शिक्षाको क्षेत्रमा ख्रीष्टियान योगदान

मार्सल डी. मोरान भारतस्थित पटना विश्वविद्यालय सिनेटका सदस्य भएकाले काठमाडौँस्थित त्रिचन्द्र कलेजको परीक्षा निरीक्षण गर्न १९४९ मा तिनलाई काठमाडौँ आउने मौका मिल्यो । एक महिने बसाइमा नेपाली अधिकारीहरूसित भेटघाट गर्नुका अतिरिक्त तिनले तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरसित पनि भलाकुसारी । नेपालमा शिक्षाको आवश्यकतालाई बोध गराउँदै तिनले स्कुल स्थापना गर्ने विषयमा सोच्न प्रधानमन्त्रीलाई विनम्र अनुरोधसमेत गरे । १९५० मा सरकारबाट ठोस जवाफ आयो । काठमाडौँबाट झन्डै १६ किलोमिटर दक्षिणपट्टि पर्ने क्षेत्रमा घर र जमिन दिइयो । यसरी १९५१ मा ललितपुरको गोदावरीमा गोदावरी सेन्ट जेभियर्स स्कुलको विधिवत् शुभारम्भ भयो । त्यही वर्षको जुलाई १ बाट कक्षा सञ्चालनमा आयो । १९५१ मा स्थापित यो शिक्षालय आज पनि निकै सक्रिय छ । मोरान अमेरिकाका पादरी थिए जो मिसनरी बनी भारत र नेपालमा आए । तिनले यी दुईवटा मुलुकमा केही स्कुलहरू स्थापना गरे जसमध्ये ललितपुरको गोदावरीस्थित स्कुल नेपालको परिचित स्कुल हो ।

लेखकद्वय केनेडी र न्युकोम्ब लेख्छन्, “तपाईंले देख्नुहुने हरेक स्कुल— चाहे त्यो सरकारी होस् वा निजी, धार्मिक होस् वा सेकुलर— येशू ख्रीष्टको धर्मको दृश्यवान् चिनो हो । हरेक कलेज र विश्वविद्यालयको लागि पनि यही कुरो लागु हुन्छ ।” यसको अर्थ हरेक स्कुल ख्रीष्टियान हो भन्न खोजिएको होइन, न त यसको अर्थ ख्रिस्टियमतको आगमनअघि शिक्षा अस्तित्वमा थिएन भन्न खोजिएको हो । भनाइको मतलब यही हो कि सामूहिक रूपमा सिकाइने शैक्षिक प्रणालीको अवधारणाको जराचाहिँ ख्रिस्टियमतमा गडेको छ । येशूको आगमनअगि पनि शिक्षा विद्यमान थियो, तर यो मूलतः उच्च वर्गको लागि मात्र थियो । हरेकको लागि शिक्षा भन्ने अवधारणाको श्रेय ख्रिस्टियमतलाई जान्छ ।

येशू संसारले चिनेको महानतम शिक्षक हुनुहुन्छ भन्ने सत्यतामा थोरैले मात्र वादविवाद गर्लान् । बाइबलले बताउँछ, “तिनीहरू उहाँका शिक्षामा चकित भए । किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो” (मर्कूस १:२२) । येशूले यसरी सिकाउनुभयो कि उहाँलाई पछ्याउनेहरूले अरूलाई सिकाउन सकुन् । आफ्नो स्वर्गारोहणअगि उहाँले आफ्ना चेलाहरूलाई चेला बनाउन आज्ञा दिनुभयो, “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, … मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९-२०) ।

अरूलाई सिकाउनुपर्छ भन्ने येशूको आज्ञालाई चेलाहरूले गम्भीरतापूर्वक लिए । विश्वासीहरू “प्रेरितहरूका शिक्षा … मा भक्तिसाथ लागिरहन्थे” (प्रेरित २:४२) । तिनीहरूले “येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन … छोडेनन्” (प्रेरित ५:४२) । एफिसस, कोरिन्थ, रोम, थेसलोनिकेजस्ता ठाउँहरूमा स्थापित मण्डलीहरूलाई पावलद्वारा लिखित पत्रहरूमा शिक्षाका सन्दर्भहरू पाइन्छन् । वास्तवमा सिकाउन सक्नु पास्टरको एउटा योग्यता हो, “बिशपचाहिँ … सुयोग्य शिक्षक होऊन्” (१ तिमोथी ३:२) ।

