सुसमाचारलाई स्वीकार गर्ने दक्षिण कोरियाले चौतर्फी प्रगति गरेको छ 

कोरिया पूर्वोत्तर एसियामा अवस्थित प्रायद्वीप हो । ९१९ मा यो क्षेत्र एउटा राज्य बनेको थियो तर १९४८ मा उत्तर कोरिया र दक्षिण कोरिया गरी यो दुईवटा देशमा विभाजन भयो । कोरिया प्रायद्वीपको उत्तर-पश्चिममा चीन पर्छ भने उत्तर-पूर्वमा रुस । अन्य किनाराहरू समुद्रले घेरिएका छन् ।

२,२३,१५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोरियाको भाषा कोरियाली हो । २०१७ मा यहाँको जनसङ्ख्या ७ करोड ७० लाख अनुमान गरिएको थियो । उत्तर कोरियाको राजधानी प्योङयाङ हो भने दक्षिण कोरियाको राजधानी सियोल । सियोल कोरियाकै सर्वाधिक ठुलो सहर पनि हो ।

सामन धर्म कोरियाको सबैभन्दा पुरानो धर्म हो । यस धर्ममा दैत्य वा प्रेतात्माहरूमाथि विश्वास गरिन्छ । ख्रिस्टाब्द चौथो शताब्दीमा कोरियामा बुद्ध धर्मलाई परिचित गराइयो । जोजिएन वंशको समयमा कन्फ्युसियस धर्म राज्यको दर्शनको रूपमा स्थापित नहुञ्जेलसम्म बुद्ध धर्मको प्रभाव कायमै रहृयो । कोरियामा सत्रौँ शताब्दीको आरम्भतिर नै ख्रिस्टियमतको परिचय गराइएको भए तापनि उन्नाइसौँ शताब्दीमा आएर यसले दिगो प्रभाव पारेको थियो ।

यि ग्वाङ्ग-जाङ्ग जोजिएन वंशका कोरियाली कूटनीतिज्ञ थिए । ख्रिस्टाब्द १५६३ मा धनी परिवारमा जन्मेका तिनी औपचारिक कामको सिलसिलामा चीन पुगे । तिनले चीनमा सेवा गरिरहेका इटालीका ख्रीष्टियान अगुवा मत्तियो रिचीद्वारा लिखित केही ईश्वरशास्त्रीय पुस्तक हात पारे । ती पुस्तकहरू लिएर तिनी चीनबाट कोरिया फर्के । तिनले ती पुस्तकहरूमा भएका जानकारीलाई प्रचारप्रसार गर्न थाले । यसरी कोरियाली भूमिमा पहिलो पटक ख्रिस्टियमतको बिउ छरिएको थियो । तर शङ्काको दृष्टिले हेर्ने कोरियालीहरूले विभिन्न समयमा ख्रीष्टियानहरूको सतावट गर्नुका अतिरिक्त हत्या गरे । १७५८ मा ख्रीष्टियान धर्मलाई कानुनी रूपमा निषेध गरियो ।

ख्रीष्टियानहरूको विरोध गर्नेहरूमध्ये एक थिएः यि सङ्ग हन । उपमन्त्रीको पदमा रहेका तिनी ख्रीष्टियान फैलावटको विरुद्धमा क्रूरतापूर्वक उत्रे । तर मण्डलीको खेदो गर्ने शाऊलको जीवनमा जस्तै तिनको जीवनमा १८० डिग्रीको परिवर्तन आयो । तिनले १७८५ मा पुनः ख्रिस्टियमतलाई परिचित गराएपछि कोरियाली ख्रीष्टियानहरूले फ्रान्सेली तथा चिनियाँ अगुवाहरूलाई तिनीहरूका मातृभूमिमा आई सेवा गर्न निमन्त्रणा दिए । हन सतावटकर्ताबाट प्रचारक मात्र बनेनन् तर ख्रीष्टको खातिर सहिद बनी यस धरतीबाट बिदा भए ।

जोजिएन सत्ताले नयाँ धर्म अर्थात् ख्रिस्टियमतलाई विद्रोही प्रभावको रूपमा हेरी सतावट ल्याउन सुरु गर्‍यो । १८६६ मा यो कदम पराकाष्ठामा पुगेको थियो जुन बेला ८,००० ख्रीष्टियानलाई मृत्युको मुखमा पुर्‍याइयो ।

