम त्यही दिनमा मरेनन् त ? जुन दिन आदमले त्यो निषेधित फल खाए तिनी आत्मिक रूपमा तुरुन्तै मरे । तिनीलगायत सम्पूर्ण मानव-जातिमाथि शारीरिक मृत्युको दण्डाज्ञा पर्यो । परमेश्वरले आफ्नो अनुग्रहमा यसलाई तुरुन्तै कार्यान्वयन भने गर्नुभएन । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/251/)
(२) कयिनकी पत्नी को थिइन् (उत्पत्ति ४:१७) ?
बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन र तिनका भाइ हाबिल जन्मे । कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए र आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति ४:१७) । तब स्वाभाविक प्रश्नको उदय हुन्छ— कयिनले कहाँबाट आफ्नी पत्नी पाए ? को हुन् उनी ?
कयिन र हाबिलका अतिरिक्त आदम र हव्वाबाट तेस्रो छोरो शेतसाथै अरू छोराछोरीहरू पनि जन्मेका थिए भनी बाइबलले हामीलाई बताउँछ, “शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्मे” (उत्पत्ति ५:४) । निश्चय नै कयिनकी पत्नी उक्त पदमा उल्लेख भएका छोरीहरूमध्ये एक थिइन् वा कयिनका भतिजीहरूमध्ये कोही एक जना थिइन् । यस्तो वैवाहिक सम्बन्ध सुरुमा नितान्त आवश्यक थियो । मानव-जातिको यस प्रारम्भिक चरणमा त्यहाँ अर्को कुनै परिवार नभएकोले त्यस्तो वैवाहिक सम्बन्ध अनुचित थिएन न त हानिकारक नै । निश्चय नै हाडनाता पर्ने व्यक्तिहरू बिचको यौन सम्बन्ध खतरनाक हुन्छ किनकि वंशाणुमा परिवर्तन गर्ने गुणहरू आमाबाबु दुवैबाट आए भने अपाङ्ग, रोगीसाथै मन्दबुद्धिको सन्तान जन्मने सम्भावना हुन्छ । तर आदम र हव्वा दुवै नै सिधै परमेश्वरबाट बनेका थिए । तसर्थ तिनीहरूबाट परिवर्तन गर्ने त्यस्ता खालका जिनहरू सर्न सक्ने सम्भावना थिएन । औषधि विज्ञानको दृष्टिकोणबाट पनि मानव-जातिको त्यस प्रारम्भिक चरणमा एउटै परिवारका सदस्यहरूबिचको वैवाहिक सम्बन्ध हानिकारक थिएन । यदि यो सम्बन्ध गलत वा हानिकारक हुन्थ्यो भने परमेश्वरले यसलाई अनुमति दिनुहुन्नथ्यो । सारा संसारलाई सृष्टि गर्नुहुने परमेश्वरले संसारमा मानिसहरू वृद्धि हुनको लागि यस सम्बन्धलाई अनुमति दिनुभयो । तर पछि मोशाको व्यवस्थामा परमेश्वरले बहिनी वा नजिकैको नातेदारसित विवाह गर्न निषेध गरिदिनुभयो ।
तब यो प्रस्ट छ कि मानव-जातिको फैलावटको निम्ति परमेश्वरले यस अवस्थालाई अनुमति दिनुभयो जुन बेला यसको नितान्त आवश्यक थियो र त्यस बेला यसलाई अनैतिक कार्यको रूपमा हेरिँदैनथ्यो न त यो हानिकारक नै थियो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/245/)
(३) के येशू साँच्चै “तीन दिन र तीन रात“ पृथ्वीको गर्भभित्र रहनुभयो (मत्ती १२:४०) ?
येशू शुक्रबार क्रूसमा टाँगिनुभयो र आइतबार पुनरुत्थान हुनुभयो भने कसरी उहाँ तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभएको हुन सक्छ त ?
येशू शुक्रबार क्रूसमा मर्नुभयो र आइतबार पुनरुत्थान हुनुभयो । तर मत्ती १२:४० मा अभिलिखित येशूको भनाइसित यो मेल खाएको जस्तो देखिँदैन । येशू शुक्रबार क्रूसमा चढाइनुभयो र आइतबार पुनरुत्थान हुनुभएको हो भने कसरी तीन दिन र तीन रात उहाँ पृथ्वीको गर्भमा रहेको हुन सक्छ त ?
