ख्रीष्टियान मिसनरीहरूको पहलमा खुट्टा बाँध्ने असभ्य प्रथा हटेर गयो

२००७ मा एनपीआर नामक अमेरिकाको निजी रेडियाले जोऊ गुइजान नाउँ गरेकी ८६ वर्षीय चिनियाँ स्त्रीसित अन्तर्वार्ता लियो । खुट्टा बाँध्ने चिनियाँ प्रथाको कारण सिकार बनेका अनगिन्ती स्त्रीमध्ये गुइजान एक थिइन् । उनले भनिन्, “मेरा खुट्टा बाँधेकोमा मलाई पछुतो छ । म नाच्न सक्दिनँ; म उचित तवरले हिँड्न सक्दिनँ । मलाई धेरै पछुतो छ । तर त्यस बेला तपाईंले आफ्ना खुट्टा नबाँध्नुभएको भए कसैले तपाईंसित बिहे गर्दैनथ्यो ।” धनी परिवारमा उनको बिहे भएको थियो तर कम्युनिस्टहरूले उनका सबै धन-सम्पत्ति खोसेर लगिदिए । कुनै बेला चीनमा खुट्टा बाँध्ने प्रथालाई प्रतिष्ठाको सङ्केत मानिएको भए तापनि समय बित्दै गएपछि यसलाई असभ्य चलनको रूपमा हेरियो ।

चीनमा अभ्यास गरिएका पुराना चालचलनहरूमध्ये एउटा थियो– खुट्टा बाँध्ने प्रथा । सौन्दर्यको नाउँमा अभ्यास गरिएको सम्भवत: यो सबैभन्दा पीडादायी चलन थियो । बालिकहरूको खुट्टा ठुलो नहोस् भनेर चारदेखि दस वर्षको उमेरको बिचमा खुट्टा बाँध्ने गरिन्थ्यो । “लामो खुट्टा भएकी स्त्री कोठामा एकलै हुन्थी” भन्ने चिनियाँ लोकोक्ति नै थियो । स्त्रीहरूका सानो खुट्टालाई चिनियाँ समाजमा आकर्षक मानिन्थ्यो । यो प्रतिष्ठाको प्रतीक मात्र थिएन तर यौनको दृष्टिकोणबाट पनि उपयुक्त मानिन्थ्यो । यो सौन्दर्यको चिन्ह थियो र असल वैवाहिक जीवनको मार्ग थियो ।

खुट्टा बाँध्ने प्रक्रियामा खुट्टाका औँलाहरू भाँचिदा बालिकाहरू पीडाले चिच्च्याउँथे । चीनमा आधा जति स्त्री र उच्च वर्गका प्राय: सबै स्त्रीले खुट्टा बाँध्ने गर्थे । यो असाध्यै पीडादायक र शिथिल तुल्याउने चलन थियो । यस चलनको सबैभन्दा सामान्य समस्या भनेको सङ्क्रमण नै थियो । नियमित रूपमा खुट्टाका नङहरू काट्न होसियारी अपनाइने भए तापनि ती जुत्ताभित्रभित्रै बढ्थे जसले खुट्टाका औँलाहरूमा सङ्क्रमण निम्त्याउँथे । यही कारणले गर्दा कहिलेकाहीँ बालिकाका खुट्टाका सबै नङ निकालिन्थे । सङ्क्रमणको कारण स्त्रीहरू जीवनभरि अपाङ्ग हुन पुग्थे । खुट्टा बाँध्ने प्रथाको कारण उत्पन्न सङ्क्रमणको नतिजास्वरूप १०% बालिकाले ज्यान गुमाए भनी अनुमान गरिएको छ ।

खुट्टा बाँध्नु पछाडिका विविध कारण थिए जसमध्ये एउटा हो, सौन्दर्य । पुरुषहरूले सानो खुट्टा भएका स्त्रीहरू मन पराउँथे । खुट्टाको आकारअनुसार खुट्टालाई विभिन्न नाउँ दिइएको थियो । तीन इन्च लामो खुट्टालाई ‘स्वर्णीम कमलको फुल’ भनिन्थ्यो र यसको सर्वाधिक चाह गरिन्थ्यो । चार इन्चको खुट्टालाई ‘रजत कमलको फुल’ भनिन्थ्यो भने त्यसभन्दा लामोलाई ‘फलामे कमलको फुल’ भनिन्थ्यो र यसलाई यौनको दृष्टिकोणबाट आकर्षक मानिदैनथ्यो । पुरुषहरूले सानो खुट्टा भएका स्त्रीहरूको चाह गर्नुको अर्को कारणचाहिँ यसले स्त्रीहरूलाई बाध्य भएर पुरुषमा भर पर्न लगाउँथ्यो । खुट्टाले काम गर्न असक्षम हुने भएकाले त्यस्ता स्त्रीहरू घरमै बस्नुपर्थ्यो र अन्य पुरुषबाट विरलै सम्पर्कमा आउँथे ।

