बाइबल— अविनाशी पुस्तक

डायोक्लिसन रोमका सम्राट् थिए जसले ख्रिस्टाब्द २८४-३०५ सम्म शासन गरे । आफ्नो शासनकालमा तिनले ख्रीष्टियानहरूमाथि उग्र सतावट खन्याए । इतिहासकार युसेबियसले तिनको बारेमा लेखेका छन्, “जताततै राजकीय उर्दीहरू प्रकाशित गरिए जसअनुसार मण्डलीहरू पूर्ण रूपमा भत्काइनुपर्थ्यो भने बाइबल धर्मशास्त्रहरू आगोद्वारा नष्ट गरिनुपर्थ्यो ।”[i] कसैको हातमा बाइबलको प्रति फेला पारिएको खण्डमा जलाइनलाई बाइबल दिइनुपर्थ्यो अन्यथा त्यस व्यक्तिलाई नै मारिन्थ्यो । यति मात्र नभई कसैसँग बाइबल भएको कुरो थाहा पाएर अर्कोले नबताएको खण्डमा नबताउने व्यक्तिलाई पनि मारिन्थ्यो । महान् सतावट भनेर चिनिएको डायोक्लिसनको यस सतावटमा बाइबलका कैयौँ प्रतिहरू जलाइए । स्मरण रहोस्, ती बाइबलहरू निकै परिश्रमपूर्वक हातैले प्रतिलिपि गरिएका थिए । सतावटपश्चात् सम्राट्ले घमण्ड गरेका थिए, “मैले ख्रीष्टियान रचनाहरूलाई पृथ्वीको धरातलबाट निमिट्ट्यान्न पारिदिएको छु!”[ii] तर के तिनले बाइबललाई वास्तवमै निर्मूलन पारेका थिए त ? थिएनन् । किनभने इतिहासले हामीलाई बताउँछ कि तिनीपछिका सम्राट् कन्स्टेन्टाइन ख्रीष्टियानहरूप्रति उदार मात्र भएनन् तर सम्राट् आफै नै ख्रीष्टियान बने । तिनले ख्रीष्टियान धर्मलाई कानुनी मान्यता मात्र दिएनन् तर सबै मण्डलीका लागि बाइबल धर्मशास्त्रका प्रतिहरू निकाल्न लगाए ।

बाइबलले भोगेको सतावटको कथा ज्यादै मार्मिक छ । यहूदाका राजा यहोयाकीमले परमेश्वरको वचनको मुट्ठोलाई आगोमा हालेर जलाए (यर्मिया ३६), तर मुट्ठोलाई जलाए तापनि परमेश्वरको वचनलाई आगोले जलाउन सक्दैनथ्यो भनी राजालाई थाहा नहुनु दुःखद कुरो हो । अन्तरिम कालमा एन्टिओकस एपिफानेसले यहूदीहरूको विरुद्धमा रक्तपातपूर्ण सतावट खन्याए । तिनको प्रतिशोधको एउटा पक्ष यहूदीहरूको धर्मशास्त्रलाई नष्ट गर्नुथियो ।[iii] तर सतावट गर्नेहरूले आशा गरेभन्दा विपरीत प्रतिफल देखिन आयो किनभने यी सतावटकै कारणले गर्दा ईश्वरीय रचनाहरूको प्रगाढ जाँचको उदय भयो । यी परिस्थितिहरूको उदयले समकालीन नक्कली दस्ताबेजहरूबाट पुरानो करारको क्यानन्‌का पुस्तकहरूलाई औपचारिक रूपमा अलग गरायो ।[iv]

ख्रीष्टियान धर्मलाई निमिट्ट्यान्न पार्ने चुनौती दिने भोल्टेयर, बाइबलको विश्वसनीयतालाई नष्ट गर्न खोज्ने प्रोफाइरी, बाइबललाई उपहासमा उडाउने लुसियन, बाइबललाई निर्मूल पार्न खोज्ने डायोक्लिसन, पन्ध्र वर्षमा बाइबललाई मुर्दा घरमा पुर्‍याइदिन्छु भनी हाँक दिने रोबर्ट इङ्गरसोल सबै नै इतिहासमा मरेर गए, तर बाइबल यसका आशिष्‌हरूलाई लिएर संसारको चारैतिर द्रुतगतिमा सवार हुँदै छ ।

