बाइबलका ७ ओटा विरोधाभासको व्याख्या

विरोधाभास भनेको दुई वा सोभन्दा बेसी वस्तुका बिचमा पाइने विरोधको भान हो । यो कुरो साँचो हो कि बाइबलमा विरोधाभासहरू छन् । तर विरोधाभास भुल होइन न त अन्तर्विरोध हो । बाइबलका विरोधाभासहरू व्याख्या गर्नै नसक्ने खालका छैनन् । होसियार अध्ययनबाट तिनलाई बुझ्न सकिन्छ । यहाँ त्यस्ता ७ ओटा विरोधाभासको उल्लेख गरी तिनको व्याख्या गरिएका छन् ।

 

(१) कति जना अपराधीले येशूको अपमान गरेएक जनाले वा दुवै जनाले ?

क्रूसमा टाँगिएका कति जना अपराधीले येशूको अपमान गरे— एक जनाले (लूका २३:३९) वा दुवै जनाले (मत्ती २७:४४ र मर्कूस १५:३२) ?

सुरुमा दुवै जना डाँकाले क्रूसमा टाँगिनुभएका मुक्तिदाता येशूको अपमान गरे । सम्भवतः येशूको महान्‌तालाई देखेर पछि एक जनाचाहिँले पश्चात्ताप गर्‍यो ।

येशू क्रूसमा टाँगिनुहुँदा उहाँले भन्नुभएको थियो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । क्रूसबाट येशूले बोल्नुभएका सातवटा वाणीमध्ये यो पहिलो वाणीलाई क्षमाको वाणी भनिन्छ । रोमी सिपाहीहरूलगायत अन्य जति पनि येशूलाई क्रूसमा टाँग्न संलग्न थिए तिनीहरूलाई क्षमा दिइयोस् भनी येशूले पितासँग बिन्ती गर्नुभयो । येशूको उदाहरण र वचनबाट प्रभावित भई पश्चात्ताप नगर्ने अपराधीलाई पश्चात्ताप गर्नेचाहिँले येशूप्रति सकारात्मक दृष्टिकोण राखेको छ (लूका २३:४०-४१) । पश्चात्तापी अपराधीको निवेदनलाई स्वीकार गर्नुहुँदै येशूले उसलाई प्रतिज्ञा गर्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) ।

तब यी सबै विवरणलाई विश्लेषण गरी हामी निष्कर्ष निकाल्न सक्छौँ कि सुरुमा दुवै जनाले येशूको अपमान गरे जसको विषयमा मत्ती र लूकाले अभिलिखित गरेका छन् । पछि दुईमध्ये एक जनाले पश्चात्ताप गर्‍यो जसको विषयमा लूकाले लेखेका छन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/194/)

 

(२) नोकरको चङ्गाइको निम्ति बिन्ती गर्न को गए कप्तान वा धर्म-गुरुहरू ?

कप्तानको नोकरको चङ्गाइको निम्ति येशूलाई बिन्ति गर्न को गए— कप्तान आफै (मत्ती ८:५) वा यहूदी धर्म-गुरुहरू (लूका ७:३) ?

वास्तविक काम अरूले नै गरे तापनि त्यसको श्रेय भने अधिकारमा हुनेलाई दिइएका उदाहरणहरू बाइबलमा मनग्गे छन् । उदाहरणको लागि, यूहन्नाले लेखेका छन्, “तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए” (१९:१) । यसको अर्थ यही हो कि हाकिम पिलातसले येशूलाई कोर्रा लगाउने आज्ञा दिए । त्यसै गरी, “यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ” (यूहन्ना ४:१) भन्दा यसको अर्थ उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए भन्ने हुन्छ जुन कुरोलाई यूहन्नाले पछिल्लो पदमा प्रस्ट पारेका छन्, “वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे” (यूहन्ना ४:२) ।

व्यक्तिको पक्षमा मानिसहरूलाई बोल्न पठाइएका नमुनाहरू बाइबलमा हामी थुप्रै पाउँछौँ । आज पनि यस्तो अभ्यास कायमै छ । नेपालको अर्थमन्त्रीले कुनै सम्झौतामा हस्ताक्षर गर्दा त्यो प्रधानमन्त्रीले गरे बराबर नै हुन्छ यद्यपि प्रधानमन्त्री अनुपस्थित हुन सक्छ । कप्तानले तिनको नोकरको चङ्गाइको लागि अरूलाई येशूकहाँ बिन्ती गर्न पठाउँदा तिनी गए बराबर नै थियो । यसरी मत्ती र लूकाको विवरणमा हामी कुनै भुल देख्दैनौँ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/206/)

 

() मरियमका पति योसेफ कसका छोरा थिए याकूबका वा एलीका ?

येशूकी आमा मरियमका पति योसेफ कसका छोरा थिए ? मत्तीको सुसमाचारअनुसार योसेफ याकूबका छोरा थिए (मत्ती १:१६) भने लूकाको विवरणमुताबिक तिनी एलीका छोरा थिए (लूका ३:२३) । वास्तवमा योसेफ कसका छोरा थिए ?

