२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गर्यो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलिका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ थिए र मानव बलि दिइएको खण्डमा निको हुने अपेक्षासहित बालकको हत्या गरिएको थियो । जिल्ला अदालतले पुजारीसहित घटनामा संलग्न ११ जनालाई दोषी ठहर गरी सजाय सुनायो ।
मानिसलाई काटेर दिइने बलिलाई नरबलि अर्थात् मानव बलि भनिन्छ । इतिहासभरि विभिन्न संस्कृतिमा विविध उद्देश्यसहित नरबलिको अभ्यास गरिएको पाइन्छ । धार्मिक रीतिको नाउँमा देवी-देवता वा मृतकका आत्माहरूलाई खुसी पार्न नरबलि दिने काम गरिन्थ्यो । मेक्सिकोमा विशाल पिरामिड अर्पण गर्दा त्यहाँका बासिन्दाहरूले हजारौँ मानिसलाई बलि दिए । युद्धमा सफल भइन्छ भन्ने अपेक्षासहित पनि देवी-देवतालाई नरबलि चढाइन्थ्यो । कतिपय संस्कृतिमा नरबलि धार्मिक रीतिकै एउटा हिस्सा थियो ।
इतिहासमा विविध भूगोलसाथै जातिहरूका बिचमा नरबलिको अभ्यास गरिएको पाइन्छ । प्राचीन मिश्रमा नरबलि दिइन्थ्यो । फोनिकेसाथै कार्थेजबासीहरूले आफ्ना देवी-देवतालाई बालबालिकाहरू बलिदान गर्थे । युरोपमा हजारौँ वर्ष पहिले नरबलि दिइन्थ्यो भन्ने पुरातात्त्विक साक्षी पाइन्छ । ग्रिक ऐतिहासिकसाथै मिथ्याशास्त्रहरूमा मानव बलिका सन्दर्भहरू पाइन्छन् । प्राचीन रोममा यदकदा मानव बलिको अभ्यास गरिन्थ्यो । जर्मनका जातिहरूले नरबलि दिन्थे भन्ने विवरणहरू पाइन्छन् । हाम्रा दुवै छिमेकी मुलुक भारत र चीनमा मानव बलिको अभ्यास गरिन्थ्यो भन्ने इतिहास छ ।
पन्ध्रौँ शताब्दीमा क्रिस्टोफर कोलम्बसले अमेरिका महादेश पत्ता लगाउनुअगि त्यहाँका आदिबासीहरूले मानव बलि चढाउने गर्थे । अमेरिकामा बन्दीहरूलाई बलिदान चढाइनुका साथै स्वैच्छिक बलिदान पनि अभ्यास गरिन्थ्यो । उत्तर अमेरिकाको दक्षिणमा अवस्थित हाल मेक्सिको भनेर चिनिने मुलुकमा पनि व्यापक रूपमा मानव बलिको अभ्यास गरिन्थ्यो । संयुक्त राज्य अमेरिकासाथै क्यानडाका बासिन्दाहरूले मानव बलि चढाउने गर्थे । दक्षिण अमेरिकाका भूभागहरूमा नरबलि दिइन्थ्यो । उन्नासौँ शताब्दीसम्म पनि पश्चिम अफ्रिकामा मानव बलि सामान्य अभ्यास थियो ।
मिसनरी प्याट्रिकले आयरल्यान्डमा येशूको सुसमाचार पुर्याउनुअगि त्यहाँका बासिन्दाहरू पनि नरबलिमा संलग्न थिए । मूर्तिपूजक प्रुसियन र लिथुसियनहरूले तेर्हौँ र चौधौँ शताब्दीसम्म पनि मानव बलिको अभ्यास गर्थे । ख्रिस्टाब्द १८०२ मा ब्रिटिस लेखक एडवार्ड राएनले विश्लेषण गरे कि यी मानिसमाथि ख्रीष्टियान शिक्षाको प्रभाव नपरेको भए तिनीहरू अझै पनि यही कुरीतिमा लागिरहेका हुन्थे । नेपालमा अझै पनि यसको अभ्यास गरिएको छ भन्दा हाम्रो आङै सिरिङ्ङ हुन्छ ।
