२०२४ लाई फर्केर हेर्दा

ख्रिस्टाब्द १८९७ मा जोनसन ओटम्यानद्वारा रचित ‘आशिष् गन’ नामक भजनलाई नेपाली भाषामा पनि अनुवाद गरिएको छ (ख्रीष्टीय भजन ३०४) । ख्रिस्टियन जगत्‌मा परिचित यस भजनले विश्वासीहरूलाई परमेश्वरले दिनुभएका आशिष्‌बारे मनन गर्न प्रोत्साहन दिन्छ । बाइबलअनुसार हरेक असल दान परमेश्वरबाट आउँछ “हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ” (याकुब १:१७) । निस्सन्देह, २०२४ मा परमेश्वरबाट तपाईँ हामीले मनग्गे आशिष् पाएका छौँ । यहाँ म बुँदागत रूपमा आफूले पाएका केही आशिष्‌को उल्लेख गरी उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु ।

१. ३८ ओटा पुस्तक पढेर सकेँ

समाजशास्त्री रोड्नी स्टार्कद्वारा लिखित ‘ख्रिस्टियमतको उदय’ नामक पुस्तक पढेर नयाँ वर्ष २०२४ को शुभारम्भ गरेको थिएँ । वर्षको अन्त्यसम्म आइपुग्दा जम्माजम्मी ३८ ओटा पुस्तक पढेर सिद्धयाएँ । यी किताबका सबै पृष्ठलाई गन्दा १०,१०७ हुन्छ । दैनिक एक घण्टा पढ्ने आफ्नो आदतअनुसार यो वर्ष कम्तीमा ३६६ घण्टा पुस्तक पढ्नमा लगानी गरेँ । पुस्तकका प्रायजसो विषयवस्तुहरू वैज्ञानिक खोजहरूसित सम्बन्धित थिए यद्यपि नेपाली व्याकरणसित सम्बन्धित आधा दर्जनभन्दा बेसी पुस्तक पनि पढेँ ।

२०१५ भन्दाअगि कतिवटा पुस्तक पढेँ त्यसको कुनै अभिलेख राखिनँ तर उक्त सालदेखि रेकर्ड राख्न थालेँ । २०२४ को अन्त्यसम्ममा आइपुग्दा २५५ ओटा पुस्तक पढेर सिद्ध्याएँ । यी सबै पुस्तक पढेर सक्न मलाई २,३५४ घण्टा लाग्यो । यी सबै पुस्तकमा जम्माजम्मी ६६,१४१ पृष्ठ छन् । कुनै काम नगरी दिनरात निरन्तर रूपमा पढ्ने हो भने तपाईँलाई यी सबै पुस्तक पढ्न झन्डै १०० दिन लाग्छ ।

२. १३ ओटा जिल्लामा पुगेर वचन सिकाएँ

१० जनवरीमा ललितपुरस्थित हाङकुक होटेलमा उपस्थित झन्डै ५० जना पास्टर तथा अगुवालाई सिकाएसँगै यस वर्षको सिकाइ यात्राको थालनी भयो । आफूले अध्यापन गर्ने नियमित बाइबल स्कुल तथा कलेजहरूका अतिरिक्त बाँके, सिन्धुली, महोत्तरी, सुनसरी, धादिङ, बर्दिया, मकवानपुर, काभ्रेपलान्चोक, कैलाली, कन्चनपुर, नवलपुर र काठमाडौँमा पुगेर प्रभुको वचन सिकाउन पाउँदा आफैँलाई पनि सिक्ने अवसर मिल्यो । मैले सिकाउने विषय मूलत: अपोलोजेटिक्स अर्थात् रक्षाशास्त्रसित सम्बन्धित भए तापनि सुव्यवस्थित ईश्वरशास्त्र र विश्वका धर्महरू पनि मेरा शिक्षणका हाताभित्र पर्छन् । यो वर्ष सिन्धुली र काभ्रेपलान्चोकमा पहिलो पटक सिकाउने अवसर मिल्यो यद्यपि अन्य जिल्लाहरूमा भने विगतका वर्षहरूमा पनि पुगेको थिएँ । यी तालिममा जम्माजम्मी करिब ७७० जना पास्टर, अगुवा तथा युवा सहभागी भएका थिए । अनलाइन शिक्षण अर्को अनुभव थियो ।