मत्ती र लूका दुवै जना लेखकले येशूको वंशावलीलाई फरक-फरक दृष्टिकोणबाट प्रस्तुत गरेका छन् भनी ख्याल गर्नुपर्छ (मत्ती १:१-१६; लूका ३:२३-३८) । मत्तीको वंशावलीमा येशू योसेफमार्फत आउनुहुन्छ भने लूकाको वंशावलीमा मरियममार्फत । अर्को तरिकाले भन्नुपर्दा, मत्तीले येशूको वैध पिता योसेफको वंशावलीलाई जोड दिएका छन् भने लूकाले येशूकी वास्तविक आमा मरियमको ।

योसेफ पक्कै पनि स्वाभाविक वंशद्वारा याकूब र एली दुवैका छोरा हुन सक्दैनन् । लूकाको सुसमाचारमा एलीले योसेफलाई जन्माए भन्दैन बरु उनी तिनका पिता थिए भन्छ । तब स्वाभाविक व्याख्या यो हो कि योसेफ एलीका ज्वाइँ थिए । तत्कालीन परम्पराअनुसार ज्वाइँलाई छोरा भन्न मिल्थ्यो (१ शमूएल २४:१६ लाई तुलना गरेर हेर्नुहोस्) । तब यो प्रस्ट छ कि योसेफ वास्तवमा याकूबका छोरा थिए र तिनले एलीकी छोरी मरियमसित बिहे गरेकाले तिनी एलीका पनि छोरा भनिए जुन सम्बोधन तत्कालीन संस्कृतिमा स्वाभाविक नै थियो ।  (थप जानकारीको लागिः https://kamaladhikari.com.np/197/)

 

(४) यहूदा इस्करियोत कसरी मरे आत्महत्याबाट वा भुँडी फुटेर ?

मत्तीको विवरणअनुसार यहूदा इस्करियोतले आत्महत्या गर्‍यो (मत्ती २७:१-५) भने प्रेरितको पुस्तकअनुसार त्यसको भुँडी फुट्यो (प्रेरित १:१८) । वास्तवमा यहूदा इस्करियोतको मृत्यु कसरी भयो ?

यहाँ मत्ती र लूकाको विवरणलाई हामीले होसियारीपूर्वक पढ्नु आवश्यक छ । यहूदा खसेनन् भनेर मत्तीले भनेका छैनन् न त यहूदाले आफूलाई झुण्ड्याएनन् भनी लूकाले व्यक्त गरेका छन् । यहाँ एक जनाले एउटै वस्तुलाई कालो र अर्कोले सेतो भनेको अवस्था छैन । दुवै खण्डलाई ध्यान दिएर पढ्दा वास्तवमा ती खण्डहरू एक अर्काको अन्तर्विरोधी नभई परिपूरक छन् ।

यहूदाले आफैलाई हिन्नोमको बेँसीमाथि भएको पहिरोको छेउमा झुण्ड्यायो भनी परम्परागत रूपमा विश्वास गरिएको छ । बेँसीको फेँददेखि त्यो चट्टानको भिर झन्डै चालिस फिटसम्म अग्लो छ, त्यो पनि ठाडै । यहूदाले आफूलाई आत्महत्याको लागि जुन रुखमा बाँधेको थियो त्यो सुकेको हाँगा परेकोले हावाको झोक्काको कारणले त्यो हाँगा भाँचियो वा डोरी चुँडेकोले त्यो भुइँमा पछारियो र परिणाम स्वरूप त्यसका आन्द्रा-भुँडी निस्के भन्ने व्याख्या त्यो भूगोलको संरचनासित पूर्णतः स्वाभाविक छ । सारांशमा भन्नुपर्दा, मत्तीले यहूदाको मृत्युको प्रयासको निम्ति त्यसले अपनाएको विधिलाई अभिलिखित गर्छन् भने लूकाले त्यसको आखिरी नतिजालाई । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/203/)

 

(५) येशू कहाँबाट स्वर्गारोहण हुनुभयोबेथानिया वा जैतून पर्वत ?

येशू कहाँबाट स्वर्ग जानुभयो— बेथानिया (लूका २४:५०-५१) या जैतून पर्वत (प्रेरित १:९-१२) ?

येशू पहिलो शताब्दीको प्यालेस्टाइनमा बाँच्नुभयो । उक्त देशको भूगोलको ज्ञान नहुने व्यक्तिले उहाँको स्वर्गारोहणबारे यी दुईवटा विवरणलाई पढेर बाइबलमा भुल छ भन्ने गलत निष्कर्षमा पुग्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

बेथानिया जैतून पर्वतको पूर्वपट्टि फेदनिर अवस्थित गाउँ थियो । यो गाउँ जैतून पर्वतमा नै पर्दथ्यो (लूका १९:२९) । यो गाउँ यरूशलेमबाट लगभग दुई माइल पूर्वमा थियो ।

म ठैबमा बस्छु जुन ललितपुर जिल्लामा पर्छ । म कहाँ बस्छु ? जवाफमा ठैब र ललितपुर दुवै नै सही छन् । फरक यति मात्र हो कि एउटाले सानो ठाउँलाई जनाउँछ भने अर्कोले ठुलो ठाउँलाई ।

