येशूलाई याकूब र यूहन्नाले बिन्ती चढाए कि तिनीहरूकी आमाले ?

ख्रीष्टको राज्यमा याकूब र यूहन्नालाई उहाँको दाहिने र देब्रे हातपट्टि बस्न दिइओस् भनी याकूब र यूहन्नाले बिन्ती गरे (मर्कूस १०:३५) वा तिनीहरूकी आमाले (मत्ती २०:२०) ?

मत्तीको विवरणअनुसार याकूब र यूहन्नाकी आमाले उक्त बिन्ती चढाइन्, “तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् … ‘आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा, मेरा यी दुई छोराहरूमध्ये एक जना तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन्'” (मत्ती २०:२०-२१) । जब कि मर्कूसको अभिलेखअनुसार बिन्ती चढाउने याकूब र यूहन्ना थिए, “जब्दियाका दुई छोराहरू, याकूब र यूहन्ना उहाँकहाँ आएर … भने, ‘तपाईंको महिमामा हामीमध्ये एक जना तपाईंको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्न पाउने मन्जूरी हामीलाई दिनुहोस्'” (मर्कूस १०:३५-३७) । कसले येशूलाई बिन्ती चढाए— आमाले या छोराहरूले ? कुनचाहिँ विवरण सही हो ? कमसे कम एक जना सुसमाचारिय लेखकले भुल गरेका छन् भन्ने केही बाइबल आलोचकहरूको ठम्याइ रहेको छ । सतही निष्कर्षमा पुग्नुअगि यी खण्डहरूलाई होसियारी ढङ्गमा अध्ययन गर्नु आवश्यक छ; सम्भावनाहरूलाई केलाउनुपर्दछ ।

बाइबल विद्वान्‌हरूले विभिन्न व्याख्याहरूलाई अगाडि सारेका भए तापनि मत्ती र मर्कूसले बेग्लाबेग्लै व्यक्तिहरूलाई जोड दिई उही घटनालाई उल्लेख गरेका छन् भन्ने व्याख्याचाहिँ यस पङ्क्तिकारलाई बढी सम्भाव्यजस्तो लागेको छ । म यसलाई व्याख्या गर्न चाहन्छु ।

मत्तीको विवरणअनुसार प्रस्ट छ कि येशूलाई बिन्ती गर्दा आमाको साथमा दुवै छोरा पनि थिए (पद २०) । त्यसो हो भने तिनीहरूले सामूहिक रूपमा बिन्ती चढाए । मर्कूसले छोराहरूको उल्लेख गरेका छन् तर आमाको उपस्थितिलाई जनाएका छैनन् । यसको अर्थ उनी त्यहाँ थिइनन् भन्ने होइन । मर्कूसले दुई जना दाजुभाइको धृष्टतालाई जोड दिन तिनीहरूले येशूलाई उक्त बिन्ती चढाए भनेका हुन सक्छन् । त्यसैकारण, अन्य चेलाहरू ती दुईसँग रिसाए ।

निष्कर्षमा, दुवै विवरण सही छन् । मत्ती र मर्कूसले फरक-फरक दृष्टिकोणबाट उही घटनालाई प्रस्तुत गरेका हुन् । होसियारीसँग अध्ययन गर्दा यी विवरणहरूमा हामी अन्तर्विरोध देख्दैनौँ ।

Facebook Comments

Powered by Youth Circle