धर्मको नाउँमा हुने देवदासी प्रथाको उन्मूलनमा मिसनरीको योगदान

६ मार्च १९०१ को मिति थियो । “कृपा गरी, मलाई मदत गरिदिनुहोस् । कृपा गरी, मलाई नफर्काउनुहोस्,” ७ वर्षकी प्रेरणा नाउँकी बालिका एमी कारमाइकलको काखमा लम्कँदै गर्दा चिच्च्याइन् । आफ्ना अभिभावकहरू सुतिरहेका बेलामा मध्य रातमा प्रेरणा भर्खरै हिन्दु मन्दिरबाट भागेर आएकी थिइन् । कसैले थाहा नपाउने गरी खुल्लै राखिएको ढोकाबाट प्रवेश गरी उनी कुदेर भागिन् । देवी-देवताहरूको कृपा पाउने आशामा प्रेरणाकी आमाले छोरीलाई मन्दिरका पुजारीहरूकहाँ सुम्पेकी थिइन् । यसरी छोरीलाई मन्दिरमा अर्पण गर्ने प्रथालाई देवदासी प्रथा भनिन्थ्यो । के भइरहेको थियो भन्नेबारे ख्रीष्टियान मिसनरी एमी अनभिज्ञ थिइन् । तथापि एउटा कुरो भने उनलाई पक्का गरी थाहा थियो– ती डरले थुरथुर भएकी बालिका उद्धारको खाँचोमा थिइन् ।

‘देव’ र ‘दासी’ दुईवटा शब्द मिलेर ‘देवदासी’ शब्द बनेको छ । नामैबाट प्रस्ट छ कि देवदासी भनेको ‘देवताकी दासी’ हो । हिन्दु धर्मअनुसार देवदासी भनेको देवतासित बिहे गर्ने केटी हो । देवदासी प्रथामा कन्या केटीलाई मन्दिरमा अर्पण गरिन्थ्यो र अर्पित कन्यालाई देवदासी भनिन्थ्यो । देवदासीलाई कलाकार मानिन्थ्यो । गीत गाएर र नाचेर आगन्तुकहरूलाई खुसी पार्नु तिनीहरूको कर्तव्यको भाग थियो । सरसफाइ गरी मन्दिरको हेरचाह गर्नु तिनीहरूको काम थियो । तर समाजका सम्भ्रान्त, पाखण्ड पण्डित र पुजारीहरूले ती कन्याहरू हुर्केपछि तिनीहरूलाई यौन सन्तुष्टिको साधन बनाए । पुजारी वा अन्य पुरुषसित यौन सम्पर्कमा संलग्न हुनुलाई आतिथ्य मानियो जब कि देवदासीहरूले बिहे गर्न भने नमिल्ने परम्परा बसालियो ।

ख्रिस्टाब्द छैटौँ शताब्दीमा दक्षिण भारतमा देवदासी प्रथाको सुरुआत भएको थियो । दक्षिण भारतमा अवस्थित तामिलनाडु राज्यमा निर्मित तंजावूर मन्दिरमा एघारौँ शताब्दीमा ४०० देवदासी थिए भने अर्को राज्य गुजरातमा ५०० देवदासी । तामिलनाडुको छोला साम्राज्य (तेस्रो शताब्दी ख्रिस्टपूर्वदेखि तेर्‍हौँ शताब्दी ख्रिस्टाब्द) ले देवदासी प्रथाको समर्थन गर्थ्यो । तामिलनाडुमा देवदासीलाई ‘देवताकी दासी’ को रूपमा चिनिन्थ्यो । यो साम्राज्यको बिस्तारसँगै देशैभरि धेरैभन्दा धेरै मन्दिर निर्माण गरिए । अन्य सम्राट्हरूले यसको नक्कल गर्दै देवदासी प्रथा आआफ्ना राज्यमा भित्र्याए । तामिलनाडु, ओडिशा, कर्नाटक, आन्ध्र प्रदेशलगायतका भूभागहरूमा यो प्रथा प्रचलनमा थियो ।

बिसौँ शताब्दीअगि देवदासीहरू खुला रूपमा देखिन्थे । पूर्वी भारतमा अवस्थित ओडिशा राज्यको पुरी सहरमा निर्मित भगवान्‌ कृष्णको नाउँमा समर्पित मन्दिरमा ती देवदासीहरू नाच्ने गर्थे । धेरै देवदासी मन्दिरको वेश्यावृत्तिमा संलग्न भएकाले ब्रिटिस शासनको बेलामा ब्रिटिस सरकार र उच्च खानदानका मानिसहरूले देवदासीहरूलाई सामाजिक रूपमा तल्लो स्तरका ठाने । समाजमा तिनीहरूको छवि बिग्रँदै गयो र मानिसहरूले देवदासी प्रथालाई सामाजिक दुष्ट्याइँको रूपमा लिन थाले । यस प्रथासित असहमत हुनेहरूमध्ये एक जना थिइन्, एमी कारमाइकल ।