उहाँ पूरा दुई रात, पूरा एक दिन र दुई दिनको केही भाग मात्र चिहानमा रहनुभएको छ । समयलाई गणना गर्ने यहूदी विधिअनुसार पदावली “तीन दिन र तीन रात” लाई सही तरिकाले जान्नु महत्त्वपूर्ण हुन्छ । कुनै दिन वा रातको भागलाई पनि पूरै दिनको रूपमा उल्लेख गर्नु यहूदीहरूको सामान्य चलन थियो । यहूदी टिप्पणीकारहरूअनुसार एउटा अवधिको कुनै पनि भागलाई पूर्ण अवधिको रूपमा लिइन्थ्यो । एक दिनको कुनै पनि भागलाई पूरा दिनको रूपमा गनिन्थ्यो । यहूदीहरूको महत्त्वपूर्ण ग्रन्थ बेबिलोनी ताल्मुडले बताउँछ, “एक दिनको भाग यसको पूर्णताजस्तै हो ।”
येशूले शुक्रबार दिउँसो ३ बजे आफ्नो प्राण त्याग्नुभयो । यहूदी दिन साँझ ६ बजे सुरु हुन्छ । यहूदी व्यवस्थाअनुसार शनिबार कुनै काम गर्न नमिल्ने भएकोले शुक्रबार नै उहाँलाई दफन गरिनुपर्थ्यो । उहाँको मृत्युको ३ घण्टापछि शनिबारको आरम्भ हुन्थ्यो । तसर्थ ६ बज्नुभन्दा अगि नै उहाँलाई चिहानमा गाडिएको थियो । चिहानमा भएको येशूको अविधको सम्बन्धमा “तीन दिन र तीन रात” लाई यसरी गणना गर्न सकिन्छः येशूलाई शुक्रबार क्रूसमा टाँगियो र त्यही दिनमा नै चिहानमा दफन गरियो । शुक्रबारको साँझ ६ बजेअगिको कुनै पनि समयलाई एक दिन र एक रातको रूपमा लिइन्थ्यो । शुक्रबार साँझ ६ बजेदेखि शनिबार साँझ ६ बजेसम्मको समयलाई एक दिन र एक रात मानिन्थ्यो । शनिबार साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्मको कुनै पनि भागलाई एक दिन र एक रातको रूपमा गनिन्थ्यो । यसरी यहूदीहरूको दृष्टिकोणबाट शुक्रबार मध्यान्हदेखि आइतबार बिहानसम्म “तीन दिन र तीन रात” हुन्छ । तसर्थ येशूको भविष्यवाणी सतप्रतिशत साँचो छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/254/)
(४) के अन्नका बाला टिपेर खाँदा येशूका चेलाहरूले शबाथ–दिनको उल्लङ्घन गरे (मत्ती १२:१–२) ?
भोकाएको बेलामा शबाथको दिनमा अन्नको बाला टिपेर खाँदा येशूका चेलाहरूले परमेश्वरको व्यवस्थाको उल्लङ्घन गरेनन् । तर निश्चय नै तिनीहरूले फरिसीहरूको व्यवस्था भने तोडे । परमेश्वरको व्यवस्थामा फरिसीहरूले आफ्ना परम्पराहरू थपेका थिए जसको लागि येशूले तिनीहरूलाई बारम्बार हप्काउनुभयो (मत्ती ५:४३ र १५:६ लाई पनि हेर्नुहोस्) । पुरानो करारअनुसार शबाथ-दिनमा दया र आवश्यक कामहरू गर्न मिल्थ्यो । यस खण्डमा येशूका चेलाहरूले अन्नको कटनी गरिरहेका छैनन् बरु तिनीहरूले केवल अन्नको बाला टिपेर खाँदै छन् जुन कार्य गर्न पुरानो करारको व्यवस्थाले अनुमति दिएको थियो (व्यवस्था २३:५) ।
शबाथको विषयमा येशूले भन्नुभएको छ, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन” (मर्कूस २:२७) । उहाँ नै शबाथका प्रभु हुनुहुन्छ भनेर पनि उहाँले दाबी गर्नुभएको छ । येशूको भनाइको अर्थ यही हो कि शबाथ उच्चतम नियम थिएन किनकि न्याय, दयाजस्ता विषयहरू उच्च कोटीमा पर्छन् (मत्ती २३:२३ लाई हेर्नुहोस्) । येशू परमेश्वरका पुत्र हुनुहुन्छ । तसर्थ उहाँ शबाथको नोकर हुनुहुन्थेन, उहाँ त यसको मालिक हुनुहुन्थ्यो । उहाँले यसको सृजना गर्नुभयो र उहाँले चाहनुभएको खण्डमा यसलाई बद्लन सक्नुहुन्थ्यो जस्तो उहाँले पछि गर्नुभयो ।
यसरी हामी देख्छौँ कि फरिसीहरूले येशूका चेलाहरूलाई गलत अभियोग लगाएका थिए । येशू र उहाँका चेलाहरू नभई फरिसीहरू गलत थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/248/)
(५) येशूले “कसैलाई आफ्ना पिता नभन” (मत्ती २३:९) भनी आज्ञा दिनुहुँदा उहाँको भनाइको मतलब के हो ?