३. ५ ओटा किताब अनुवाद गरेँ

दक्षिण भारतस्थित बाइबल कलेजमा विद्यार्थी छँदादेखि नै मैले अनुवादमा रुचि लिँदै आएको थियो । हालसम्म मेरा अनूदित पुस्तकपुस्तिकाहरूको सूचीमा ८० ओटा रचना नाघिसकेको छ । यो वर्ष ५ ओटा पुस्तक अनुवाद गरेर सकेँ । यी रचनामा १ लाख ६८ हजारवटा शब्द छन् । एउटा पुस्तक सुव्यवस्थित ईश्वरशास्त्र थियो, अर्को नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गरिएको कृति थियो भने बाँकी चाहिँ पाठ्यपुस्तकसित सम्बन्धित सामग्री थिए ।

४. २१ ओटा पुस्तक सम्पादन गरेँ

यो वर्ष सम्पादन/प्रुफरिडिङमा उल्लेखनीय समय बित्यो । यो मलाई मनपर्ने एउटा क्षेत्र पनि हो । जम्माजम्मी २१ ओटा पुस्तक सम्पादन/प्रुफरिडिङ गरेर सकेँ । यी पुस्तकमा करिब ५ लाख ८० हजारवटा शब्द छन् । यो वर्ष ‘जिउनुको कला’ नामक पुस्तकबाट सुरु भएको सम्पादनको यात्रा ‘परिवर्तित जीवनहरू : ९० जना ख्रिस्टियनका रोचक तथा प्रेरणादायी जीवन गवाही’ नामक पुस्तकमा आएर टुङ्गियो । नेपालदेखि भारत हुँदै युकेसम्मका कृतिहरू सम्पादन गर्ने सुअवसर मिल्यो ।

हालसम्म सम्पादन/प्रुफरिडिङको सूचीमा २०० ओटा पुस्तक पुगेको छ । यी सबै रचनामा ४० लाखभन्दा बेसी शब्द छन् ।

५. १२ औँ पुस्तक प्रकाशित गरेँ

ख्रिस्टाब्द २०११ मा ‘बाइबल, विज्ञान र परमेश्वर’ शीर्षकमा मेरो पहिलो पुस्तक छापिएसँगै पुस्तक लेखन तथा प्रकाशन यात्राको शुभारम्भ भयो । २०१८ देखि हरेक साल कम्तीमा एउटा पुस्तक प्रकाशित हुँदै आएको छ । यो वर्ष अर्थात् २०२४ मा ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ प्रकाशित भयो र यो मेरो १२ औँ कृति हो । यस कृतिमा तेर्‍हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् र यी खोजका लागि १०९ जना आविष्कारकले योगदान दिएका छन् । तीमध्ये ६६% आविष्कारकसहित ख्रिस्टियन पहिलो स्थानमा छ ।

६. ख्रिस्टियन लेखकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सुअवसर मिल्यो

मेरा लागि थाइल्यान्डको यात्रा पहिलो पटक थियो । यो लेखकहरूको भेला भएकाले म उत्साही नहुने त कुरै भएन । दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका ख्रिस्टियन लेखक, सम्पादक, प्रकाशक तथा प्रकाशन गृहका कर्मचारीहरू भेला भएका थिए । एमएआई अर्थात् मिडिया एसोसियट्स इन्टरनेसनलको क्षेत्रीय शाखा एमएआई एसियाद्वारा सम्मेलन आयोजना गरिएको थियो । पाँच दिनको कार्यक्रम सुबर्नभुमी अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ किलोमिटर टाढा अवस्थित एसिया होटलमा आयोजना गरिएको थियो । कार्यक्रममा २० भन्दा बढी देशका करिब १०० जना सहभागी भएका थिए ।

७. बाइबल संशोधन टिममा सहभागी भएँ

कार्यक्रमका लागि सिन्धुलीतर्फ यात्रा गरिरहँदा नेपाल बाइबल सोसाइटीका कार्यकारी निर्देशक अर्जुन काप्रीले फोनद्वारा बाइबल संशोधन टिममा आउन निमन्त्रणा दिए । मेरा लागि यो निकै खुसीको खबर थियो । हाल हामीले प्रयोग गरिरहेको ‘पवित्र बाइबल’ मा हिज्जेसम्बन्धी हजारौँ त्रुटि छन् भन्दा तपाईँ छक्क पर्नुपर्दैन । आधुनिक नेपाली भाषा विज्ञानलाई ध्यानमा राख्दै टिमले निर्देशिका बनाई काम गरिरहेको छ र अब संशोधित भई प्रकाशित हुने बाइबलले प्राय: यी सबै ‘त्रुटि’ लाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । टिमको सदस्य हुन पाउँदा म आफैँलाई आभारी ठान्दछु ।