स्वर्गारोहणको बारेमा बताउने दुवै विवरणका लेखक डा. लूकाले दुवै ठाउँलाई ख्रीष्टको स्वर्गारोहणको सामान्य स्थलको रूपमा उल्लेख गरेका छन् । येशू कहाँबाट स्वर्ग जानुभयो भन्ने प्रश्नको उत्तरमा दुवै (बेथानिया र जैतून पर्वत) नै सही छन् । एउटाले सानो क्षेत्रलाई उल्लेख गर्छ भने अर्कोले ठुलो इलाकालाई । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/130/)

 

(६) येशू यस धरतीमा किन आउनुभयो तरवार चलाउन वा शान्ति ल्याउन ?

येशू यस धरतीमा तरवार चलाउन आउनुभयो (मत्ती १०:३४) कि शान्ति ल्याउन (यूहन्ना १४:२७) ?

धर्मशास्त्रको साक्षीलाई हेर्दा येशूले आफ्ना अनुयायीहरूलाई शान्ति प्रदान गर्न चाहनुहुन्थ्यो भन्ने तथ्य अखण्डनीय छ । तलका यी केही पदहरूले यसको पुष्टि गर्छन् । पावलले लेखे, “परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति” (फिलिप्पी १:२) । येशूलाई “शान्तिको राजकुमार” (यशैया ९:६) भनिन्छ । येशू हामीलाई शान्ति दिन चाहनुहुन्छ (यूहन्ना १४:२७) ।

त्यसो भए मत्ती १०:३४ को अर्थ के हो त ? एक अर्थमा येशू कोलाहाल मच्चाउन आउनुभएको थियो भन्ने उद्देश्यलाई पनि इन्कार गर्न सकिँदैन । मत्ती १०:३४ मा येशू आफ्ना चेलाहरूलाई व्याख्या गर्दै हुनुहुन्छ कि कतिपय अवस्थामा सुसमाचारले फुट ल्याउँछ । एउटै परिवारमा छोरोले उहाँमाथि विश्वास गर्न सक्छ जब कि बुबाले नगर्न सक्छ । आमाले विश्वास गर्न सक्छे भने छोरीले इन्कार गर्न सक्छे ।

हामीले उहाँको आगमनको वास्तविक उद्देश्य र उहाँको आगमनले निम्त्याउन सक्ने आसन्न प्रभावबिचको भिन्नतालाई छुट्ट्याउन सक्नुपर्छ । उहाँमाथि विश्वास गरेपछि परमेश्वरका मानिसहरू संसारका मानिसहरूबाट अलग गरिन्छन् । उहाँको आगमनको आखिरी उद्देश्य मानवीय ह्रदय र पृथ्वीमा शान्ति स्थापित गर्नु भए तापनि तत्कालको लागि त्यसले फुट ल्याउन सक्थ्यो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/212/)

 

(७) येशूलाई याकूब र यूहन्नाले बिन्ती चढाए कि तिनीहरूकी आमाले ?

ख्रीष्टको राज्यमा याकूब र यूहन्नालाई उहाँको दाहिने र देब्रे हातपट्टि बस्न दिइओस् भनी याकूब र यूहन्नाले बिन्ती गरे (मर्कूस १०:३५) वा तिनीहरूकी आमाले (मत्ती २०:२०) ?

बाइबल विद्वान्‌हरूले विभिन्न व्याख्याहरूलाई अगाडि सारेका भए तापनि मत्ती र मर्कूसले बेग्लाबेग्लै व्यक्तिहरूलाई जोड दिई उही घटनालाई उल्लेख गरेका छन् भन्ने व्याख्याचाहिँ यस पङ्क्तिकारलाई बढी सम्भाव्यजस्तो लागेको छ । म यसलाई व्याख्या गर्न चाहन्छु ।

मत्तीको विवरणअनुसार प्रस्ट छ कि येशूलाई बिन्ती गर्दा आमाको साथमा दुवै छोरा पनि थिए (पद २०) । त्यसो हो भने तिनीहरूले सामूहिक रूपमा बिन्ती चढाए । मर्कूसले छोराहरूको उल्लेख गरेका छन् तर आमाको उपस्थितिलाई जनाएका छैनन् । यसको अर्थ उनी त्यहाँ थिइनन् भन्ने होइन । मर्कूसले दुई जना दाजुभाइको धृष्टतालाई जोड दिन तिनीहरूले येशूलाई उक्त बिन्ती चढाए भनेका हुन सक्छन् । त्यसैकारण, अन्य चेलाहरू ती दुईसँग रिसाए ।

निष्कर्षमा, दुवै विवरण सही छन् । मत्ती र मर्कूसले फरक-फरक दृष्टिकोणबाट उही घटनालाई प्रस्तुत गरेका हुन् । यी विवरणहरू एक आपसमा अन्तर्विरोधी नभएर परिपूरक छन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/234/)

Facebook Comments

Powered by Youth Circle