एउटै क्रुसेडमा ५६ हजार मानिसले येशूलाई ग्रहण गरे

सुसमाचार प्रचारका पर्यायवाची हुन्, बिल्ली ग्राहम । तिनी इतिहासमा सबैभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाउने व्यक्ति हुन् । तिनले १८५ ओटाभन्दा बेसी मुलुकका दुई अरबभन्दा बढी मानिसलाई सुसमाचार सुनाए र तिनको सुसमाचार सुनेर झन्डै ३२ लाख मानिसले येशूलाई व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरेका छन् ।[i] ग्राहमका एक जना जीवनीकारले तिनलाई बिसौँ शताब्दीका सर्वाधिक प्रभावशाली ख्रीष्टियान अगुवाहरूको सूचीमा राखेका छन् ।[ii] ग्यालप संस्थाले सञ्चालन गर्ने सर्वाधिक प्रशंसित पुरुष र स्त्रीको सूचीमा ग्राहम ख्रिस्टाब्द १९५५ देखि ५५ पटक देखा पर्न सफल भएका छन्, संसारको कुनै पनि व्यक्तिभन्दा बेसी ।[iii]

क्रुसेडको लागि परिचित ग्राहमले १९४७ देखि क्रुसेडको थालनी गरी २००५ सम्म त्यसलाई निरन्तरता दिएका थिए । तिनले छवटा महादेशका १८५ ओटा मुलुकमा ४१७ ओटा क्रुसेड सञ्चालन गरे ।[iv] १९४७ मा अमेरिकामा आयोजित तिनको पहिलो क्रुसेडमा ६,००० मानिस सहभागी थिए भने १९७३ मा दक्षिण कोरियामा आयोजित क्रुसेडमा सबैभन्दा धेरै मानिस अर्थात् ११ लाख मानिस भेला भएका थिए ।[v]

ग्राहमको जीवनमा सबैभन्दा लामो समयसम्म लम्बिएको क्रुसेडचाहिँ १९५७ मा अमेरिकाको न्युयोर्क सहरमा आयोजित क्रुसेड थियो ।[vi] १५ मेबाट आरम्भ भई १ सेप्टेम्बरसम्म जारी झन्डै १६ हप्ते यस क्रुसेडमा करिब २० लाख मानिस उपस्थित भएका थिए, जसमध्ये ५६ हजारभन्दा बेसी मानिसले येशूलाई ग्रहण गरे । अमेरिकाको न्युयोर्क सहरको म्याडिसन स्क्वाएर गार्डेनमा सञ्चालित यस क्रुसेडका वक्ता थिए, बिल्ली ग्राहम । त्यस बेला तिनी ३८ वर्षका थिए । ग्राहमको जीवनमा यो नै सबैभन्दा लामो समयसम्म लम्बिएको र सर्वाधिक सार्वजनिक गरिएको क्रुसेड हो ।

यो क्रुसेड ग्राहमको प्रारम्भिक सेवाकार्यमा चिरस्मरणीय थियो । ११० दिनसम्म लम्बिएको यस म्याराथुन क्रुसेडमा १०० ओटा सेवा सञ्चालनमा आएका थिए । यस क्रुसेडले जुन उल्लेखनीय नतिजा हात पार्‍यो, त्यो रातारात तयार गरिएको थिएन । यसको लागि महिनौँको प्रार्थना, तालिम, होसियार तयारी गरिएको थियो ।

प्रथम दिनको सुरुको सेवामा उपस्थित १८,५०० मानिस जनाले भरिएको गार्डेनमा ग्राहमले बिन्ती गरे, “आज राति तपाईंको आत्मालाई सुन्नुहोस्; तपाईंको हृदयसित पनि कान छ ।” अन्य प्रवचनहरूमा जस्तै यहाँ पनि ग्राहमले निर्णय लिन अनुरोध गर्दै थिए । भोलिपल्ट बिहान न्युयोर्क टाइम्सले तिनको पूरै प्रवचनलाई जस्ताको तस्तै छापेको थियो । २० जुलाईमा टुङ्ग्याउने गरी योजना बनाइएको भए तापनि मानिसहरूको रुचिको कारण यसलाई १ सेप्टेम्बरसम्म लम्ब्याइएको थियो ।[vii]

१ जुनदेखि शनिबारको साँझका सेवाहरूलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । यस प्रयासबाट ग्राहम लाखौँ मानिसका घरहरूमा प्रवेश गर्न सफल भए । यसरी १० करोड मानिसले कम्तीमा पनि तिनको एउटा सभालाई देखेको थियो भनी अनुमान गरिएको छ ।

क्रुसेडको आखिरी साँझ अर्थात् १ सेप्टेम्बरमा १,२५,००० मानिसहरूको भिड लागेको थियो । त्यस रात पनि हजारौँ मानिसले येशूलाई पछ्याउने निधो गरेका थिए ।[viii]

 

सन्दर्भ स्रोतहरूः

[i]   https://en.wikipedia.org/wiki/Billy_Graham Accessed on 25 September 2019

[ii]   Ibid.

[iii] कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ३३२ ।

[iv] https://en.wikipedia.org/wiki/List_of_Billy_Graham%27s_crusades Accessed on 25 September 2019

[v]   Ibid.

[vi] Ibid.

[vii] कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह पृ. सं. २६३ ।

[viii] https://www.thegospelcoalition.org/blogs/evangelical-history/billy-grahams-madison-square-garden-campaign-60-years-later/ Accessed on 25 September 2019

Facebook Comments

Powered by Youth Circle