१८३२ मा जर्मनीका कार्ल गुट्ज कोरिया गए र तिनले चिनियाँ बाइबलहरू वितरण गरे । तिनलाई कोरियामा मिसनरी भएर जाने प्रथम प्रोटेस्टेन्ट मिसनरीको रूपमा लिइन्छ ।

ब्रिटेनका सिपालु भाषाविद् रोबर्ट जे. थोमस चीनमा आए । कोरियालीहरूबाट थोरै कोरियाली भाषा सिकी तिनीहरूको मदतद्वारा तिनले कोरियाली भेषभुषा लगाएर सुटुक्क बन्द मुलुकमा प्रस्थान गर्ने योजना बनाए । त्यस बेलासम्म कोरियाली भाषामा कुनै बाइबल उपलब्ध नभएकोले तिनले चिनियाँ भाषाका बाइबलहरू बटुले । १८६५ मा दक्षिण कोरियाको तटमा पर्ने एउटा टापुमा उत्री रोबर्टले बाइबलहरू वितरण गर्न थाले । साढे दुई महिनाको बसाइमा तिनले कोरियालीहरूलाई अवलोकन गर्नुका अतिरिक्त तिनीहरूको भाषाबारे आफ्नो ज्ञानलाई वृद्धि गरे । कोरिया जाने रोबर्ट दोस्रा ज्ञात प्रोटेस्टेन्ट मिसनरी हुन् । १८६६ मा रोबर्ट दोस्रो पटक कोरिया पुगे । तिनको उद्देश्य सुसमाचार फैलाउनु थियो । तर त्यही साल कोरियालीहरूले रोबर्ट र तिनको टोलीमाथि आक्रमण गरी तिनीहरूको हत्या गरिदिए । रोबर्टको मृत्युपश्चात् तिनको प्रभाव बढ्यो । केवल पन्ध्र वर्षपछि प्योङयाङमा सैयौँ मण्डली स्थापना भए र यो एउटा बलियो ख्रीष्टियान केन्द्र बन्यो ।

कोरियाली भूमिमा ख्रीष्टियान इतिहासको चर्चा गर्दा होरास न्युटन अल्लेन अर्का सम्झनलायक नाउँ हो । तिनी मिसनरी, डाक्टर तथा कोरियाका लागि राजदूत थिए । १८८४ मा कोरिया आएका तिनले १९०५ सम्म सेवा पुर्‍याए ।

कोरियामा १९४५ सम्म ख्रीष्टियान वृद्धि न्युन थियो । त्यस साल केवल २% जनसङ्ख्या ख्रीष्टियान थिए । कोरियाली युद्धपश्चात् ख्रीष्टियानहरूको सङ्ख्या तीव्र गतिमा फैलियो । १९९१ सम्म आइपुग्दा २५% जनसङ्ख्या येशूका अनुयायी बने । हाल दक्षिण कोरियामा ३१% जनसङ्ख्या ख्रीष्टियान छन् भने उत्तर कोरियामा २% भन्दा कम ।

१९१०-१९४५ सम्म कोरिया जापानको नियन्त्रणमा थियो । रुसको जोडमा दोस्रो विश्वयुद्धपश्चात् कोरिया टुक्रियो । उत्तरपट्टि कम्युनिस्ट राज्य लादियो र १९५० मा यसले दक्षिण कोरियामाथि आक्रमण सुरु गर्‍यो । तीन वर्षसम्म लम्बिएको कोरियाली युद्ध (१९५०-१९५३) ले ठुलो क्षति लिएर आयो । उत्तर कोरियामा एउटै मात्र स्वीकारयोग्य धर्म छ जसलाई ‘छन्दोवाद’ भनिन्छ र अन्य सबै धर्मलाई दमन गरिन्छ । १९९४ देखि ३० लाखभन्दा बेसी मानिस भोकले मरिसकेका छन् । सतावटको कारण उत्तर कोरियामा हजारौँ ख्रीष्टियानले ज्यान गुमाइसकेका छन् भने हाल एक लाख ख्रीष्टियान श्रम शिविरमा राखिएका छन् । उत्तर कोरियामा २% भन्दा कम ख्रीष्टियान छन् भनी अनुमान गरिएको छ । बाइबल राख्नु, ‘परमेश्वर’ वा ‘येशू’ को नाउँ लिनु वा विश्वासीहरू भेटघाट हुनुजस्ता गतिविधिलाई गैरकानुनी ठहराई यस्तो अभ्यास गर्ने मानिसहरूलाई मृत्युदण्ड दिइन्छ ।

