कयिनकी पत्नी को थिइन् (उत्पत्ति ४:१७) ?

बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन र तिनका भाइ हाबिल जन्मे । कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए र आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति ४:१७) । तब स्वाभाविक प्रश्नको उदय हुन्छ— कयिनले कहाँबाट आफ्नी पत्नी पाए ? को हुन् उनी ?

कयिन र हाबिलका अतिरिक्त आदम र हव्वाबाट तेस्रो छोरो शेतसाथै अरू छोराछोरीहरू पनि जन्मेका थिए भनी बाइबलले हामीलाई बताउँछ, “शेतको जन्‍म भएपछि आदम आठ सय वर्षसम्‍म बाँचे, र तिनका अरू छोराछोरीहरू जन्‍मे” (उत्पत्ति ५:४) । निश्चय नै कयिनकी पत्नी उक्त पदमा उल्लेख भएका छोरीहरूमध्ये एक थिइन् वा कयिनका भतिजीहरूमध्ये कोही एक जना थिइन् । यस्तो वैवाहिक सम्बन्ध सुरुमा नितान्त आवश्यक थियो । मानव-जातिको यस प्रारम्भिक चरणमा त्यहाँ अर्को कुनै परिवार नभएकोले त्यस्तो वैवाहिक सम्बन्ध अनुचित थिएन न त हानिकारक नै । निश्चय नै हाडनाता पर्ने व्यक्तिहरू बिचको यौन सम्बन्ध खतरनाक हुन्छ किनकि वंशाणुमा परिवर्तन गर्ने गुणहरू आमाबाबु दुवैबाट आए भने अपाङ्ग, रोगीसाथै मन्दबुद्धिको सन्तान जन्मने सम्भावना हुन्छ । तर आदम र हव्वा दुवै नै सिधै परमेश्वरबाट बनेका थिए । तसर्थ तिनीहरूबाट परिवर्तन गर्ने त्यस्ता खालका जिनहरू सर्न सक्ने सम्भावना थिएन । औषधि विज्ञानको दृष्टिकोणबाट पनि मानव-जातिको त्यस प्रारम्भिक चरणमा एउटै परिवारका सदस्यहरूबिचको वैवाहिक सम्बन्ध हानिकारक थिएन । यदि यो सम्बन्ध गलत वा हानिकारक हुन्थ्यो भने परमेश्वरले यसलाई अनुमति दिनुहुन्नथ्यो । सारा संसारलाई सृष्टि गर्नुहुने परमेश्वरले संसारमा मानिसहरू वृद्धि हुनको लागि यस सम्बन्धलाई अनुमति दिनुभयो । तर पछि मोशाको व्यवस्थामा परमेश्वरले बहिनी वा नजिकैको नातेदारसित विवाह गर्न निषेध गरिदिनुभयो ।

तब यो प्रस्ट छ कि मानव-जातिको फैलावटको निम्ति परमेश्वरले यस अवस्थालाई अनुमति दिनुभयो जुन बेला यसको नितान्त आवश्यक थियो र त्यस बेला यसलाई अनैतिक कार्यको रूपमा हेरिँदैनथ्यो न त यो हानिकारक नै थियो ।

Facebook Comments

Powered by Youth Circle