आजभन्दा झन्डै २,५०० वर्षअगि इजकिएल अगमवक्ताले टुरोस सहरको विनाशबारे भविष्यवाणी गरेका थिए, “तँ फेरि कहिल्यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु यसो भन्नुहुन्छ” (इजकिएल २६:१४) । यसरी भविष्यवाणी हुँदा भूमध्य सागरको पूर्वी तटमा अवस्थित यो चौपट्टै नामी सहर यति सुरक्षित थियो कि मानवीय दृष्टिकोणबाट यो पराजित हुन नसकिने किसिमको थियो । इतिहासमा अन्य कतिपय सहरहरू नष्ट भएर पनि फेरि निर्मित भएका छन्, तर अगमवक्ताले भनेजस्तै यो प्राचीन टुरोस सहर आजसम्म निर्मित भएको छैन ।[i]
बाइबलका भविष्यवाणीहरू कति साँचा छन् भन्नाका लागि टुरोसको विनाशबारे पूरा भएको भविष्यवाणी केवल एउटा उदाहरण हो । बाइबलमा हामी अचूक रूपमा पूरा भएका कैयौँ भविष्यवाणीहरू पाउँछौँ । बाइबलको एउटै भविष्यवाणी पनि चुकेको छैन । बाइबल परमेश्वरको वचन हो भन्नाका लागि पूरा भएका भविष्यवाणीहरू एउटा दृढ साक्षी हो । अन्य पुस्तकको विपरीत बाइबलमा सैयौँ वर्ष अगाडि बताइएका विशिष्ट भविष्यवाणीहरू पाइन्छन् । भविष्यवाणी उल्लिखित मात्रै छैनन्, तर समय आइपुगेपछि ती अचूक रूपमा पूरा पनि भएका छन्
बाइबल लेखिँदा जम्माजम्मी कतिवटा अगमवाणी थियो होला ? जे. बार्टोन पाइनेले बाइबलमा १८१७ ओटा अगमवाणीको सूची तयार पारेका छन् जसमध्ये पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ ओटा छन् ।[ii] उही लेखकको गणनाअनुसार पूरै बाइबलको २७ प्रतिशत भागले अगमवाणीलाई ओगटेको छ ।[iii] यो भनेको बाइबलको एक-चौथाईभन्दा बढी खण्ड अगमवाणीसँग सम्बन्धित हुनु हो । संसारको अन्य कुनै पुस्तक यस्तो छैन ।
बाइबलीय भविष्यवाणीको समाप्तिको अध्ययनले परमेश्वर मानवीय इतिहासको नियन्त्रक हुनुहुन्छ भनी दृढतापूर्वक पुष्टि गर्छ । भविष्यको बारेमा सबिस्तार ढङ्गमा परमेश्वरबाहेक कसैले बताउन सक्दैन । न शैतान, न त त्यसका दूतहरूलाई भविष्यको विषयमा थाहा छ । यशैया अगमवक्ताले परमेश्वरका यी वचनहरू अभिलिखित गर्दा तिनले हामीलाई प्रस्ट पारिदिएका छन् कि केवल परमेश्वरलाई भविष्यको बारेमा थाहा हुन्छ, “अघि-अघिका पुराना कुराहरूलाई सम्झ । म परमेश्वर हुँ, र अरू कोही छैन । म परमेश्वर हुँ, मजस्तै अरू कोही छैन । आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु । म भन्छुः मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु” (यशैया ४६:९-१०) ।
संसारमा विभिन्न धर्मका धार्मिक ग्रन्थहरू पाइन्छन् । यी ग्रन्थमा पूरा भएका एउटै पनि विशिष्ट भविष्यवाणी पाईंदैन भनी सुक्ष्म जाँचले प्रकट गरेको छ । परमेश्वरबाहेक अन्य कुनै धार्मिक ग्रन्थकार वा दार्शनिकलाई भविष्यको बारेमा ज्ञान नहुने भएकोले तिनीहरूका पुस्तकहरूमा भविष्यबारे असाधारण कुरा नलेखिनु अनौठो कुरो होइन । ग्रिक, रोमीसाथै मध्यपूर्वका उत्कृष्ट पुस्तकहरूसाथै धार्मिक ग्रन्थमा पनि भावी घटना, मानिस वा अभियानको बारेमा कुनै विशिष्ट र सबिस्तार ढङ्गमा वर्णित भविष्यवाणी पाईंदैन । यसको विपरीत बाइबलका परमेश्वर दाबी गर्नुहुन्छ, “हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु । ती हुनभन्दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु” (यशैया ४२:९) ।
“बाइबलमा सैयौँ वर्षअगि भनिएका सैयौँ भविष्यवाणीहरू अक्षरशः पूरा भएका छन् । ख्रीष्टको जन्मको समय (दानिएल ९), सहर (मीका ५:२) र प्रकृति (यशैया ७:१४) को विषयमा पुरानो करारमा भविष्यवाणी गरिएको थियो । यसका अतिरिक्त उहाँको जीवनी, मृत्यु र पुनरुत्थानबारे दर्जनौँ भविष्यवाणीहरू गरिए (यशैया ५३ लाई हेर्नुहोस्) । एदोमको विनाश (ओबदिया १), बेबिलोनमाथि सराप (यशैया १३), टुरोस (इजकिएल २६) र निनवे (नहूम १-३) को विनाश अनि आफ्नो देशमा इस्राएलको फिर्ती (यशैया ११:११) आदिजस्ता अनगिन्ती भविष्यवाणीहरू पनि पूरा भइसकेका छन् । अन्य पुस्तकहरू जस्तैः कुरआन, मोर्मोनको पुस्तकसाथै वेदका अंशहरूले पनि ईश्वरीय प्रेरणाको दाबी गर्छन् । तर यी कुनै पनि पुस्तकमा भविष्यवाणी पाईंदैन । फलतः पूरा भएको भविष्यवाणी बाइबलको अद्वितीयसाथै ईश्वरीय प्रेरणाको एउटा मजबुत सङ्केत हो ।”[iv]
भविष्यवाणीको क्षेत्रमा संसारमा बाइबलजस्तो अर्को कुनै पुस्तक छैन । बाइबलका कैयौँ भविष्यवाणीहरू जस्ताको तस्तै पूरा भइसकेका छन्, केही पूरा हुँदै छन् भने कैयौँ पूरा हुन बाँकी नै छन् ।[v]
सन्दर्भ स्रोतहरूः
[i] कमल अधिकारी, प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (काठमाडौँ: वरदान प्रकाशन, २०११), पृ. सं. ७४ ।
[ii] J. Barton Payne, quoted by Norman L. Geisler, Baker Encyclopedia of Christian Apologetics, p. 609.
[iii] Ibid., p.617.
[iv] Geisler and Nix, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict (Nashville: Thomas Nelson Publishers, 1999), pp.12-13.
[v] यस विषयमा थप जानकारीको लागि कमल अधिकारीद्वारा लिखित पुस्तक प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू पढ्नुहोस् । https://kamaladhikari.com.np/72/