प्रेरितहरूको अवसानपश्चात् मण्डली पिताहरूले शिक्षालाई निरन्तरता दिए । दोस्रो शताब्दीको सुरुतिर एन्टिओखियाका बिशप इग्नेसियसले बालबालिकाहरूलाई पवित्रशास्त्र र सिप सिकाइनुपर्छ भनी जोड दिए । १५० सम्म आइपुग्दा मण्डलीका प्रथम महान् विद्वान्को रूपमा चिनिएका जस्टिन मार्टरले एफिसस र रोममा ख्रीष्टियान सिद्धान्तहरू सिकाइने स्कुलहरू स्थापना गरे । धेरैजसो अवस्थामा यस्ता स्कुलहरूले ओरिगेनसाथै अथनेसियसजस्ता भावी ख्रीष्टियान अगुवाहरूका लागि ईश्वरशास्त्रीय र साहित्यिक जगको काम गरे । यस्ता स्कुलहरू खास गरी ख्रीष्टियान सिद्धान्तमा केन्द्रित हुने भए तापन केहीमा भने गणितसाथै औषधीको पनि ज्ञान दिइन्थ्यो ।

सुरुदेखि नै ख्रीष्टियानहरूले पुरुषहरूलाई मात्र नभई स्त्रीहरूलाई पनि सिकाउने गर्थे । दुवै लिङ्गका मानिसहरूलाई ख्रीष्टियान सिद्धान्तहरू सिकाई बप्तिस्मा दिएर मण्डली सदस्यको रूपमा स्वीकार गरिन्थ्यो । बप्तिस्मापछि पनि ख्रीष्टियान सिद्धान्तको सिकाइले निरन्तरता पाउँथ्यो । औपचारिक रूपमा दुवै लिङ्गका मानिसहरूलाई सिकाउने चलन मूलतः ख्रीष्टियान सृजना थियो । डब्लु. एम. राम्सेका अनुसार ख्रिस्टियमतको लक्ष्य “विश्वव्यापी शिक्षा थियो । ग्रिक र रोमीहरूका बिचमा भएजस्तै शिक्षा धनीहरूका लागि मात्र सीमित थिएन । यसको सिद्धान्त गरिबहरूलाई पनि निःशुल्क शिक्षा हो र यसमा लिङ्गको कुनै भिन्नता छैन ।” यस्तो अभ्यासले नतिजा लिएर आयो किनकि अगस्टिनका अनुसार ईश्वरीय विषयहरूमा गैरख्रिस्टियान पुरुष दार्शनिकहरूभन्दा ख्रीष्टियान स्त्रीहरू बढी शिक्षित थिए । महिला र पुरुष दुवैलाई सिकाइनुपर्छ भन्ने सवालमा ख्रीष्टियानहरूका लागि येशू प्रेरक व्यक्ति हुनुहुन्थ्यो । पुरुषहरूसँगै स्त्रीहरूलाई सिकाउनमा उहाँलाई कहिल्यै समस्या भएन ।

विश्वव्यापी शिक्षाको मार्गमा सबैभन्दा महत्त्वपूर्ण कदम सुधारवादी अभियानसँगै सोर्‍हौँ शताब्दीमा देखा पर्‍यो । ईश्वरशास्त्री मार्टिन लुथर यसका नायक थिए । तिनले राज्यको स्कुल प्रणालीमा दुवै लिङ्गका मानिसहरूलाई समावेश गर्न अनुरोध गर्नुका अतिरिक्त बुबाआमाका लागि छोराछोरीलाई नपढाउनु ‘लज्जास्पद र निन्दनीय’ कुरो थियो भनी व्यक्त गरे । सुसमाचारजस्तै शिक्षा निःशुल्क अनि यसमा लैङ्गीय र वर्गीय भेदभाद नहोस् भन्ने लुथरको इच्छा थियो । सुधारवादी अभियानका अर्का नायक जोन काल्भिनले पनि विश्वव्यापी शिक्षाको पक्षमा वकालत गरे । तिनको योजनामा सबैका लागि प्राथमिक शिक्षा र नागरिक तथा मण्डलीसम्बन्धी अगुवाइको लागि माध्यमिक शिक्षा समावेश थियो । प्रत्येक मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको छ (उत्पत्ति १:२६-२७), परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न (प्रेरित १०:३४) र हरेक व्यक्ति आफ्नो उद्धारको लागि आफै जिम्मेवार छ (यूहन्ना ३:१६) भन्ने जस्ता अवधारणाहरूले विश्वव्यापी शिक्षाको लागि मलजल गरे ।

