सबलहरूले मात्र नभई दुर्बलहरूले पनि हामीलाई सिकाउन सक्छन् । यहाँ त्यस्ता ७ जना दुर्बल व्यक्तिहरू अर्थात् फरक क्षमता भएकाहरूको बारेमा चर्चा गरिएको छ जो हाम्रा लागि प्रेरणादायी छन् ।
(१) निक भुजिकिक
४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए जसलाई मेडिकल भाषामा टेट्रामेलिया सिन्ड्रोम भनिन्छ । जन्मपश्चात् नर्सले तिनलाई आमाको सामु ल्याउँदा आमाले तिनलाई हेर्नसमेत इन्कार गरेकी थिइन् । अन्ततः निककी आमा र बुबाले आफ्नो छोरोको अवस्थालाई स्वीकार गरे र त्यसलाई “तिनीहरूको जीवनमा परमेश्वरको योजना” को रूपमा ग्रहण गरे ।
एक दिन आमाले निकलाई अखबारमा प्रकाशित कुनै एक जना अपाङ्गता भएको मानिस देखाइन् जसले तिनलाई हौसला मिलेको थियो । त्यसपछि तिनले आफ्नो प्रार्थाना गर्ने समूहमा आफ्नो मुख खोल्न थाले । २१ वर्षको उमेरमा तिनले स्नातक पुरा गरे ।
ख्रिस्टाब्द २००५ मा निकले लाइफ विदआवट लिम्ब्स नामक अन्तर्राष्ट्रिय नाफारहित संस्था र सेवाकार्य स्थापित गरे । त्यसको दुई वर्षपछि तिनले अर्को कम्पनीको थालनी गरे । एउटा लघु फिल्ममा नायकको भूमिकामा देखा परेका निकलाई त्यसको सर्वोत्कृष्ट अभिनेताको पुरस्कार दिइएको थियो । निक नयाँ जन्म पाएका ख्रीष्टियान हुन् ।
ख्रिस्टाब्द २००६ मा निक अमेरिका प्रस्थान गरे र २०१२ मा केनी मियाहरासित वैवाहिक बन्धनमा बाँधिए । यी दम्पत्तिलाई परमेश्वरले ४ सन्तान दिनुभएको छ ।
२०१० मा प्रकाशित निकको पहिलो पुस्तककाई ३० ओटाभन्दा बेसी भाषामा अनुवाद गरिएको छ । तिनका डीभीडीसाथै लघु फिल्म बजारमा पाइन्छन् । तिनका अन्य कृतिहरू पनि प्रकाशित छन् । आज दुनियाँमा निक ख्रीष्टियान प्रचारक र प्रेरणादायी वक्ताको रूपमा परिचित छन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/155/)
(२) फेन्नी क्रज्बी
ख्रिस्टाब्द १८२० मा फेन्नीको जन्म अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । उनी एक वर्ष पुग्न नपाउँदै उनका पिता जोनको मृत्यु भयो, तर उनकी आमा मर्सी भने ९१ वर्षसम्म बाँचिन् ।
फेन्नी ६ हप्ताको पुग्दा उनको आँखामा केही समस्या देखा पर्यो । घरेलु डाक्टरको अनुपस्थितिमा कुनै घुमन्ते डाक्टरले उनको उपचार गर्दा उनले सदाको निम्ति आँखाको ज्योति गुमाउनुपर्यो । तर आफू दृष्टिविहीन भएकोमा उनले कहिल्यै पछुतो गरिनन् ।
१६ वर्षको उमेरमा फेन्नी दृष्टिविहीनहरूका निम्ति खोलिएको न्युयोर्क इन्स्टिच्युटमा भर्ना भइन् जहाँ उनले उत्कृष्ट शिक्षा हासिल गरिन् । पछि उनी त्यहीँको शिक्षिका बनिन् । २० नोभेम्बर १८५० मा उनले नयाँ जन्म पाएकी थिइन् ।
“सुसमाचारीय भजन लेखकहरूकी रानी” को उपनाम पाएकी फेन्नीका भजनहरू करोडौँको सङ्ख्यामा छापिएका छन् । प्रशंसाले ओतप्रोत उनका भजनहरू नेपालीलगायत विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् । केही प्रकाशकहरूले उही नाउँबाट मनग्गे भजनहरू छाप्न हिच्किचाएकाले जीवनमा उनका झण्डै २०० ओटा छद्मभेषी नाउँ थिए । उनले १,००० भन्दा बेसी सेकुलर कविताहरू पनि रचिन् । उनका चारवटा कविता सङ्ग्रहसाथै दुईवटा आत्मकथा प्रकाशित छन् ।