मत्ती २३ अध्यायमा येशूले शास्त्री र फरिसीहरूको भर्त्सना गर्दै हुनुहुन्छ किनकि तिनीहरूले उहाँलाई मसीहको रूपमा इन्कार मात्र गरेनन् तर आफूलाई ‘गुरुज्यू’, ‘मालिक’ र ‘पिता’ जस्ता पदवीहरूले सिंगारी आफैलाई अरूभन्दा श्रेष्ठ ठाने । येशूले तिनीहरूलाई पाखण्डी भन्नुभयो । परमेश्वर नभई तिनीहरू नै सत्यताको स्रोत थिए भन्ने मनसायसहित तिनीहरू आफूलाई ‘पिता’ भनिन रुचाउँथे । सारा जीवन र सत्यताको स्रोत केवल परमेश्वर हुनुहुन्छ भनी येशूले सिकाउनुभयो । कसैलाई पनि परमेश्वरको तहमा राखिनुहुँदैन ।
मत्ती २३ अध्यायको सन्दर्भबाट प्रस्ट छ कि येशूले जीवशास्त्रीय पिता अर्थात् शारीरिक रूपमा जन्म दिने पिताको बारेमा उल्लेख गर्नुभएको होइन, तर आफूलाई अकाट्य आत्मिक अगुवा ठानी ‘पिता’ को पदवीको चाह गर्ने पाखण्डीहरूको बारेमा बोल्नुभएको हो ।
जसरी ‘पिता’ शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्नुमा कुनै भुल हुँदैन, त्यसै गरी हामीलाई जन्मदिने बुबालाई पनि ‘पिता’ भन्नुमा कुनै भुल हुँदैन । हामीले आफ्ना पितालाई ‘पिता’ भन्दा परमेश्वरको स्थानमा राखेका हुँदैनौँ, तर उचित आदर दिएका हुन्छौँ र त्यसो गर्दा हामीले बाइबलको आज्ञापालन गरेका हुन्छौँ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/102/)
(६) येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन (मर्कूस १३:३२) ?
येशू उही समयमा परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो । उहाँमा ईश्वरीय र मानवीय दुवै स्वभाव थिए । एकातिर उहाँको जीवनमा पूरा भएका मनग्गे मसीहसम्बन्धी भविष्यवाणीहरू, उहाँको पापरहित जीवन र उहाँको शारीरिक पुनरुत्थानले उहाँको ईश्वरत्वको पुष्टि गर्छन् भने अर्कोतिर उहाँको शारीरिक जन्म, सामान्य हुर्काइसाथै मृत्युले उहाँको मानवताको पुष्टि गर्छन् ।
परमेश्वरको रूपमा येशूलाई आफ्नो आगमनको घडी राम्ररी थाहा थियो, तर मानिसको रूपमा उहाँ त्यस समयबारे अनभिज्ञ हुनुहुन्थ्यो । परमेश्वरको रूपमा उहाँ असीमित हुनुहुन्छ भने मानिसको रूपमा सीमित । मानिसको रूपमा “येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) । तर परमेश्वरको रूपमा उहाँको “वैभव र बुद्धि र ज्ञान कति गहिरो” छ (रोमी ११:३३) ।
त्यसकारण हामी निष्कर्ष निकाल्न सक्छौँ कि उहाँले आफ्नो आगमनको घडीबारे उहाँलाई थाहा थिएन भन्नुहुँदा उहाँले मानवीय दृष्टिकोणबाट बोल्दै हुनुहुन्थ्यो । यस्तो कथन उहाँ परमेश्वर हुनुहुन्छ भन्ने इन्कार होइन, बरु उहाँ मानव हुनुहुन्छ भन्ने स्वीकार हो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/261/)
(७) मृत्युपश्चात् पुनरुत्थानअगि येशू कहाँ जानुभयो ?