। चाहे सरकारी होस् वा निजी, आज स्कुलको अवधारणा निकै सामान्य भइसकेको छ । स्कुलको धारणा पहिलो पटक सुधारवादी मार्टिल लुथरको मनमा जन्मेको थियो भनी साक्षीले देखाउँछ । तिनको समयअगि पढाउने काम मण्डलीले गर्थ्यो। एकातिर अधिकांश बुबाआमाहरू आफ्ना छोराछोरीलाई पढाउन असक्षम थिए भने अर्कोतिर कतिको शिक्षाप्रति रुचि नै थिएन । शिक्षाको कमीले मण्डली र समाजलाई अधोगतितिर लैजानेथियो भन्ने तिनको विश्वास थियो । सरकारले सैनिक हातहतियार, पुल, बाटोघाटो आदिजस्ता क्षेत्रमा पैसा लगानी गर्न सक्थ्यो भने जनताका लागि शिक्षामा किन सक्दैनथ्यो ? जनताको करबाट उठाइएको रुपियाँ-पैसा सरकारी स्कुलमार्फत जनतालाई शिक्षित पार्न लगानी गरिनुपर्थ्यो ।

प्रसिद्ध शिक्षाविद्साथै लेखक समुएल ब्लुमेनफेल्डले इज पब्लिक स्कुल नेसेसरी ? नामक आफ्नो कृतिमा सरकारी स्कुलको थालनीको अनुसन्धान गरेका छन् । सोर्‍हौँ शताब्दीमा जन्मेको सुधारवादमा यसको सुरु भएको थियो भन्ने तिनको निष्कर्ष छ, “लोकप्रिय शिक्षा अर्थात् हरेकको लागि शिक्षा भन्ने वर्तमान अवधारणा पहिलो पटक प्रोटेस्टेन्ट सुधारवादको समयमा युरोपमा उदय भयो ।” मध्य युरोपेली मुलुक बोहेमिया (हाल चेक गणतन्त्र) मा सोर्‍हौँ शताब्दीमा जन्मेका जोन आमोस कोमेनिसलाई ‘आधुनिक शिक्षाका पिता’ भनेर चिनिन्छ जसले विश्वव्यापी शिक्षाको वकालत गरे । तिनी ख्रीष्टियान ईश्वरशास्त्री तथा दार्शनिक थिए ।

आज शिक्षा अनिवार्य भएको छ । आँखा देख्नेहरूले मात्र नभई आँखा नदेख्नेहरूले पढ्ने प्रणाली अर्थात् ब्रेल लिपीको पनि विकास भइसकेको छ । कान सुन्नेहरूले मात्र नभई नसुन्नेहरूले पनि साङ्केतिक भाषाको माध्यमद्वारा औपचारिक शिक्षा हासिल गर्न सक्छन् ।

शिक्षाप्रतिको लगावको कारण ख्रीष्टियान मठाश्रमहरू अस्तित्वमा आए जसबाट विश्वविद्यालयहरू उदय भए भनी उपलब्ध साक्षीहरूले अङ्कित गर्छन् । इतिहासकार जोसेफ रेइथर लेख्छन्, “विश्वविद्यालयहरू मध्ययुगका सृष्टि हुन् ।” १०८८ मा इटालीमा स्थापित बोलोग्ना विश्वविद्यालयलाई संसारकै प्रथम विश्वविद्यालयको रूपमा लिइन्छ । अक्सफोर्ड, क्याम्ब्रिज, हार्बडजस्ता विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरू येशूको शिक्षाका नतिजास्वरूप देखा परेका शैक्षिक संस्थाहरू हुन् । उन्नासौँ शताब्दीसम्म स्थापित प्रायः सबै विश्वविद्यालयमा कानुन, ईश्वरशास्त्र वा औषधी विज्ञान जेसुकै विषयको पढाइ भए तापनि ती ख्रीष्टियान संस्थाको रूपमा स्थापित शिक्षालयहरू थिए ।

