सभ्यता निर्माणमा ख्रीष्टियान योगदान

पुस्तकको नाम : सभ्यता निर्माणमा ख्रीष्टियान योगदान
लेखक/सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : २७२
मूल्य रु. : २५०
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०२२
ISBN : 978-9937-1-2780-6

 

पुस्तकको नामबाटै प्रस्ट छ कि यो सभ्यता निर्माणमा ख्रीष्टियान योगदानबारे लिखित रचना हो । ख्रीष्टियान शिक्षाको नतिजास्वरूप मानव इतिहासमा अभ्यास गरिएका मनग्गे कुरीतिहरू मात्र निर्मूलन भएनन् तर सूरीतिहरू पनि स्थापना भए । धेरै समाज रूपान्तरित भएका छन् जसका लागि ख्रीष्टियान नायकहरू प्रशंसाका पात्र हुन् । पुस्तकमा भएका ५२ ओटा अध्याय चार भागमा विभाजित छन् । प्रत्येक भागमा १३/१३ ओटा अध्याय पाउनुहुने छ ।

पहिलो भाग कुरीतिहरूको उन्मूलनसित सम्बन्धित छ । ख्रीष्टियान शिक्षाको नतिजास्वरूप सतीप्रथा, दासप्रथा, जातीयप्रथा, देवदासीप्रथा, नरबलिप्रथाजस्ता अमानवीय चलनहरू मात्र हटेर गएनन् तर धेरै देशमा बालविवाह र बहुविवाहलाई पनि कानुनी रूपमा निषेध गरिएको छ । ख्रीष्टियानहरूको प्रभावसँगै प्राचीन ग्रिक-रोमी संसारमा अभ्यास गरिने शिशु-हत्या र शिशु-त्यागजस्ता दुष्कर्महरू पनि इतिहास बनेर गए । हरेक मान्छे मूल्यवान् छ भन्नेजस्ता बाइबलीय धारणाले गर्दा मान्छेको मासु खाने अभ्यास अर्थात् नरभक्षण निर्मूलन गरियो । दक्षिण अफ्रिकामा रङ्गभेद उन्मूलनमा मण्डलीको भूमिका उल्लेखनीय रह्यो । चीनमा बालिकाहरूको खुट्टा बाँध्ने पीडादायी चलनको उन्मूलनको लागि ख्रीष्टियान मिसनरीहरू प्रशंसाका पात्र हुन् । प्राचीन रोममा खेलको नाउँमा मान्छे मार्ने अभ्यासमा ख्रीष्टियानहरूको प्रभावसँगै पूणर्विराम लागेको थियो ।

दोस्रो भागमा सुरीतिहरूको स्थापनाबारे चर्चा गरिएको छ । अमानवीय प्रथाहरू मात्र हटेर गएका छैनन् तर मानवीय प्रथाहरू स्थापना पनि भएका छन् । शिक्षा, स्वास्थ्य, विज्ञान, कानुन, मानव अधिकारजस्ता सुरीतिहरूको स्थापना र उन्नतिका लागि ख्रीष्टियान अगुवाहरूले खेलेका भूमिका सर्वदा तारिफयोग्य छ । पाश्चात्य जगत्‌मा नारीहरूले पाएका स्वतन्त्रताबाट पूर्वीय जगत्‌का नारीहरूले पाठ सिक्दै छन् । विश्वका अधिकांश देशमा लोकतन्त्रको उदय र विकासमा बाइबलीय प्रभाव छर्लङ्ग छ । परोपकार ख्रीष्टियान जगत्‌ले संसारलाई दिएको अर्को अनमोल उपहार हो । कला, साहित्य र सङ्गीतको दुनियाँमा ख्रीष्टियान योगदान अभूतपूर्व छ । श्रमलाई सुकर्मको रूपमा स्थापित गर्ने ख्रीष्टियान नीतिशास्त्र संसारको अर्थशास्त्रमा महत्त्वपूर्ण हिस्सा बनेको छ । संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको ग्रेगोरी पात्रो येशूको जन्मको प्रभावमा रचित पात्रो हो ।

