प्राकृतिक ईश्वरशास्त्र भनेको के हो र यो किन महत्त्वपूर्ण छ  ?

प्राकृतिक ईश्वरशास्त्र ईश्वरशास्त्रको त्यो शाखा हो जसले बाइबल जस्ता विशेष प्रकाशद्वारा भन्दा पनि तर्क, प्रकृति र मानवीय अनुभवद्वारा परमेश्वरलाई बुझ्ने कोसिस गर्दछ । सरल भाषामा भन्नुपर्दा यसले हाम्रो वरपरको संसारलाई हेरेर हामी परमेश्वरको बारेमा के कति जान्न सक्छौँ भनेर अध्ययन गर्दछ । प्राकृतिक ईश्वरशास्त्रमा प्रकृतिको क्रम, सुन्दरता, संरचना र सुगमता आदिबारे अध्ययन गरिन्छ । के विश्वले सृष्टिकर्तालाई औँल्याउँछ ? के नैतिक मूल्यमान्यताले नैतिकदातालाई देखाउँछ ? के प्रकृतिमाविद्यमान रचनाले सोद्देश्यपूर्ण कामलाई अङ्कित गर्दछ ?

ऐतिहासिक रूपमा प्राकृतिक ईश्वरशास्त्रको जरा ख्रिस्टियन विचारमा गडेको पाइन्छ । बाइबल आफैँले पुष्टि गर्छ कि सृष्टिद्वारा परमेश्वरले आफ्ना बारेमा केही कुरा प्रकट गर्नुभएको छ । भजनसङ्ग्रह १९:१ ले घोषणा गर्छ, “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ र तारामण्‍डलले उहाँका हातको सिपको घोषणा गर्छ ।” त्यस्तै गरी प्रेरित पावल लेख्छन् कि परमेश्वरको “अदृश्‍य गुण अर्थात्‌ उहाँको अनन्‍त शक्‍ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्‌ङै देखिएको छ” (रोमी १:२०) । अगस्टिन, थोमस अक्विनास र पछिल्ला विचारकहरूले तर्क र अवलोकनको प्रयोग गरी परमेश्वरमाथि गरिने विश्वास अन्धविश्वासमा नभई तर्क र वास्तविकतामा आधारित छ भनी उल्लेख गरे ।

प्राकृतिक ईश्वरशास्त्रले धर्मशास्त्रलाई प्रतिस्थापन गर्दैन भनी बुझ्नु जरुरी छ । बरु यसले त विशेष प्रकाशको पूरकका रूपमा काम गर्दछ । प्रकृतिले हामीलाई परमेश्वरको अस्तित्व, शक्ति र बुद्धि देखाउन सक्छ तर यसले हामीलाई येशू ख्रीष्टमा पाइनेमुक्ति, अनुग्रह र छुटकाराको पूर्ण कथा भने बताउन सक्दैन । त्यसका लागि बाइबल आवश्यक छ । प्राकृतिक ईश्वरशास्त्रले आधार तयार पार्छ जसलाई प्रकटित धर्मशास्त्रले पूरा गर्छ ।

आज प्राकृतिक ईश्वरशास्त्र किन महत्त्वपूर्ण छ त ? पहिलो, वैज्ञानिक ढङ्गमा सोच्ने संसारसित सञ्चार गर्ने यो शक्तिशाली तरिका हो । आज धेरै मानिस विज्ञान, तर्क र प्रमाणको सम्मान गर्छन् जबकि धार्मिक अधिकारको बारेमा भने आशङ्का व्यक्त गर्छन् । प्राकृतिक ईश्वरशास्त्रले तिनीहरूले खोजेको कुरो दिने कोसिस गर्दछ । विश्वको सुरुआतबारे गरिने अध्ययन, व्यवस्थित संरचना र प्राकृतिक नियमहरूको सुगमता जस्ता तर्कले देखाउँछन् कि परमेश्वरमाथि गरिने विश्वास कुनै अन्धविश्वास नभई बौद्धिक विश्वास हो । विज्ञान र विश्वासलाई शत्रुका रूपमा हेर्नुको सट्टा प्राकृतिक ईश्वरशास्त्रले तिनलाई सहयोगीका रूपमा प्रस्तुत गर्दछ ।

दोस्रो, प्राकृतिक ईश्वरशास्त्रले ख्रिस्टियन रक्षाशास्त्रमा महत्त्वपूर्ण भूमिका खेल्छ । बहुलवादी र धर्मनिरपेक्ष समाजमाख्रिस्टियनहरूले प्रायः बाइबललाई आधिकारिक रूपमा स्वीकार नगर्ने मानिसहरूसँग अन्तरक्रिया गर्नुपर्ने हुन्छ । प्राकृतिक ईश्वरशास्त्रले धर्मशास्त्रलाई पहिले नै अपिल नगरी अर्थपूर्ण संवादलाई अनुमति दिने काम गर्दछ । साझा मानवीय तर्क अनिनैतिक उत्तरदायित्व र सौन्दर्य जस्ता विश्वव्यापी अनुभवको प्रयोग गरी यसले विश्वास तर्कहीन वा बौद्धिक विरोधी हो भन्ने गलत धारणा हटाउन मद्दत गर्दछ ।

तेस्रो, प्राकृतिक ईश्वरशास्त्रले विनम्रता र उपासनालाई प्रोत्साहन गर्दछ । विश्वासीले विश्वको विशालता, जीवको जटिलता र सृष्टिको क्रमबारे चिन्तन गर्दा यसले उसलाई सृष्टिकर्ताप्रति विस्मय र कृतज्ञतातर्फ डोर्याउँछ । यसले ख्रिस्टियनलाई सम्झना दिलाउँछ कि विश्वास वास्तविक संसारबाट अलग छैन तर यसैमा गहिरो गरी जरा गाडिएको छ ।

निष्कर्षमा प्राकृतिक ईश्वरशास्त्र आज महत्त्वपूर्ण छ किनभने यसले विश्वास र तर्कका बिचमा पुल निर्माणको काम गर्दछ ।आशङ्का र प्रश्नको युगमा प्राकृतिक ईश्वरशास्त्रको अध्ययनले एक बुद्धिमान्, शक्तिशाली र सोद्देश्यपूर्ण अस्तित्वलाईऔँल्याउँछ जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ ।

Facebook Comments

Powered by Youth Circle