विख्यात फ्रान्सेली साहित्यकार, इतिहासकार, दार्शनिकसाथै सन्देहवादी भोल्टेयरको जन्म ख्रिस्टाब्द १६९४ मा भएको थियो । फ्रान्समा तिनलाई भगवानसरह मानिन्थ्यो । भिक्टर ह्युगोले तिनको बारेमा भनेका थिए, “भोल्टेयरको नाम लिनु भनेको पूरै अठारौँ शताब्दीको वणर्न गर्नु हो ।” प्रचुर प्रतिभाका धनी भोल्टेयरले ख्रिस्टियमतको विरुद्धमा हाँक दिएका थिए, “यस ख्रीष्टियान धर्मलाई बार्ह जना बुद्धू मछुवाले स्थापित गरे, अब एउटै फ्रान्सवासी (भोल्टेयर) ले यसलाई ध्वंस पार्न सक्छु भन्ने कुरा म संसारलाई देखाइदिने छु ।” अठारौँ शताब्दीमा तिनले यो पनि भविष्यवाणी गरेका थिए कि तिनको समयबाट एक सय वर्षमा ख्रिस्टियमत अस्तित्वविहीन भई इतिहासमा मात्र सीमित रहनेथियो । ख्रिस्टियमतलाई ध्वंस गर्ने सङ्कल्प गरेका भोल्टेयरको विषयमा डा. जोन आर. राइस भन्छन्, “ख्रीष्टियान धर्म मेटिने किसिमको हुँदो हो त मेट्नलाई योग्य व्यक्ति भोल्टेयर नै थिए ।” तर इतिहासले भोल्टेयरको भविष्यवाणी पूरा गरेन । तिनको मृत्युको पच्चिस वर्षपछि ब्रिटिस एन्ड फोरेन बाइबल सोसाइटीको स्थापना गरियो र यसको स्थापनाको सय वर्षमा बाइस करोड नब्बे लाख बाइबल छाप्ने घोषणा गरियो । जुन घरमा बसेर तिनले ख्रिस्टियमत इतिहासमा मात्र सीमित हुनेथियो भनी भविष्यवाणी गरेका थिए, त्यही घर नै तिनको मृत्युको पचास वर्षपछि जेनेभा बाइबल सोसाइटीको बाइबल राख्ने भवन बन्यो जहाँबाट युरोपभरि प्रचुर मात्रामा बाइबलहरू वितरण गरिए । जुन छापाखाना प्रयोग गरेर तिनले ख्रीष्टियान धर्मको विरुद्धमा लिखित साहित्यहरू छापेका थिए त्यही नै छापाखानाबाट अनगिन्ती बाइबल छापिए । बाइबलको प्रचारप्रसारलाई रोक्न खोज्नु भनेको सूर्यलाई हत्केलाले छेक्नुजस्तै हो ।
ख्रिस्टाब्द ३०४ मा प्रोफाइरी नाम गरेका एक ग्रिक लेखकले बाइबलको विश्वसनीयतालाई नष्ट गर्ने प्रयास गरे । त्यसका लागि बाइबल र ख्रीष्टियान धर्मको विरुद्धमा तिनले पन्ध्रवटा पुस्तक लेखे । तर के तिनी सफल भए त ? कदापि भएनन् । बाइबलको प्रचारप्रसार झन्झन् बढ्दै गयो । आज बाइबल र ख्रिस्टियमतको नाम नसुन्ने कमै होलान् तर तिनी र तिनको पुस्तकको नाम नसुन्ने अनगिन्ती छन् ।
बाइबलको विरुद्धमा लेख्ने अर्का व्यक्ति हुन्, लुसियन । तिनी ग्रिक व्यङ्ग्यकार थिए । तिनले बाइबललाई उपहासमा उडाउन दोस्रो शताब्दीमा दुईवटा पुस्तक लेखे । यी दुवै पुस्तक तपाईंको व्यक्तिगत पुस्तकालयमा सम्भवतः नपाइएलान्, तर तपाईंको घरको कुनै न कुनामा बाइबल भने अवश्य होला ।
ख्रिस्टाब्द ३०३ मा रोमी सम्राट् डायोक्लिसनले बाइबलको प्रत्येक प्रति नष्ट गरिनुपर्छ भन्ने उर्दी निकाले । तिनले धेरै ख्रीष्टियानलाई मारे र धेरै बाइबल नष्ट गरे । केही समयका लागि ख्रीष्टियानहरू मौन रही लुकी बसे । तिनले एउटा सिक्का निकाले जसमा यस्तो खोपिएको थियो, “ख्रीष्टियान धर्म नष्ट गरिएको छ र देवीदेवताहरूको पूजा पुनर्स्थापना गरिएको छ ।” १० वर्षपछि कन्स्टेनटाइन महान् रोमको सम्राट् बने र तिनले सरकारी खर्चमा पचासप्रति बाइबल निकालिनुपर्छ भनी उर्दी निकाले । डायोक्लिसनले वास्तवमै गलत लेखोट निकालेका रहेछन् ।
