मृत्युपश्चात् पुनरुत्थानअगि येशू कहाँ जानुभयो ?

क्रूसमा टाँगिएका दुई जना अपराधीमध्ये पश्चात्ताप गर्नेचाहिँलाई येशूले प्रतिज्ञा गर्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) । यसको अर्थ हुन्छ कि येशू मर्नुभएको त्यस शुक्रबार उहाँ स्वर्गलोकमा जानुभएको थियो । तर प्रश्न यो हो— त्यस बेला स्वर्गलोक कहाँ थियो ?

पुरानो करारमा मरेकाहरूको वासस्थानलाई उल्लेख गर्न हिब्रू शब्द सिओल (ग्रिकमा हेदिस) को प्रयोग गरिएको छ जसलाई नेपाली बाइबलमा धेरै पटक चिहान भनी अनुवाद गरिएको छ । यो आत्माहरूको राज्य थियो । यो एउटा अस्थायी वासस्थान थियो । उद्धार पाएका र नपाएका दुवै थरीका मानिसहरू मरेपछि यहीँ जान्थे । आदमको समयदेखि येशूको स्वर्गारोहणसम्म सिओल दुईवटा भागमा विभाजित थियोः आनन्दको स्थान र पीडाको स्थान । धर्मीहरू आनन्दको स्थानमा जान्थे भने अधर्मीहरू पीडाको स्थानमा । धर्मीहरूको स्थानलाई “अब्राहामको काख” (लूका १६:२२ नेपाली बाइबलमा “अब्राहामको सँग”) वा “स्वर्गलोक” (लूका २३:४३) पनि भनिन्छ । यी दुईवटा क्षेत्रको बिचमा “अति गहिरो धाँदो” थियो (लूका १६:२६) । येशूको भनाइअनुसार यो ठाउँ पृथ्वीको गर्भमा पर्थ्यो (मत्ती १२:४०) ।

तर जब येशू ख्रीष्ट मृतकहरूबाट पुनरुत्थान हुनुभयो उहाँले हेदिसको माथिल्लो भागलाई स्वर्गमा लैजानुभयो भनी एफिसी ४:८-१० ले अङ्कित गर्छ । यसरी अहिले हेदिसको माथिल्लो भाग खाली छ । मण्डली युग अर्थात् वर्तमान समयमा कोही विश्वासी मर्छ भने ऊ पुरानो करारका सन्तहरूको विपरीत सिधै प्रभुकहाँ अर्थात् तेस्रो स्वर्गमा जान्छ (फिलिप्पी १:२३) । अहिले मर्ने गैरख्रीष्टियानहरू अझै हेदिसको तल्लो भागमा नै जान्छन् । बाइबलले हामीलाई हेदिसको तल्लो भागमा कुनै परिवर्तन आएको सङ्केत दिँदैन ।

निष्कर्षमा, मृत्युपश्चात् पुनरुत्थानअगि येशू स्वर्गलोकमा जानुभयो । येशूको स्वर्गारोहणअगि स्वर्गलोक र स्वर्ग फरक-फरक ठाउँहरू थिए । तर उहाँ स्वर्गारोहण हुनुहुँदा उहाँले स्वर्गलोकलाई तेस्रो स्वर्गमा लिएर जानुभयो । वर्तमान समयमा मर्ने विश्वासीको आत्मा सिधै तेस्रो स्वर्गमा जान्छ भने अविश्वासीको आत्मा अझै पनि हेदिसको तल्लो भागमा नै जान्छ ।

Facebook Comments

Powered by Youth Circle