सुसमाचारलाई इन्कार गर्ने उत्तर कोरियाको तुलनामा स्वीकार गर्ने दक्षिण कोरियाले चौतर्फी प्रगति गरेको छ । कोरियाली युद्धले क्षतविक्षत तुल्याएपछि गरिब मुलुकको रूपमा चिनिएको दक्षिण कोरिया द्रुत औद्योगिकीकरण र आधुनिकतासँगै संसारमै एघारौँ धनी देशमा उभिन सफल भयो । यहाँ पूणर् धार्मिक स्वतन्त्रता कायम छ ।

दक्षिण कोरियामा ५० हजारभन्दा बेसी मण्डली छन् । संसारकै केही सर्वाधिक ठुला ईश्वरशास्त्रीय कलेजहरू भएको यस मुलुकमा द्रुतगतिमा मण्डलीहरू वृद्धि भएका छन् । संसारका दशवटा ठुला मण्डलीमध्ये छवटा यहीँ छन् ।

मिसनरीहरू पठाउने देशहरूको सूचीमा पहिले अमेरिका आउँछ भने दोस्रोमा दक्षिण कोरिया । दक्षिण कोरियाले करिब १७५ ओटा मुलुकमा २१,५०० भन्दा बेसी मिसनरी पठाएको छ । कठिनभन्दा कठिन मुलुकहरूमा पनि मिसनरीहरू पठाई त्यस भूमिलाई सुसमाचारको पानीले सिँचित गर्ने कार्यमा दक्षिण कोरिया चिरपरिचित मुलुक हो । पूर्वीय जगत्‌को मुलुक भइकन पनि र यहाँका दुई-तिहाइ जनसङ्ख्या गैरख्रिस्टियान भए तापनि दक्षिण कोरियाले यतिका मुलुकहरूमा यति धेरै मिसनरीहरू पठाउन सक्षम हुनु तिनीहरूका लागि गर्वको कुरो हो । एक जना कोरियाली मिसनरीको भनाइअनुसार एउटा उक्ति छ कि कोरियालीहरू नयाँ ठाउँमा जाँदा तिनीहरूले मण्डली स्थापना गर्छन्; चिनियाँहरूले रेस्टुरेन्ट स्थापना गर्छन् भने जापानीहरूले कारखाना बनाउँछन् ।

कोरियामा ख्रीष्टियान प्रभाव व्यापक छ जसमध्ये शैक्षिक क्षेत्र एउटा हो । यस क्षेत्रमा ख्रीष्टियान प्रभाव निर्णायक बनेको छ । मिसनरीहरूले २९३ ओटा स्कुल र ४० ओटा विश्वविद्यालय स्थापन गरी स्थानीयहरूलाई शिक्षित पारे । मुलुकका शीर्ष पाँचवटा शैक्षिक संस्थामध्ये तीनवटा ख्रीष्टियान रहेका छन् । शिक्षालाई व्यापक बनाउनुका साथै पाश्चात्य आधुनिकतालाई भित्रयाउनमा पनि ख्रिस्टियमतको हात रहेको छ ।

कोरियाका सामाजिक तथा राजनीतिक घटनाहरूमा ख्रीष्टियान मण्डलीहरूको भूमिका प्रभावशाली रहेको छ । ख्रीष्टियान धर्म मध्यम वर्गीय, युवा, बौद्धिक र सहरवासीहरूको आस्थाको रूपमा देखिएको छ । ख्रीष्टियान आस्था कोरियाली जीवनको गतिशील शक्ति बन्नुका साथै यसले अन्य धर्महरूमा पनि सकारात्मक प्रभाव पारेको छ । दक्षिण कोरियाको नाटकीय आर्थिक वृद्धिमा ख्रिस्टियमतको महत्त्वपूर्ण भूमिका रहेको छ भनी कोरियालीहरू विश्वास गर्छन् । तिनीहरूका अनुसार सफलता र उन्नति परमेश्वरको आशिष्का सङ्केतहरू हुन् ।

(लेखक कमल अधिकारीको आठौँ पुस्तक सभ्यता निर्माणमा ख्रीष्टियान योगदान नामक पुस्तकबाट साभार)

Facebook Comments

Powered by Youth Circle