संसारमा परिवर्तन ल्याउन चाहनेहरू र जीवनमा सफलता हासिल गर्न चाहनेहरूले सम्भावनाहरूलाई हेर्छन्, आफ्ना कमजोरीहरूलाई होइन । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/159/)
(३) एरिक वेहेनमाएर
“ख्रीष्टमा हामीले प्राप्त गर्ने कुरोको कुनै सिमा छैन”, दृष्टिविहीन भएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका एरिकको भनाइ हो यो । ख्रिस्टाब्द १९६८ मा अमेरिकामा जन्मेका एरिक वेहेनमाएर खेलाडी, लेखक, साहसिक यात्रुसाथै प्रभावशाली वक्ता हुन् ।
२५ मे २००१ मा सगरमाथाको टुप्पोमा पाइला टेकेर तिनले इतिहास रचे । तिनी नै संसारको उच्चतम टाकुरा सगरमाथामा पाइला टेक्ने पहिलो दृष्टिविहीन बने र हालसम्म सगरमाथा आरोहण गर्ने दृष्टिविहीन तिनी मात्रै हुन् । ३२ वर्षकै उमेरमा तिनले यो अद्भूत सफलता हासिल गरे । सातवटै महादेशका उच्चतम टाकुराहरूमा पाइला टेकिसकेका तिनले अन्य विभिन्न टाकुराहरूको पनि आरोहण गरेका छन् ।
१५ महिनाको पुग्दा एरिकमा रेटिनोसखिसिस दुर्बलता भएको पुष्टि भयो र १३ वर्षमा तिनी पूर्णत: दृष्टिविहीन बने । १६ लागेपछि तिनले आफूलाई अगुवाइ गर्न एउटा बाटो देखाउने कुकुरको प्रयोग गर्न थाले । आफू दृष्टिविहीन भए तापनि तिनले पहाडहरू चढ्ने कोसिस गरे ।
आँखा नदेख्ने भएर पनि आफूले गर्न नसक्ने कुरोमा एरिकले ध्यान लगाएनन्, बरु तिनको ध्यान आफूले गर्न सक्ने कुरोमा खिँचियो । परिणामत: तिनी असाधारण सफलतालाई चुम्न सफल भए ।
नो ब्यारियर्स युएसए नामक तिनको संस्थाको नारा नै ज्यादै उत्प्रेरक छ, “तपाईंको मार्गमा जे छ त्योभन्दा तपाईंभित्र भएको कुरो शक्तिशाली छ ।” यस संस्थाले विविध पृष्ठभूमि र क्षमता भएका मानिसहरूलाई अगाडि बढ्न, चुनौतीको सामना गर्न अनि अरूहरूको सेवा गर्न मदत पुर्याउँछ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/163/)
(४) जोनी एरिक्सन टाडा
आफ्नो शारीरिक अवस्था जस्तोसुकै कमजोर भए तापनि इच्छाशक्ति भएमा अद्भूत सफलता हात पार्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो, जोनी एरिक्सन टाडा ।
१९४९ मा जन्मेकी जोनीलाई अन्य खेलहरूका अतिरिक्त पौडी पनि मन पर्थ्यो । पौडी पोखरी गहिरो होला भन्ठानेर डुबुल्की मार्दा उनले कहिल्यै कल्पना नगरेको दुर्घटनाको शिकार बन्नुपर्यो जोनी । १७ वर्षको उमेरमा भएको उक्त दुर्घटनाले गर्दा उनको गर्धन भाँचियो । उनी पक्षाघाती भइन् । उनको शरीरको कुमदेखिको तलको भाग नचल्ने भयो । अनुगामी वर्षहरूमा जोनीले रिस र निराशालाई मात्रै आश्रय दिइनन्, तर आत्महत्या गर्ने सम्मको सोच बनाइन् ।
परमेश्वरले जोनीको जीवनमा त्यस्तो दुःख किन ल्याउनुभयो भनी उनले सोच्नै सकिनन् । तथापि जोनीको जीवनमा परमेश्वरले असाधारण योजना बुन्दै हुनुहुन्थ्यो । उनले ब्रुस दाँतमा राखेर चित्र कोर्न थालिन् र आफूले बनाएका चित्रहरू बेच्न सुरु गरिन् । उनका चित्रहरूको माग बढ्न थाल्यो । उनले आफ्ना चित्रहरूमार्फत ख्रीष्टको प्रेम पनि बाँड्न थालिन् ।