ख्रीष्टियान सिद्धान्त पढाइने स्कुलहरू, मण्डलीको मातहातमा स्थापित स्कुलहरू, मठाश्रमहरू, मध्यकालीन विश्वविद्यालयहरू, दृष्टिविहीन र सुन्न नसक्नेहरूका निम्ति खोलिएका स्कुलहरू, सन्डे स्कुलहरू, आधुनिक कलेजसाथै विश्वविद्यालयहरू, विश्वव्यापी शिक्षा सबैमा एउटा कुरो साझा छ— यी सबै ख्रिस्टियमतका नतिजाहरू हुन् ।

मानिसहरूले आफै बाइबल पढ्न सकुन् भनेर संसारका धेरैजसो भाषा ख्रीष्टियान मिसनरीहरूद्वारा लिपिबद्ध गरिए । यो कुरो आज पनि उत्तिकै साँचो छ । विक्लिफ बाइबल अनुवादकहरूजस्ता संस्थाहरू संसारका विभिन्न जातिका भाषाहरूको जगेर्नामा लागि परेका छन् । स्थानीय भाषामा बाइबलको अनुवाद साक्षरताको विकास हो । ख्रिस्टियमतले युरोप र अमेरिकालाई मात्र शिक्षित पार्न मदत गरेन तर गत दुई शताब्दीमा मूलतः ख्रीष्टियान मिसनरीहरूले तेस्रो विश्वका मुलुकहरूका अरबौँ मानिसलाई पनि शिक्षित पार्न मदत पुर्‍याएका छन् । संसारमा कुनै शक्तिले भन्दा ख्रिस्टियमतले शिक्षा र साहित्यको विकासमा बेसी योगदान पुर्‍याएको छ भन्दा अत्युक्ति हुँदैन ।

संसारको चारैतिर फैलँदै आएको शिक्षाको ज्योति हाम्रो भूमिमा पनि आइपुग्यो । ख्रिस्टाब्द १८५४ मा नेपालमा पहिलो औपचारिक स्कुल (दरबार हाई स्कूल) को स्थापना भयो यद्यपि यो धनी वर्गको लागि मात्र थियो । १९५१ मा प्रजातन्त्रको आगमनसँगै शिक्षाको बिस्तारले तीव्रता पायो । २०१० सम्ममा आइपुग्दा नेपालमा झन्डै ५०,००० स्कुल स्थापित भइसकेका थिए । २०२१ को सरकारी तथ्याङ्कअनुसार नेपालमा ७६.२% जनसङ्ख्या साक्षर छन् जसमध्ये ८३.६% पुरुष छन् भने ६९.४% महिला छन् । मानिसहरूले येशू ख्रीष्टप्रति जस्तोसुकै दृष्टिकोण राखे तापनि उहाँको हितकर प्रभावको हिस्साको रूपमा उदय भएको शिक्षाको ज्योतिले सारा संसारलाई झिलिमिली पारी नेपालका ७६.२% भन्दा बढी मानिसलाई उज्यालोमा हिँड्न मदत पुर्‍याएको छ र यो क्रम जारी छ ।

 

(लेखक कमल अधिकारीको आठौँ पुस्तक सभ्यता निर्माणमा ख्रीष्टियान योगदान नामक पुस्तकबाट साभार)

लेखक परिचय: कमल अधिकारी बाइबल शिक्षक, लेखक तथा अनुवादक हुन् । ९ ओटा पुस्तकका लेखक तिनले ७७ ओटा पुस्तक-पुस्तिका अनुवाद गर्नुका अतिरिक्त १७५ ओटाभन्दा बढी पुस्तक-पुस्तिका सम्पादन गरिसकेका छन् । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने तिनी आफूलाई रक्षाशास्त्री भन्न रुचाउँछन् ।

Facebook Comments

Powered by Youth Circle