ख्रीष्टियान विश्वास बौद्धिक विश्वास

पुस्तकको नाम : ख्रीष्टियान विश्वास बौद्धिक विश्वास
सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : १५९
मूल्य रु. : १५०
प्रकाशक : कमल अधिकारी
प्रकाशन मिति : २०२०

 

यो ख्रीष्टियान रक्षाशास्त्रबारे लेखिएको पुस्तक हो । रक्षाशास्त्र ख्रीष्टियान ईश्वरशास्त्रको एउटा हाँगा हो जसले ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्दछ । चारवटा भागमा वर्गीकृत यो पुस्तकलाई थप सत्रवटा अध्यायमा विभाजन गरिएको छ । यस कृतिमा तपाईंले रक्षाशास्त्रको परिचय, बाइबल, येशू ख्रीष्ट र परमेश्वरको अस्तित्वको बारेमा पढ्न पाउनुहुन्छ । रक्षाशास्त्रबारे एउटा अध्याय समर्पित छ भने बाइबलबारे पाँचवटा अध्याय । येशूको बारेमा दशवटा अध्याय समर्पित छ भने परमेश्वरको बारेमा एउटा अध्याय ।

पहिलो भाग रक्षाशास्त्रको परिचयमा समर्पित छ । यसमा भएको एउटै मात्र अध्यायमा रक्षाशास्त्र भनेको के हो र हामी किन यसमा संलग्न हुनुपर्छ भनी प्रस्ट पारिएको छ ।

दोस्रो भागले बाइबलको पक्षमा वकालत गर्छ । संसारका सबै धर्मशास्त्रसाथै पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी दोस्रो अध्यायमा शानदार ढङ्गमा व्यक्त गरिएको छ । बाइबल कुनै वैज्ञानिक पाठ्यपुस्तक नभए तापनि यसमा आधुनिक समयमा पत्ता लगाइएका कतिपय वैज्ञानिक तथ्यहरूको उपलब्धता एउटा तार्किक व्यक्तिको लागि विस्मयकारी हुनैपर्छ भनी तेस्रो अध्यायमा उल्लेख गरिएको छ । चौथो अध्यायमा तपाईंले बाइबलमा अभिलिखित भविष्यवाणीहरू कसरी विस्मयकारी ढङ्गमा पूरा भए भनी देख्नुहुन्छ । के बाइबल एउटा ऐतिहासिक ग्रन्थ हो ? पाँचौँ अध्यायमा तपाईं पुरातत्त्वविद्याद्वारा फेला पारिएका कैयौँ खोजहरूसित जम्काभेट गर्नुहुने छ जसले तपाईंलाई सकारात्मक जवाफ दिन्छ । बाइबल प्राचीन समयमा लिखित ख्रीष्टियानहरूको धर्मशास्त्र भए तापनि यसले मानव-जातिको चौतर्फी पाटोमा प्रभाव पारेको छ र हामीले प्राप्त गरेका कैयौँ लाभहरू बाइबलका नतिजाहरू हुन् भनी छैटौँ अध्यायमा व्यक्त गरिएको छ ।

तेस्रो भाग येशूको बारेमा हो । यस धरतीमा बाँचेका सबै व्यक्तिहरूमध्ये येशू कसरी र कुन-कुन क्षेत्रमा फरक हुनुहुन्छ भनी सातौँ अध्यायले छर्लङ्ग पार्छ । पुरानो करारमा अभिलिखित कैयौँ भविष्यवाणीहरू नासरतका येशूको जीवनमा पूरा भएकाले उहाँ अलौकिक व्यक्तित्व हुनुहुन्छ भनी आठौँ अध्यायले तर्क गर्छ । येशू दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बाँच्नुभए तापनि उहाँको निष्पाप जीवन उहाँको ईश्वरत्वको साक्षी दिने अर्को प्रमाण हो भनी नवौँ अध्यायमा प्रस्ट पारिएको छ । येशू क्रूसमा मर्नुभएन भनी कतिपय मानिसहरूले दाबी गरे तापनि ऐतिहासिक दस्ताबेजहरूको अध्ययनको आधारमा उहाँको क्रुसारोहणलाई शङ्का गर्न सकिँदैन भनी दसौँ अध्यायमा छर्लङ्ग पारिएको छ । के येशू मरेकाहरूबाट पुनरुत्थान हुनुभयो ? एघारौँ अध्यायमा यस्ता तर्कहरू पेस गरिएका छन् जसलाई अध्ययन गर्दा तपाईंले आशङ्का गर्न सक्नुहुन्न । येशूले कहिल्यै ‘म परमेश्वर हुँ’ भनी सिधै आफ्नो ईश्वरत्वको दाबी नगर्नुभए तापनि उहाँका दाबीसाथै कामहरूबाट उहाँले आफ्नो ईश्वरत्वको दाबी गर्नुभएको छ भन्ने तथ्य काँचझैँ छर्लङ्ग छ भनी बार्‍हौँ अध्यायमा प्रस्ट पारिएको छ । येशूले आफ्नो ईश्वरत्वको दाबी मात्र गर्नुभएको छैन तर त्यसको लागि दरिला साक्षीहरू पनि पेस गर्नुभएको छ भनी तेर्‍हौँ अध्यायले जानकारी दिन्छ । चौधौँ अध्यायमा येशूको शिक्षाले संसारमा ल्याएका मनग्गे रूपान्तरणहरूको चर्चा गरिएको छ । अन्य परिचित धार्मिक अगुवाहरूसित येशूको तुलना गर्दा उहाँ कसरी फरक हुनुहुन्छ भनी पन्ध्रौँ अध्यायमा उल्लेख छ । येशू ख्रिस्टियमतका संस्थापक हुनुभए तापनि विभिन्न धर्महरूले उहाँको बारेमा आआफ्नै सकारात्मक दृष्टिकोण बनाएका छन् भनी सोर्‍हौँ अध्यायमा चर्चा गरिएको छ ।

चौथो भाग परमेश्वरको विषयबारे हो । के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? अन्तिम अर्थात् सत्रौँ अध्यायले उहाँको अस्तित्वको पक्षमा दरिला साक्षीहरू पेस गरेको छ ।

Facebook Comments

Powered by Youth Circle