आधुनिक वैज्ञानिक खोजहरूले हामीलाई उत्पत्तिको पुस्तकमा डोर्‍याएका छन्

शून्यताबाट कुनै कुरोको उदय हुन सक्छ भनी दाबी गर्नु भनेको जादुभन्दा पनि खराब हो । एउटा जादुगरले टोपीभित्रबाट खरायो निकाल्दा कमसे कम त्यहाँ पहिले नै जादुगर र टोपी त हुन्छन् । शून्यताबाट कहिल्यै स्वतः कुनै वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन । दिन प्रतिदिनको हाम्रो अनुभवले यसलाई पुष्टि गर्दछ ।

कल्पना गर्नुहोस् कि तपाईं एउटा रित्तो कोठाभित्र प्रवेश गर्नुभएको छ । कोठा रित्तो छ भनी तपाईं सुनिश्चित हुनुहुन्छ । त्यसभित्र कोही प्रवेश गर्न नसकोस् भन्ने हेतुले तपाईंले त्यसको प्रवेशद्वारमा बलियो ताल्चा लगाइदिनुभयो । भोलीपल्ट कोठाभित्र प्रवेश गर्न लाग्नुहुँदा तपाईं के अपेक्षा गर्नुहुन्छ ? कोठाको रिक्तता । तपाईंको तार्किक क्षमताले तपाईंलाई निश्चयता दिलाएको छ कि कसैले सोफा, कम्प्युटर, दराज वा टेबुलजस्ता वस्तुहरू नल्याएसम्म ती त्यस कोठाभित्र आफै उत्पन्न हुन सक्दैनन् ।

शून्यता भनेको के हो ? उचित तवरले बुझ्ने हो भने शून्यता भनेको रिक्त स्थान होइन । शून्यता भनेको कुनै पनि कुरोको अनुपस्थिति हो अर्थात् यो भनेको रिक्त स्थानको पनि अनुपस्थिति हो । शून्यताको आफ्नो भन्ने केही पनि हुँदैन ।

तब यो स्थापित सत्यता हो कि शून्यताबाट कुनै वस्तुको उदय हुन सक्दैन । शून्यतासँग वस्तुलाई अस्तित्वमा ल्याउने शक्ति हुँदैन ।

यो विश्व अर्थात् युनिभर्स अनन्त छैन हामीलाई थाहा छ । यो सम्पूर्ण विश्व महाविस्फोटमा अस्तित्वमा आयो भनी आधुनिक वैज्ञानिक खोजहरूले देखाएका छन् । सारा विश्वको आरम्भ हुनुअगि के थियो भनी कल्पना गर्ने कोसिस गर्नुहोस् । तपाईंले पाउने जवाफ यही होः शून्यता । स्मरण रहोस्, शून्यतासँग कुनै वस्तुलाई अस्तित्वमा ल्याउने शक्ति हुँदैन । शून्यताबाट केही आउँछ भने त्यो शून्यता नै हो कुनै वस्तु होइन । कसैले आफ्नै नियमअनुसार यो सारा विश्व अस्तित्वमा आएको हो भन्ने जिद्दी गर्छ भने उसले यो जानोस् कि विश्वको आरम्भअगि कुनै प्राकृतिक नियम थिएन । सारा प्राकृतिक नियमहरू महाविस्फोटमा अस्तित्वमा आए ।

शून्यताबाट कुनै वस्तु आफै उत्पन्न हुन सक्दैन भन्ने कथनको तात्पर्य के हो त ? यो सम्पूर्ण विश्व यहाँ छ । आधुनिक वैज्ञानिक खोजअनुसार यो विश्व अनन्त छैन अर्थात् यसको सुरुआत छ । विश्वको सुरुआतअगि शून्यतासिवाय केही थिएन र त्यससित सारा विश्वलाई अस्तित्वमा ल्याउने शक्ति नभएकोले यस विश्वलाई कसैले अस्तित्वमा ल्याएको हुनुपर्छ । ती अस्तित्वमा ल्याउनुहुने व्यक्तिलाई हामी परमेश्वर भन्छौँ । बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले तपाईं र मलाई बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा डोर्‍याएका छन्, “आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:१) ।

Facebook Comments

Powered by Youth Circle