८. रेडियोबाट वचन बोलेँ

रेडियोमा बोल्न थालेको पनि झन्डै १० वर्ष भएछ । ललितपुरको गोदावरीस्थित रेडियो पर्यावरण १०४.२ मेगाहर्जबाट हरेक बुधबार बेलुका ७ देखि साढे ७ बजेसम्म प्रसारण हुने ‘आशाको जीवन’ कार्यक्रममा विविध विषयमा बोलेँ र यो वर्ष अर्थात् २०२४ मा लोकतन्त्र, विज्ञान, कला, साहित्य, कानुन, परोपकार जस्ता क्षेत्रहरूमा ख्रिस्टियनहरूको योगदान असाधारण छ भन्नेदेखि लिएर केही ख्रिस्टमस विशेषाङ्क प्रस्तुत गरेँ ।

९. आफ्नो वेबसाइटमा १६ ओटा आर्टिकल प्रकाशित गरेँ

आफ्नो व्यक्तिगत वेबसाइटमा यस वर्ष तुलनात्मक रूपमा थोरै लेख प्रकाशित भयो । हालसम्म विविध विषयवस्तुलाई सम्बोधन गर्दै यस वेबसाइटमा ६३७ ओटा लेख प्रकाशित भएका छन् जसमध्ये यो वर्ष योसहित केवल १६ ओटा छापिए । यो वर्ष प्रकाशित लेखहरू मूलत: येशूको जीवनको ‘पवित्र हप्ता’ सित सम्बन्धित छन् ।

१०. कठिनाइमा परमेश्वरको सुरक्षाको महसुस गरेँ

परमेश्वरको राज्य बिस्तार गर्ने जस्तो गरिमामाय कार्यको हिस्सा बनी विविध ठाउँमा पुग्ने क्रममा कठिन घडीहरूको पनि सामना गर्नुपर्ने हुन्छ र यो मेरा लागि कुनै नौलो अनुभव भने होइन । २०२४ मा अनुभव गरेका दुईवटा कठिन क्षणमा उहाँको सुरक्षाको स्मरण गर्न चाहन्छु :

क. गत सेप्टेम्बरको अन्त्यतिर परेको अविरल झरीले देशका विभिन्न ठाउँमा बितन्डा मच्चाएको थियो । म धनगढीदेखि काठमाडौँसम्म हवाई यात्रा गर्दै थिएँ । आकाश पूरै बादलले ढाकिएको थियो, कतै जमिन देखिएको थिएन । प्रतिकूल मौसमका कारण विमान अस्वाभाविक रूपमा हल्लिएको थियो । धेरै पटक मनमनै ‘हे प्रभु’ भन्दै थिएँ । काठमाडौँ उपत्यका प्रवेश गरेपछि बल्ल जमिन देखियो । मन ढुक्क भयो । हाम्रो विमान सकुशल अवतरण भयो । मेरा जीवनको ६६ औँ फ्लाइट अविस्मरणीय रह्‍यो ।

ख. थाइल्यान्डमा लेखकहरूको सम्मेलन सकेर हामी समुद्रमा रमाउन गयौँ । त्यसै क्रममा म सवार डुङ्गा पल्टियो । शिरदेखि पाउसम्म निथ्रुक्कै भिजे तापनि कुनै क्षति भने भएन । लाइफज्याकेट लगाएको थिएँ । पौडेर पुन: डुङ्गा पक्रन सकेँ ।

हामीले हर दिन परमेश्वरबाट हावा, पानी, घामलगायत अनगन्ती आशिष् पाएका हुन्छौँ । वर्षभरि उहाँले दिनुभएका ती आशिष्‌बारे मनन गरी उहाँप्रति धन्यवादी हुने यो एउटा उपयुक्त समय हुन सक्छ । “हे परमप्रभु, म आफ्‍ना सम्‍पूर्ण हृदयले तपाईँको प्रशंसा गर्ने छु, … तपाईँको अचुक प्रेम र विश्‍वसनीयताको निम्‍ति तपाईँका नाउँमा धन्‍यवाद दिने छु किनभने तपाईँले आफ्‍नो नाउँ र आफ्‍नो वचन सबै कुरामाथि उच्‍च पार्नुभएको छ” (भजन १३८:१-२) ।

Facebook Comments

Powered by Youth Circle