के निषेधित फल खाएको दिनमा नै आदम मरे (उत्पत्ति २:१६-१७) ?

अदनको बगैँचामा परमेश्वरले आदमलाई गम्भीर चेताउनी दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१६-१७) । निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो भनी परमेश्वरले भविष्यवाणी गर्नुभए तापनि उत्पत्तिको विवरणअनुसार तिनी शारीरिक रूपमा तुरुन्तै मरेनन् । परमेश्वरको आज्ञा उल्लङ्घन गरेपछि तिनले छोराछोरीहरू जन्माए अनि तिनी ९३० वर्षको उमेरमा मरे (उत्पत्ति ५:४-५) । के आदम तुरुन्तै नमरेकाले परमेश्वरको भविष्यवाणी चुकेको हो त ? कदापि होइन ।

पवित्र धर्मशास्त्र बाइबललमा तीन किसिमका बेग्लाबेग्लै मृत्युको उल्लेख भएको पाइन्छ— शारीरिक मृत्यु, आत्मिक मृत्यु र अनन्त मृत्यु ।

शरीरबाट आत्माको विच्छेद हुनुलाई शारीरिक मृत्यु भनिन्छ । शारीरिक मृत्यु व्यक्तिको अन्त्य होइन भन्ने विषयमा पुरानो करारमा परमेश्वरका जनहरू सचेत थिए । अब्राहामको मृत्यु भएपछि तिनी “आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए” (उत्पत्ति २५:८) । यसले मृत्युपश्चात् तिनको आत्माको निरन्तर अस्तित्वलाई अङ्कित गर्दछ । पुरानो करारमा मरेका आत्माहरू पाताल भन्ने ठाउँमा जान्थे जुन मृतकहरूको वासस्थान थियो ।

दोस्रो किसिमको मृत्युलाई आत्मिक मृत्यु भनिन्छ । परमेश्वरबाट आत्मिक रूपमा विच्छेद हुनु नै आत्मिक मृत्यु हो (एफिसी २:१) । यो येशू ख्रीष्टमाथि विश्वास नगरेको अवस्था हो ।

तेस्रो किसिमको मृत्युलाई अनन्त मृत्यु भनिन्छ । परमेश्वरबाट सदाको निम्ति विच्देछ हुनु नै अनन्त मृत्यु हो । यसलाई दोस्रो मृत्यु पनि भनिन्छ (प्रकाश २१:८) ।

मृत्युका किसिमहरूबारे बाइबलीय दृष्टिकोणलाई हेरिसकेपछि अब हाम्रो प्रश्नमा फर्कौं— के आदम त्यही दिनमा मरेनन् त ? जुन दिन आदमले त्यो निषेधित फल खाए तिनी आत्मिक रूपमा तुरुन्तै मरे । तिनीलगायत सम्पूर्ण मानव-जातिमाथि शारीरिक मृत्युको दण्डाज्ञा पर्‍यो । परमेश्वरले आफ्नो अनुग्रहमा यसलाई तुरुन्तै कार्यान्वयन भने गर्नुभएन ।

Facebook Comments

Powered by Youth Circle