नास्तिकवादी रोबर्ट इङ्गरसोलले एक पटक यस्तो अभिव्यक्ति दिएर घमण्ड गरेका थिए, “पन्ध्र वर्ष भित्रमा म बाइबललाई मुर्दा घरमा पुर्याइदिने छु ।” कस्तो अचम्मत! पन्ध्र वर्ष भित्रमा इङ्गरसोल मुर्दा घरमा लगिए तर बाइबल सधैँ जीवित छ ।
बाइबलले भोग्नुपरेको सतावटको विषयमा एच.एल. हेस्टिङ्ग्स लेख्छन्, “नास्तिकहरूले अठार शताब्दीसम्म यस पुस्तकलाई खण्डन गर्दै र गिराउँदै आएका छन्, तर आजसम्म पनि यो चट्टानझैँ स्थिर रहेको छ । यसको प्रचार-प्रसार बढ्दो छ र पहिलेभन्दा बढी आज यसलाई प्रेम गरिन्छ, पोषण गरिन्छ र पढिन्छ । … यदि यो परमेश्वरको पुस्तक नभएको भए धेरै पहिले नै मानिसहरूले यसलाई नष्ट गरिसक्ने थिए । सम्राट् र पोपहरू, राजा र पुजारीहरू, राजकुमार र शासकहरू सबैले नै यसलाई नष्ट गर्ने प्रयास गरेका छन्, तर तिनीहरू मर्छन् तर बाइबल आजपर्यन्त जीवित छ ।” पिङ्क उही कुरा व्यक्त गर्छन्, “दुई हजार वर्षसम्म बाइबलप्रति भएको मानिसको घृणा दृढ, निर्णीत, निष्ठुर र घातक छ । बाइबलको प्रेरणा र अधिकारमाथि भएको विश्वासलाई कमजोर पार्न हर सम्भाव्य प्रयास गरिएको छ र यसको विस्मृतीका लागि अनगिन्ती हिम्मत गरिए । बाइबलको प्रत्येक प्रति नष्ट गरिनुपर्छ भन्ने सम्राट्का उर्दीहरू निकालिए र परमेश्वरको वचनलाई निर्मूल पार्न जब त्यो असफल भयो तब धर्मशास्त्र भएको प्रत्येक व्यक्ति मारिनुपर्छ भन्ने आज्ञाहरू निकालिए ।” बाइबलले जतिसुकै खेदो सहनु परे तापनि बाइबलप्रति भएको मानिसहरूको प्रेमलाई बर्नाड र्याम लेख्छन् कि बाइबललाई जस्तै “अरू कुनै पुस्तकलाई टुक्राटुक्रा पारिएको छैन, चक्कु रोपिएको छैन, छानिएको छैन, जाँच-पडताल गरिएको छैन, निन्दा गरिएको छैन । … [तथापि] बाइबललाई अझै दसौँ लाखले प्रेम गर्छन्, दसौँ लाखले पढ्छन् र दसौँ लाखले अध्ययन गर्छन् ।”
संसारको इतिहासमा बाइबलले सबैभन्दा बढी सतावट भोग्नु परे तापनि यसले आज व्यक्ति, परिवार, समाज, प्रान्त र राष्ट्रलाई गलत मार्गबाट फर्काई असल मार्गमा डोर्याएको छ । इतिहासमा बाइबलको उन्मूलन भएको भए संसारले आज यो सभ्यता देख्न सक्दैनथ्यो भन्दा अत्युक्ति नहोला । यदि बाइबलमा मानवीय हात मात्र समावेश हुँदो हो त निस्सन्देह आज तपाईं र मेरो हातमा बाइबल हुने थिएन । यस भूगोलमा र यो शताब्दीमा बाइबलको उपलब्धता यसमा भएको ईश्वरीय हातको सङ्केत हो । तसर्थ यसलाई नष्ट गर्न खोज्नेहरू अवश्य हुन्छन्, तर यसलाई कसैले कहिल्यै नष्ट गर्न सक्दैन । येशू ख्रीष्टको भनाइ वास्तवमै कति सत्य छ, “स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्” (मर्कूस १३:३१) ।