येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन (मर्कूस १३:३२) ?

आफ्नो दोस्रो आगमनको समयबारे बोल्नुहुँदै येशूले भन्नुभयो, “तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न त पुत्रले” (मर्कूस १३:३२) । परमेश्वरको एउटा गुण हो— उहाँ सर्वज्ञानी हुनुहुन्छ अर्थात् उहाँलाई हरेक कुरो थाहा छ । हरेक कुरोभित्र भूत, वर्तमान र भविष्यसाथै वास्तविक र अवास्तविक सबै कुरो पर्छन् । यदि येशू परमेश्वर हुनुहुन्छ भने कसरी उहाँलाई आफ्नो आगमनको समय थाहा नहुन सक्छ ?

येशू उही समयमा परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो । उहाँमा ईश्वरीय र मानवीय दुवै स्वभाव थिए । एकातिर उहाँको जीवनमा पूरा भएका मनग्गे मसीहसम्बन्धी भविष्यवाणीहरू, उहाँको पापरहित जीवन र उहाँको शारीरिक पुनरुत्थानले उहाँको ईश्वरत्वको पुष्टि गर्छन् भने अर्कोतिर उहाँको शारीरिक जन्म, सामान्य हुर्काइसाथै मृत्युले उहाँको मानवताको पुष्टि गर्छन् ।

परमेश्वरको रूपमा येशूलाई आफ्नो आगमनको घडी राम्ररी थाहा थियो, तर मानिसको रूपमा उहाँ त्यस समयबारे अनभिज्ञ हुनुहुन्थ्यो । परमेश्वरको रूपमा उहाँ असीमित हुनुहुन्छ भने मानिसको रूपमा सीमित । मानिसको रूपमा “येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) । तर परमेश्वरको रूपमा उहाँको “वैभव र बुद्धि र ज्ञान कति गहिरो” छ (रोमी ११:३३) ।

त्यसकारण हामी निष्कर्ष निकाल्न सक्छौँ कि उहाँले आफ्नो आगमनको घडीबारे उहाँलाई थाहा थिएन भन्नुहुँदा उहाँले मानवीय दृष्टिकोणबाट बोल्दै हुनुहुन्थ्यो । यस्तो कथन उहाँ परमेश्वर हुनुहुन्छ भन्ने इन्कार होइन, बरु उहाँ मानव हुनुहुन्छ भन्ने स्वीकार हो ।

Facebook Comments

Powered by Youth Circle