तेस्रो भागले समाजहरूको रूपान्तरणबारे सम्बोधन गर्छ । यसमा महादेश, देश, जातिहरू पहिला कस्ता थिए र येशूको सुसमाचारले प्रवेश पाएसँगै कस्ता भए भनी उल्लेख गरिएको छ । विज्ञान, प्रविधि, चिकित्सा, कला, साहित्य, सङ्गीत, रानजीति, दर्शनशास्त्र, नीतिशास्त्रसाथै व्यवसायजस्ता मनग्गे क्षेत्रमा युरोपेली ख्रीष्टियानहरूको योगदान उल्लेखनीय रहेको छ र संसार युरोपेली ख्रीष्टियान शिक्षाप्रति सधैँ ऋणी छ । अमेरिका ख्रीष्टियान मूल्य-मान्यतामा स्थापित मुलुक हो । बेलायती मूल्य-मान्यताहरू ख्रीष्टियान मूल्य-मान्यताहरू हुन् र ख्रिस्टियमतको प्रभावले नै बेलायतलाई पृथ्वीकै एक सर्वाधिक सहिष्णु र सफल देश बनायो । दक्षिण कोरियाको नाटकीय आर्थिक वृद्धिमा ख्रिस्टियमतको महत्त्वपूर्ण भूमिका रहेको छ भनी कोरियालीहरू विश्वास गर्छन् । विविध भाषा र संस्कृतिले भरिपूर्ण अस्ट्रेलियामा अस्पताल, स्कुल, विश्वविद्यालय, मण्डली, जेष्ठ नागरिक सेवा, मानव कल्याण सङ्घ-संस्था, राजनीति, चाडपर्व, विविध समाजहरूको स्थापनामा ख्रीष्टियान योगदान छर्लङ्ग छ । प्राचीन समयमा जुन रोमले २५० वर्षसम्म मण्डलीको खेदो सतावट गरेको थियो आज त्यहीँ नै संसारकै सर्वाधिक ठुलो मण्डली खडा छ । बहुईश्वरवादबाट परिवर्तित ग्रिस यसको अद्वितीय सांस्कृतिक सम्पदा, विशाल पर्यटन उद्योग, पानी जहाजको लागि प्रमुख क्षेत्रसाथै भूगोलको दृष्टिले महत्त्वपूर्ण रणनीतिक स्थानमा छ । सुसमाचारको शक्तिको नतिजास्वरूप फिजीवासीहरू मान्छेको मासु खाने जङ्गली जातिबाट मान्छेको सेवा गर्ने सभ्य जातिमा रूपान्तरित भए । ख्रीष्टियान मिसनरीहरूको योगदानसाथै बलिदानको परिणामस्वरूप आज पपुवा न्युगिनीका बासिन्दाहरू सभ्यताको खुड्किलो चढ्दै छन् । सुसमाचारले बर्बर मानिसहरूलाई पनि परिवर्तन गरी सभ्यताको मार्गमा डोर्‍याउन सक्छ भन्नाका लागि भानुआटु अर्को उत्कृष्ट उदाहरण हो । सूर्य, चन्द्रमाजस्ता विविध थोकहरूलाई पुज्ने इक्वेडरका किचा जातिमा भएको सुसमाचारको प्रभावलाई आधुनिक समयको आश्चर्यकर्म नै मानिएको छ । मान्छेको सिकार गर्ने क्रूर नागाहरूको भूमि सुसमाचारको ज्योतिद्वारा झिलिमिलि भएको छ । लुटमारको लागि कहलिएका भाइकिङ्गहरूको परिवर्तन सम्भवतः प्रभु येशू ख्रीष्टको सुसमाचारको शक्तिको सर्वोत्तम नमुना हो ।

भाग ४ मा तपाईंले प्रभावशाली ख्रीष्टियानहरूको बारेमा पढ्न पाउनुहुन्छ । यस पाठमा प्रथम ख्रीष्टियान सम्राट् कन्स्टेन्टाइन महान्‌को बारेमा मात्र उल्लेख भएको छैन तर दोस्रो सहस्राब्दीकै सर्वाधिक प्रभावशाली व्यक्ति योहान्नेस गुटेनबर्गको बारेमा पनि उल्लेख गरिएको छ जो छापाखानाका आविष्कारक हुन् । गुरुत्वाकर्षण नियमका आविष्कारक न्युटन एकातिर वैज्ञानिक जगत्‌का महान् मानिस थिए भने अर्कोतिर परमेश्वरमाथि विश्वास गर्ने महान् मानिस । नयाँ संसार पत्ता लगाउने क्रिस्टोफर कोलम्बस दृढ सङ्कल्प र साहसका उदाहरण हुन् जसले बाइबल धर्मशास्त्रबाट सामुद्रिक यात्रा गर्ने प्रेरणा पाए । विमानजस्तो अनुपम उपहार दिने राइट दाजुभाइ बिशपका छोराहरू थिए । मार्टिन लुथरको सुधारले मध्यकालको अन्त्य गरी आधुनिक कालको आरम्भ गरायो भन्दा फरक पर्दैन । यस ग्रहमा सबैभन्दा बढी मानिसलाई सुसमाचार सुनाउने प्रचारकहरूमा महानायक बिल्ली ग्राहम, गरिबहरूका मसिह मदर टेरेसा, सर्वश्रेष्ठ नाटककार विलियम सेक्सपिएर सबै नै बाइबलबाट प्रभावित थिए । आधुनिक दर्शनशास्त्रका पिता रेने डेकार्ट आफ्नो जीवनकालभरि नै भक्त ख्रीष्टियान रहे । नोबेल शान्ति पुरस्कार विजेता तथा सामाजिक अभियन्ता मार्टिन लुथर किङ्ग जुनिएर पास्टर थिए जसले अश्वेतहरूको मताधिकार, रङ्गभेदको अन्त्य र श्रमाधिकारसाथै अन्य आधारभूत हकको लागि अगुवाइ गरे । आधुनिक मिसनका पिता विलियम केरी आधुनिक भारतीय इतिहासमा एक केन्द्रित पात्र हुन् भने नास्तिकबाट ख्रीष्टियान बनेका महानतम रक्षाशास्त्री सी.एस. लुइस ख्रीष्टियानसाथै गैरख्रिस्टियान जगत्‌का अनमोल स्रष्टा हुन् ।

Facebook Comments

Powered by Youth Circle