जोनी चित्रकार मात्र रहिनन् । उनी वक्ता, अभिनेत्री र लेखिका पनि बनिन् । जोनीले ४८ ओटाभन्दा बेसी पुस्तक लेखेकी छन् र ती पुस्तकहरू अशक्तता र ख्रिस्टियमतको बारेमा छन् । विश्वका विभिन्न परिचित कलेजहरूबाट मानार्थी विद्यावारिधि प्राप्त गरेकी उनले असक्त मानिसहरूका लागि १९७९ मा जोनी एन्ड फ्रेन्ड्स नामक एउटा संस्था पनि खोलिन् जुन संस्थाले असक्तहरूका आवश्यकतालाई पुरा गर्नुपर्छ भन्ने येशूको आज्ञालाई शिरोपर गर्ने प्रयत्न गर्दछ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/168/)
(५) बेथानी हामिल्टन
१९९० मा अमेरिकामा जन्मेकी बेथानी समुद्रसित खेल्ने स्त्रीको रूपमा अन्तर्राष्ट्रिय जगत्मा परिचित छिन् ।
१३ वर्षकी छँदा बेथानी आफ्ना दौँतरी र नातेदारहरूसँगै समुद्री तटमा गइन् । उनी समुद्रको छालसँगै बहने खेल खेल्न गएकी थिइन् जसलाई सर्फिङ्ग भनिन्छ । मिति ३१ अक्टोबर २००३ को हो । बिहानको साँढे सात बजेको थियो । बेथानी आफ्नो सर्फबोर्ड (सर्फिङ्ग खेल्दा प्रयोग गरिने फलेक) माथि पल्टिरहँदा उनले आफ्नो बायाँ हात पानीमा झारेकी थिइन् । १४ फिट लामो समुद्री माछाले उनलाई आक्रमण गर्यो र त्यसले उनको बायाँ हातको काँधभन्दा तल बेसरी चोट पुर्यायो । उनी माछाको आक्रमणबाट बाँच्न सफल भए तापनि उनले आफ्नो बायाँ हात भने सदाको लागि गुमाइन् ।
आफ्नो एउटा हात गुमे तापनि परमेश्वरमाथि भरोसा राख्दै उनी अगाडि बढिरहिन् । उनले जीवन जिउने इच्छालाई त्याग गरिनन् । उनी जीवनमा केही असाधारण कुरो गरेर देखाउन चाहन्थिन् । उनले आफ्नो असाधारण प्रतिभा संसारलाई देखाइरहेकी छन् ।
झण्डै पाँच वर्षकै कलिलो उमेरमा आफ्नो हृदय येशू ख्रीष्टलाई सुम्पेकी बेथानीले भनेकी छन्, “सार्कले मेरो पाखुरालाई अलग गर्दा मलाई शान्ति दिनुहुने येशू नै हुनुहुन्थ्यो । मैले जहिलेसुकै कठिन समयको सामना गर्दा म येशूमा भरोसा गर्छु ।”
सर्फिङ्गका अतिरिक्त बेथाली टेनिस खेल्छिन्; भलिबल खेल्छिन्; पौडी खेल्छिन्; पहाडहरूमा दौडिन्छन् । धेरैका लागि प्रेरणा बनेकी यी साहसी स्त्री हरेक दिन बिहान पाँच बजे उठ्छिन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/172/)
(६) स्टिभेन म्याकडोनाल्ड
स्टिभेन म्याकडोनाल्ड न्युयोर्क पुलिस विभागका गुप्तचर थिए । १२ जुलाई १९८६ का दिन तिनी आफ्ना सहकर्मीसँगै अमेरिकाको न्युयोर्कस्थित सेन्ट्रल पार्कमा गस्ती गर्दै थिए । तिनीहरूले त्यहाँ साइकल चोरी भएको खबर पाएका थिए । १३-१५ वर्ष उमेरका तीन जना केटा शङ्कास्पद देखिए । तिनीहरूसित सोधपुछ गर्ने क्रममा साभोद जोन्स नाउँ गरेका १५ वर्षे ठिटोले म्याकडोनाल्डलाई तीन गोली हान्यो । पहिलो गोली आँखामाथि टाउकोमा, दोस्रो गोली घाँटीमा र तेस्रो गोली मेरुदण्डमा लाग्न पुगे । बाँच्न सफल भए तापनि तिनले ह्विल चेएरमा बसेर बाँकी जीवन बिताउनुपर्ने भयो ।