संसारमा सबैभन्दा बेसी सतावट भोग्ने पुस्तक हो— बाइबल । मानव इतिहासमा यसको निर्मूलनको लागि हर सम्भाव्य प्रयास गरिएको थियो । सबै ओहोदाका मानिसहरू यसको विरुद्धमा खनिएका थिए: तानाशाह, सम्राट्, पोप, राजा, राजकुमार, पुजारी, शासक, लेखक, व्यङ्ग्यकार आदि । तथापि ती सबै पृथ्वीको धुलोमा मिसिएर गए, तर बाइबल अविनाशी छ । यसको उन्मूलनको लागि मानिसको हरेक युक्तिका बाबजुत पनि हाम्रो भूगोल र हाम्रो समयमा यसको उपलब्धता यसको अर्को अद्वितीय पक्ष हो ।

बाइबलले जतिसुकै खेदो सहनु परे पनि बाइबलप्रति भएको मानिसहरूको प्रेमलाई बिसौँ शताब्दीमा नै ईश्वरशास्त्रीसाथै रक्षाशास्त्री बर्नाड र्‍यामले उत्कृष्ट तवरले व्यक्त गरे कि बाइबललाई जस्तै “अरू कुनै पुस्तकलाई टुक्रा-टुक्रा पारिएको छैन, चक्कु रोपिएको छैन, छानिएको छैन, जाँच-पडताल गरिएको छैन, निन्दा गरिएको छैन । … [तथापि] बाइबललाई अझै पनि दसौँ लाखले प्रेम गर्छन्, दसौँ लाखले पढ्छन् र दसौँ लाखले अध्ययन गर्छन् ।”[v]

संसारको इतिहासमा बाइबलले सबैभन्दा बढी सतावट भोग्नु परे तापनि यसले आज व्यक्ति, परिवार, समाज, प्रान्त र राष्ट्रलाई गलत मार्गबाट फर्काई असल मार्गमा डोर्‍याएको छ । इतिहासमा बाइबलको उन्मूलन भएको भए संसारले आज यो सभ्यता देख्न पाउँदैनथ्यो भन्दा अत्युक्ति नहोला । यदि बाइबलमा मानवीय हात मात्र समावेश हुँदो हो त निस्सन्देह आज तपाईं र मेरो हातमा बाइबल हुनेथिएन । यो शताब्दीमा बाइबलको उपलब्धता यसमा भएको ईश्वरीय हातको सङ्केत हो । तसर्थ यसलाई नष्ट गर्न खोज्नेहरू अवश्य हुन्छन् तर यसलाई कसैले कहिल्यै नष्ट गर्न सक्दैन ।[vi] येशू ख्रीष्टको भनाइ वास्तवमै कति साँचो छ, “स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्” (मर्कूस १३:३१) ।[vii]

 

सन्दर्भ स्रोतहरूः

[i]      Church History, Book VIII, Ch. 1

[ii]     Rimmer, Seven Wonders of the Wonderful Word, p. 15

[iii]   अपोक्रिफा  १ मक्काबी १:५६-५७ ।

[iv]     John McClintock and James Strong, Cyclopedia of Biblical, Theological and Ecclesiastical Literature. Vol.2 (Grand Rapids, MI: Baker, 1968), p.76.

[v]     Bernard Ramm, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict (Nashville: Thomas Nelson Publishers, 1999), p.11.

[vi]     कमल अधिकारी, बाइबल, विज्ञान र परमेश्वर (काठमाडौँ: बिलिभर्स चर्च नेपाल, २०१६), पृ. सं. २५ ।

[vii]    थप जानकारीको लागि कमल अधिकारीद्वारा लिखित पुस्तकहरू बाइबल, विज्ञान र परमेश्वरको दोस्रो पाठ अनि प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरूको सोर्‍हौँ पाठ पढ्नुहोस् ।

Facebook Comments

Powered by Youth Circle