दसौँ शताब्दीमा छिमेकी मुलुक चीनमा खुट्टा बाँध्ने प्रथाको सुरुआत भएको थियो । लिऊ दक्षिण चीनका तृतीय शासक थिए जसले ९६१-९७६ सम्म शासन गरे । तिनले सुनबाट निर्मित ६ फिट अग्लो कमलको फुल बनाई विभिन्न पत्थर र धातुहरूले मोडे । आफ्नी उपपत्नी यायो नियाङलाई अर्धचन्द्राकार स्वरूपमा उनको खुट्टा बाँधी कमलको फुलमाथि नाच्न लगाए । भनिन्छ, उनको नृत्य यति शालीन थियो कि अरूले त्यसको नक्कल गर्न सुरु गरे । अन्य उच्च खानदानका महिलाहरूले खुट्टा बाँध्ने कार्यको अनुसरण गरेपछि यो अभ्यास फैलँदै गयो ।

मङ्गोल शासकहरूले आफ्ना प्रजालाई पनि उत्साह दिएपछि खुट्टा बाँध्ने चलन जनसाधारणमा पनि सामान्य बन्दै आयो । मिङ्ग राजवंश (१३६८-१६४४) सम्म आइपुग्दा यो अभ्यास प्रतिष्ठाको चिन्ह बन्यो । उन्नाइसौँ शताब्दीको अन्त्यसम्ममा ४०-५०% चिनियाँ स्त्रीका खुट्टा बाँधिएका थिए भने हान चिनियाँ जातिका उच्च वर्गका स्त्रीहरूमा भने सत प्रतिशत महिलाहरूका खुट्टा बाँधिन्थे । बाँधिएको खुट्टा सुन्दरताको प्रतीक मात्र बनेन तर पति पाउनलाई यो पूर्वसर्त पनि बन्यो । महिलाहरू, तिनीहरूका परिवार र तिनीहरूका पतिहरूले साना खुट्टामा निकै गर्व गर्थे । उन्नाइसौँ र बिसौँ शताब्दीको पूर्वार्द्धमा बाँधिएका खुट्टा भएका नर्तकीहरू लोकप्रिय थिए ।

खुट्टा बाँध्ने प्रथाको विरुद्धमा कतिपयले पहिलेदेखि नै आवाज उठाएका भए तापनि उन्नाइसौँ शताब्दीको उत्तर्रार्द्धमा ख्रीष्टियान मिसनरीहरू यसको विरुद्धमा सक्रिय भएपछि मात्र यो प्रथा हराउँदै जान थाल्यो । मिसनरीहरूले स्त्रीहरूलाई शिक्षाबाट जागरुक तुल्याए र खुट्टा बाँध्ने प्रथालाई असभ्य ठाने । शिक्षा र पर्चाद्वारा तिनीहरूले उच्च वर्गका मानिसहरूको बुझाइमा परिवर्तन ल्याउन भूमिका खेले । संसारको अन्य कुनै पनि संस्कृतिमा यस्तो किसिमको प्रथा थिएन भनी जोड दिइयो ।

मिसनरी जोन मेगावन एक प्रमुख अभियन्ता थिए । १८७५ मा तिनले करिब ७० जना चिनियाँ ख्रीष्टियान स्त्रीहरूको बैठक बोलाई यस प्रथाको विरोध गर्न आव्हान गरे । खुट्टा बाँध्ने प्रथा एउटा गम्भीर समस्या थियो जसले पूरै चिनियाँ सभ्यताप्रति आशङ्का पैदा गर्छ भन्ने मेगावनको राय थियो । उपस्थितहरूमध्ये नौ जना स्त्रीले आफ्ना छोरीहरूका खुट्टा नबाँध्न मात्र सहमति जनाएनन् तर त्यसरी बाँधिएका स्त्रीहरूसित आफ्ना छोराहरूको बिहे नगराउन पनि राजी भए ।