हृदयलाई छिया-छिया बनाउने यस्तो घटना त्यस बेला घट्न पुगेको थियो जुन बेला म्याकडोनाल्ड बुबा बन्ने तरखरमा थिए । आफ्नो जीवनमा जस्तोसुकै परिस्थिति आइपरे तापनि बदला तिनले चाहेको उत्तर थिएन भनी तिनले निर्णय गरे । हृदयमा वैमनस्य पाल्नुको साटो तिनले आफूलाई गोली हान्ने ठिटोलाई क्षमा दिए, “कहिले कहीँ मलाई गोली हान्ने किशोरदेखि म रिसाउँछु । तर अक्सर मलाई तिनीप्रति दुःख लाग्छ । मेरो आशा यति मात्र हो कि तिनले आफ्नो जीवन मानिसहरूको हानिको लागि नभई मदतको लागि फर्काऊन् । म तिनलाई क्षमा दिन्छु र तिनले आफ्नो जीवनमा शान्ति र उद्देश्य प्राप्त गर्न सकून् भनी अपेक्षा गर्दछु ।”
क्षमा येशूले सिकाउनुभएको र अभ्यास गर्नुभएको एउटा उच्चतर सद्गुण हो जसलाई मनग्गे मानिसहरूले आफ्नो जीवनमा उतारेका छन् जसमध्ये एक हुन्, स्टिभेन म्याकडोनाल्ड । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/175/)
(७) जर्ज स्टट
ख्रिस्टाब्द १८३८ मा स्कटल्यान्डमा जन्मेका जर्ज स्टट हाम्रो छिमेकी मुलुक चीनको झेजियाङ्ग प्रान्तको वेन्जु सहरमा जाने पहिलो ख्रीष्टियान मिसनरी हुन् ।
१९ वर्षको उमेरमा लडेर खुट्टा सुन्निएकोले पछि स्टटले देब्रे खुट्टा नै गुमाउन पर्यो । चाइना इनल्यान्ड मिसन नामक अन्तर-साम्प्रदायिक संस्थाको लागि हडसन टेलरले मिसनरीहरूको खोजी गर्दै थिए भनी जानकारी पाएपछि तिनले पनि योगदान दिन चाहे । अपाङ्ग हुँदाहुँदै पनि कृत्रिम खुट्टा हालेर तिनी ४ अक्टोबर १८६५ मा मिसनरी भएर चीनतर्फ लागे र लगभग चार महिनापछि तिनी चीनको साङ्घाईमा आइपुगे । शारीरिक अशक्तताको बाबजुत पनि तिनी एक प्रभावशाली मिसन अगुवाको रूपमा खडा भए ।
स्टटले सेवा गरेको वेन्जु सहरमा स्थापित झेङ्ग्सी क्रिस्चियन चर्च प्राचीनतम चर्च हो जुन अहिलेसम्म पनि तिनको सेवाको साक्षीको रूपमा खडा छ । आज वेन्जु सहरलाई “चीनको यरूशलेम” भनेर चिनिन्छ किनकि पुरै वेन्जु नगरपालिकामा भएका ६० लाख जनसङ्ख्यामध्ये त्यहाँ १०% अर्थात् ६ लाख इभान्जलिकल ख्रीष्टियान छन् ।
एउटा मात्र खुट्टा भएको अशक्त व्यक्ति भएर पनि तिनी किन मिसनरी भएर चीन जान लागेका थिए भनी स्टटलाई सोधिँदा तिनले यसरी उत्तर दिएका थिए, “दुईवटा खुट्टा भएकाहरू गएका मैले देखिनँ । तसर्थ, म जानैपर्छ ।” अपाङ्ग भएर तिनले चीनमा २२ वर्षभन्दा बेसी समय बिताए र ५४ वर्षको उमेरमा १८८९ मा इस्टरको बिहान तिनी आफ्नो स्थायी घरमा प्रवेश गरे । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/178/)
आफ्नो शारीरिक दुर्बलताका बाबजुत पनि आफूसित भएका अद्भुत खुबी संसारलाई देखाउने यी ७ जना व्यक्ति पक्कै पनि प्रशंसाका पात्र हुन् ।
(१) हात र खुट्टाविना जन्मेका प्रेरणादायी प्रचारक हुन् निक ।
(२) दृष्टिविहीन भएर पनि फेन्नीले ८,००० ओटा भजन लेखिन् ।
(३) दृष्टिविहीन भएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे एरिकले ।
(४) पक्षाघाती जोनी वक्ता, अभिनेत्री र लेखिका बनिन् ।
(५) आफ्नो बायाँ हात गुमाए तापनि हामिल्टन प्रेरणाकी स्रोत बनेकी छन् ।
(६) आफूलाई तीन गोली हान्नेलाई क्षमा दिए म्याकडोनाल्डले ।
(७) एउटा खुट्टा नभए तापनि चीनमा मिसनरी भएर गए स्टट ।