मण्डलीले एउटा वादविवाद प्रतियोगिता आयोजना गर्यो । यसमा संसारकै सुविख्यात ख्रीष्टियान रक्षाशास्त्रीसाथै दार्शनिक विलियम लेन क्रेग र नामुद नास्तिक फ्र्याङ्क जिन्डलरले भाग लिएका थिए । यी दुई महान् प्रतिस्पर्धीबिचको वादविवादलाई ११७ ओटा स्टेसनले प्रत्यक्ष प्रसारण गरेको थियो । २७ जुन १९९३ मा अमेरिकाको इलिनोई राज्यको सिकागोस्थित विल्लो क्रिक कम्युनिटी चर्चमा यो प्रतियोगित सञ्चालन गरिएको थियो ।
मण्डलीको प्राङ्गणमा मानिसहरूको भिड लाग्यो । मण्डलीका द्वारहरू खोल्नेबित्तिकै मानिसहरू आआफ्ना सिटमा गएर बसे । त्यहाँ ७,७७८ जना मानिस उपस्थित थिए ।
क्रेगले परमेश्वर र ख्रिस्टियमतको पक्षमा पाँचवटा शक्तिशाली तर्क पेस गरेः
(१) विश्व (अर्थात् युनिभर्स) को आरम्भले स्पष्ट रूपमा सृष्टिकर्तालाई अङ्कित गर्दछ । (आरम्भ भएको हरेक कुरोको लागि कारण हुनैपर्छ; विश्व एउटा निश्चित बिन्दुमा आरम्भ भयो; त्यसैले यसको अस्तित्वको पछाडि कारण हुनैपर्छ ।)
(२) व्यवस्थित वस्तु आफै अस्तित्वमा आउन सक्दैन । विश्व व्यवस्थित छ । त्यसैले यसले एउटा बुद्धिमान् रचनाकारको अपेक्षा गर्दछ ।
(३) हाम्रा वस्तुगत नैतिक मूल्य-मान्यताहरू परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने प्रस्ट साक्षी हुन् । किनभने उहाँले मात्रै ठिक र बेठिकको विश्वव्यापी मापदण्डलाई स्थापित गर्न सक्नुहुन्छ ।
(४) रित्तो चिहान, प्रत्यदर्शीका विवरणहरू र ख्रीष्टियान विश्वासको उदयले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा स्थापित गर्छन् । येशूको पुनरुत्थान उहाँ परमेश्वर हुनुहुन्छ भन्ने दरिलो प्रमाण हो ।
(५) परमेश्वरलाई तुरुन्तै जान्न सकिन्छ र उहाँलाई खोज्नेहरूले उहाँलाई पाउन सक्छन् ।
क्रेगको प्रस्तुतीकरण वजनदार थियो । तर जिन्डलरले नास्तिकवादको पक्षमा आफ्नो हठलाई मात्र प्रस्तुत गर्न सके । जीवशास्त्रीय विकासवादले ख्रिस्टियमतलाई घुँडा टेकाएको छ भन्ने तिनको आरोप थियो । येशू वास्तवमै बाँच्नुभएको थियो भन्नाका लागि कुनै विश्वसनीय साक्षी छैन भन्ने तिनको फितलो तर्क रहेको थियो । दुष्ट्याइँको अस्तित्वले परमेश्वरको विरुद्धमा तर्क गर्छ भन्ने तिनको दाबी रहेको थियो ।
तर स्रोतागणलाई नै छक्क पार्दै क्रेगले जिन्डलरका तर्कहरूलाई तिनकै विरुद्धमा प्रयोग गरे । यदि विकासवाद घटेकै थियो भने पनि त्यसलाई आश्चर्यकर्म मान्नुपर्छ जुन परमेश्वरको अस्तित्वको लागि थप साक्षी हो । किनभने परमेश्वरविना आश्चर्यकर्म हुन सक्दैन ।
क्रेगको तर्क थियो कि दुष्ट्याइँको अस्तित्वले वास्तवमै परमेश्वरको अस्तित्वलाई देखाउँछ किनकि परमेश्वरविना कुनै पनि कुरोलाई खराब भन्ने कुनै नैतिक धरातल हुँदैन ।
दुई घण्टा लम्बिएको यस वादविवादको अन्त्यमा स्रोतागणले आआफ्ना मूल्याङ्कनलाई व्यक्त गरे । त्यहाँ उपस्थित भएकाहरूमध्ये ८२% नास्तिक, अज्ञेयवादी र गैरख्रिस्टियानहरूले निष्कर्ष निकाले कि ख्रिस्टियमतको पक्षमा प्रस्तुत साक्षी अति नै प्रबल थियो । विस्मयकारी कुरो के थियो भने एकातिर ४७ जनाले प्रभु येशूमाथि विश्वास गरे भने अर्कोतिर कसैले पनि नास्तिकवादलाई अङ्गालेन ।
(नोटः यो विलियम लेन क्रेगद्वारा लिखित पुस्तक अन गार्डमा लि स्ट्रोबेलद्वारा प्रस्तुत प्रस्तावनाबाट अनूदितसाथै सम्पादित लेखांश हो ।)