मेगावनले बुद्ध धर्मका सुधारक काङ्ग युएईलगायत चिनियाँ बौद्धिकहरूलाई खुट्टा बाँध्ने चलनको विरोध गर्न पनि अभिप्रेरित गरे । १८८३ मा काङ्गले खुट्टा बाँध्न विरोध गर्ने समाजको स्थापना गरे र १८९८ मा तिनले सम्राट्लाई ज्ञापन-पत्र बुझाए जसमा खुट्टा बाँध्ने प्रथालाई उन्मूलन गर्न निवेदन गरिएको थियो । यस्तो प्रथाको कारण अन्तर्राष्ट्रिय समुदायको आँखामा चीन हाँसोको मुलुक बनेको थियो भन्ने काङ्गको तर्क थियो ।

ब्रिटिस लेखक अलिसा लिट्टिल खुट्टा बाँध्ने प्रथाको विरुद्धमा उत्रने अर्का अभियन्ता थिइन् । यस प्रथाको विरुद्धमा उत्रन १८९५ मा उनको नेतृत्वमा एउटा समाजको स्थापना भयो । १८९९ मा उनले ६०० पृष्ठको पुस्तक प्रकाशित गरिन् जसमा उनले विविध विषयबारे सम्बोधन गरेकी थिइन् जसमध्ये एक खुट्टा बाँध्ने प्रथा थियो र यसले पाठकहरूको ध्यान खिँचिहाल्यो ।

तिमोथी रिचार्ड अर्का सम्झनलायक पात्र हुन् जो युरोपेली मुलुक वेल्सदेखि चीनमा मिसनरी भएर आएका थिए । चीनको आधुनिकीकरण र गणतान्त्रिक चीनको उदयमा तिनको प्रभाव देखिन्छ । नैतिक, सामाजिक र आत्मिक रूपमा पुरुष र स्त्री बराबर छन् भन्ने धारणालाई ख्रिस्टियमतले बढुवा गर्न सक्छ भनी ठानेका रिचार्डले खुट्टा बाँध्ने प्रथाको निषेधमा टेवा पुर्‍याएका थिए ।

खुट्टा बाँध्ने प्रथाको विरोध गर्ने अन्य सङ्घ-संस्थाहरू पनि द्रुतगतिमा देखा परे । अन्तत: चिनियाँ ख्रीष्टियान स्त्रीहरूले यस प्रथालाई निमिट्ट्यान्न पार्न अगुवाइ गरे । उदाहरणको लागि, सि मेयुलाई लिन सकिन्छ । मेरी स्टोन पनि भनेर चिनिने उनी पास्टरकी छोरी थिइन् । उनको समयमा छोरीको खुट्टा बाँध्ने चलन भए तापनि बुबाले उनको खुट्टा बाँधेका थिएनन् । अमेरिकी विश्वविद्यालयबाट मेडिकल डिग्री प्राप्त गर्ने उनी प्रथम चिनियाँ नारी थिइन् । चीनमा दुईवटा अस्पताल स्थापना गरेकी उनले खुट्टा बाँध्ने प्रथाको उन्मूलनको लागि अथक प्रयत्न गरिन् ।

खुट्टा बाँध्ने विरोधका अभियानहरूले उल्लेखनीय रूपमा सफलता हासिल गरे । १९०२ मा सम्राज्ञी डाओजर सिक्सीले यस प्रथालाई निषेध गर्ने आदेश दिइन् यद्यपि उक्त आदेश खारेज गरियो । १९१२ मा गणतान्त्रिक चीनको स्थापना भएसँगै शताब्दीऔँ पुरानो खुट्टा बाँध्ने प्रथा कानुनी रूपमा उन्मूलन भयो । १९४९ सम्म आइपुग्दा केही ग्रामीण क्षेत्रहरूमा बाहेक यो पूर्णत: हटेर गयो ।

नारीवादीहरूको दृष्टिमा खुट्टा बाँध्ने चलन विभेदकारी छ । यसले स्त्रीहरूलाई दमन गर्छ र यो स्त्रीको विरुद्धमा गरिने हिंसा हो । खुट्टा बाँधिएका स्त्रीहरू परिवारमा र खास गरी पुरुषमा निर्भर हुनुपर्थ्यो । यस्तो किसिमको अभ्यासले स्त्रीहरू पुरुषमा भर पर्नुपर्थ्यो भन्ने सन्देश दिन्थ्यो । चिनियाँ नारीवादको इतिहासमा खुट्टा बाँध्ने प्रथाको अन्त्यलाई उल्लेखनीय उपलब्धिको रूपमा लिइन्छ । मूलत: ख्रीष्टियान मिसनरीहरूको पहलमा चीनमा शताब्दीऔँ पुरानो यस असभ्य चलनको अन्त्य भयो र स्त्रीहरू फेरि यस पीडादायी प्रथाको सिकार हुनुपरेन ।

Facebook Comments

Powered by Youth Circle