क्रूसमा टाँगिएका दुई जना अपराधीमध्ये पश्चात्ताप गर्नेचाहिँलाई येशूले प्रतिज्ञा गर्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) । यसको अर्थ हुन्छ कि येशू मर्नुभएको त्यस शुक्रबार उहाँ स्वर्गलोकमा जानुभएको थियो । तर प्रश्न यो हो— त्यस बेला स्वर्गलोक कहाँ थियो ?
पुरानो करारमा मरेकाहरूको वासस्थानलाई उल्लेख गर्न हिब्रू शब्द सिओल (ग्रिकमा हेदिस) को प्रयोग गरिएको छ जसलाई नेपाली बाइबलमा धेरै पटक चिहान भनी अनुवाद गरिएको छ । यो आत्माहरूको राज्य थियो । यो एउटा अस्थायी वासस्थान थियो । उद्धार पाएका र नपाएका दुवै थरीका मानिसहरू मरेपछि यहीँ जान्थे । आदमको समयदेखि येशूको स्वर्गारोहणसम्म सिओल दुईवटा भागमा विभाजित थियोः आनन्दको स्थान र पीडाको स्थान । धर्मीहरू आनन्दको स्थानमा जान्थे भने अधर्मीहरू पीडाको स्थानमा । धर्मीहरूको स्थानलाई “अब्राहामको काख” (लूका १६:२२ नेपाली बाइबलमा “अब्राहामको सँग”) वा “स्वर्गलोक” (लूका २३:४३) पनि भनिन्छ । यी दुईवटा क्षेत्रको बिचमा “अति गहिरो धाँदो” थियो (लूका १६:२६) । येशूको भनाइअनुसार यो ठाउँ पृथ्वीको गर्भमा पर्थ्यो (मत्ती १२:४०) ।
तर जब येशू ख्रीष्ट मृतकहरूबाट पुनरुत्थान हुनुभयो उहाँले हेदिसको माथिल्लो भागलाई स्वर्गमा लैजानुभयो भनी एफिसी ४:८-१० ले अङ्कित गर्छ । यसरी अहिले हेदिसको माथिल्लो भाग खाली छ । मण्डली युग अर्थात् वर्तमान समयमा कोही विश्वासी मर्छ भने ऊ पुरानो करारका सन्तहरूको विपरीत सिधै प्रभुकहाँ अर्थात् तेस्रो स्वर्गमा जान्छ (फिलिप्पी १:२३) । अहिले मर्ने गैरख्रीष्टियानहरू अझै हेदिसको तल्लो भागमा नै जान्छन् । बाइबलले हामीलाई हेदिसको तल्लो भागमा कुनै परिवर्तन आएको सङ्केत दिँदैन ।
निष्कर्षमा, मृत्युपश्चात् पुनरुत्थानअगि येशू स्वर्गलोकमा जानुभयो । येशूको स्वर्गारोहणअगि स्वर्गलोक र स्वर्ग फरक-फरक ठाउँहरू थिए । तर उहाँ स्वर्गारोहण हुनुहुँदा उहाँले स्वर्गलोकलाई तेस्रो स्वर्गमा लिएर जानुभयो । वर्तमान समयमा मर्ने विश्वासीको आत्मा सिधै तेस्रो स्वर्गमा जान्छ भने अविश्वासीको आत्मा अझै पनि हेदिसको तल्लो भागमा नै जान्छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/258/)