के अन्नका बाला टिपेर खाँदा येशूका चेलाहरूले शबाथ-दिनको उल्लङ्घन गरे (मत्ती १२:१-२) ?

मत्ती १२:१-२ मा लेखिएको छ, “त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो । उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे । तर फरिसीहरूले यो देखेर उहाँलाई भने, ‘हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्’ ।” के शबाथमा अन्न टिपेर खाँदा फरिसीहरूले आरोप लगाएझैँ येशूका चेलाहरूले शबाथको उल्लङ्घन गरे त ?

भोकाएको बेलामा शबाथको दिनमा अन्नको बाला टिपेर खाँदा येशूका चेलाहरूले परमेश्वरको व्यवस्थाको उल्लङ्घन गरेनन् । तर निश्चय नै तिनीहरूले फरिसीहरूको व्यवस्था भने तोडे । परमेश्वरको व्यवस्थामा फरिसीहरूले आफ्ना परम्पराहरू थपेका थिए जसको लागि येशूले तिनीहरूलाई बारम्बार हप्काउनुभयो (मत्ती ५:४३ र १५:६ लाई पनि हेर्नुहोस्) । पुरानो करारअनुसार शबाथ-दिनमा दया र आवश्यक कामहरू गर्न मिल्थ्यो । यस खण्डमा येशूका चेलाहरूले अन्नको कटनी गरिरहेका छैनन् बरु तिनीहरूले केवल अन्नको बाला टिपेर खाँदै छन् जुन कार्य गर्न पुरानो करारको व्यवस्थाले अनुमति दिएको थियो (व्यवस्था २३:५) ।

शबाथको विषयमा येशूले भन्नुभएको छ, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन” (मर्कूस २:२७) । उहाँ नै शबाथका प्रभु हुनुहुन्छ भनेर पनि उहाँले दाबी गर्नुभएको छ । येशूको भनाइको अर्थ यही हो कि शबाथ उच्चतम नियम थिएन किनकि न्याय, दयाजस्ता विषयहरू उच्च कोटीमा पर्छन् (मत्ती २३:२३ लाई हेर्नुहोस्) । येशू परमेश्वरका पुत्र हुनुहुन्छ । तसर्थ उहाँ शबाथको नोकर हुनुहुन्थेन, उहाँ त यसको मालिक हुनुहुन्थ्यो । उहाँले यसको सृजना गर्नुभयो र उहाँले चाहनुभएको खण्डमा यसलाई बद्लन सक्नुहुन्थ्यो जस्तो उहाँले पछि गर्नुभयो ।

यसरी हामी देख्छौँ कि फरिसीहरूले येशूका चेलाहरूलाई गलत अभियोग लगाएका थिए । येशू र उहाँका चेलाहरू नभई फरिसीहरू गलत थिए ।

Facebook Comments

Powered by Youth Circle