मानव बलि अन्यजाति संस्कृतिहरूमा मात्र सीमित थिएन, तर आत्मिक रूपमा पतित हिब्रू राजाहरूले पनि यसको अभ्यास गरे । नवौँ शताब्दी ख्रिस्टपूर्वमा इस्राएलका भ्रष्ट राजा आहाब र रानी ईजेबेल बालका आराधकहरू थिए (१ राजा १६:३१) । आठौँ शताब्दी ख्रिस्टपूर्वमा परमेश्वरबाट तर्केर गई इस्राएलका दुष्ट राजा आहाजले आफ्नै छोरोलाई मोलोख देवताको निम्ति होम गरे, “इस्राएलका राजाहरूका चालमा तिनी हिँडे । इस्राएलको सामुबाट जुन जातिहरूलाई परमप्रभुले निकाल्नुभएको थियो, तिनीहरूकै घिनलाग्दा चालमा हिँडेर तिनले आफ्नो छोरालाई पनि आगोमा होम गरे” (२ राजा १६:३) । केही वर्ष बित्न नपाउँदै अर्का पतित राजा मनश्शेले पनि हिन्नोमको बेँसीमा आफ्नै छोरोलाई बलि दिए, “तिनले आफ्नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए । तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए” (२ राजा २१:६) । सातौँ शताब्दी ख्रिस्टपूर्वमा अर्थात् अगमवक्ता यर्मियाको समयमा यहूदाका मानिसहरूले आफ्नै छोराछोरीहरूलाई बलि दिई परमप्रभुको दृष्टिमा घृणित काम गरे, “आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन् । यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा उब्जेको थियो” (यर्मिया ७:३१) ।
परमेश्वर मानव बलिलाई घृणा गर्नुहुन्छ । त्यसैले उहाँले मोशामार्फत आफ्ना मानिसहरूलाई चेताउनी दिनुभएको थियो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्छ । उनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूका लागि आगोमा होमिदिन्छन्” (व्यवस्था १२:३१) । मानव बलि परमप्रभुको दृष्टिमा घृणित कार्य थियो, “आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, … मृतसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस् । यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो” (व्यवस्था १८:१०-१२) । आफ्नो बालक मोलोख देवतालाई चढाउने मानिसलाई मृत्युदण्डको सजाय तोकिएको थियो, “इस्राएलीहरूलाई भन्: ‘इस्राएलीहरू अथवा तिनीहरूसित वास गर्ने परदेशीहरू जसले आफ्नो बालक मोलोखलाई चढाउँछ त्यो मारिनैपर्छ । समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्” (लेवी २०:२) ।
आज मानव बलिलाई हत्याको रूपमा लिइन्छ । मानवीय दृष्टिकोणमा यो अति नै निन्दनीय र घृणित कार्य मात्र नभई दण्डनीय कार्य पनि हो । बाइबलअनुसार “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि” गर्नुभएकोले (उत्पत्ति १:२७) ऊ अनमोल छ । दश आज्ञामध्ये एउटा आज्ञाले हत्या नगर्न आदेश दिन्छ (प्रस्थान २०:१३) । बाइबलमा कतै पनि परमेश्वरले नरबलिको अनुमोदन गर्नुभएको छैन । यो उहाँको दृष्टिमा घृणित कार्य थियो । परमेश्वरद्वारा चुनिएको जाति अर्थात् इस्राएलीहरूको वरिपरि भएका जातिहरूले आफ्ना देवी-देवताहरूको पूजा गर्ने क्रममा मानव बलि दिने गर्थे । तर यो एउटा घृणित अभ्यास भएकोले परमेश्वरले पटक-पटक यसको निन्दा गर्नुभयो । विभिन्न अन्यजाति संस्कृतिहरूमा सुसमाचारले प्रवेश पाएसँगै यस्तो कुरीतिमा पूर्णविराम लागेको इतिहास छर्लङ्गै छ । मानव बलिको रोक बाइबलीय शिक्षाको अर्को सकारात्मक कदम हो ।