आयरल्यान्डमा जन्मेकी एमी १८९५ मा भारतमा मिसनरी बनेर आएकी निर्भीक नारी थिइन् । उनले भारतमा अनाथालय खोल्नुकासाथै दोनाभुर मिसन सुरु गरिन् । बिदा नलिईकनै उनले भारतमा ५५ वर्ष सेवा गरिन् र त्यहाँको मिसनरी कामबारे मनग्गे पुस्तकहरू लेखिन् । एउटा भक्त ख्रीष्‍टियान परिवारमा एमीको जन्म भएको थियो । उनको समयमा भारतमा अभ्यास गरिने थुप्रै अमानवीय अभ्यासहरूमध्ये एउटा थियो, देवदासी प्रथा । यो मन्दिरको  वेश्यावृत्तिसित जोडिएको प्राचीन प्रथा थियो । धर्मको नाउँमा यसको अभ्यास गरिन्थ्यो । यस्तो अभ्यास देखेपछि एमी त्रसित हुन पुगिन् । उनले मन्दिरहरूबाट तिनीहरूलाई छुटकारा दिन थालिन् । प्रेरणा नाउँ गरेकी बालिकाको छुटकाराबाट एमीको यस सेवाकार्यको थालनी भएको थियो । उनले हजारभन्दा बेसी बाल-बालिकाको उद्धार गरिन् । उनीलगायत अन्य अभियन्ताहरूको प्रयासमा पछि देवदासी प्रथालाई भारतमा कानुनबाट उन्मूलन गरिएको थियो ।

देवदासी प्रथाको विरुद्धमा लड्ने अर्का नारी थिइन्, मुथुलक्ष्मी रेड्डी । उनी नारी हक-हितको पक्षमा उत्रने समाजसेवी थिइन् । उनी प्रथम सर्जन, भारतकी प्रथम महिला विधायक र मद्रास विधान परिषद्‌की प्रथम महिला उपाध्यक्ष बनेकी थिइन् । देवदासी प्रथा अन्त्य गर्न कानुन पारित गराउने अगुवाहरूमध्ये उनी एक थिइन् । समाजलाई यथास्थितिमा राख्न चाहने धर्मभिरुहरू उनको विरुद्धमा भए तापनि अन्तत: कानुन बनेर छाड्यो । मद्रास विधान परिषद्‌समक्ष प्रस्ताव पेस गर्दा उनले भनेकी थिइन्, “देवदासी प्रथा सबैभन्दा खराब रूप हो र यो धार्मिक अपराध हो ।” औषधी र समाज सुधारको क्षेत्रमा पुर्याएको योगदानको तारिफ गर्दै भारत सरकारले १९५६ मा उनलाई पद्मभूषणबाट सम्मानित गर्‍यो । यो भारत सरकारबाट दिइने तेस्रो सर्वोच्च सम्मान हो र देशको लागि बहुमूल्य योगदान पुर्‍याउनेहरूलाई यो प्रतिष्ठित पुरस्कार दिइन्छ ।

भारतमा ब्रिटिस शासनकालको बेलामा १९३४ मा पहिलो पटक कानुन बनाएर यस प्रथालाई उन्मूलन गरियो । यो कानुन पूरै भारतमा नभई महाराष्ट्र राज्यमा मात्र लागु थियो । यस कानुनअनुसार चाहे सहमतिमा होस् वा असहमतिमा, कन्या-केटीलाई मन्दिरमा अर्पण गर्ने देवदासी प्रथा गैरकानुनी ठहरियो । भारतले ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेको साल अर्थात् १९४७ मा अर्को कानुन बनाई मद्रास प्रदेशमा लागु हुने गरी देवदासीहरूले बिहे गर्न पाउने र हिन्दु मन्दिरहरूमा केटीहरूलाई अर्पण गर्न नपाउने नियम ल्याइयो । अन्तत: १९८८ मा पूरै भारतमा देवदासी प्रथालाई गैरकानुनी ठहराइयो । भारतमा कानुनी रूपमा देवदासी प्रथामा पूर्ण विराम लागे तापनि व्यावहारिक रूपमा यो पूर्णत: उन्मूलन भइसकेको छैन । राष्ट्रिय महिला आयोगअनुसार २००६ सम्ममा भारतमा अझै पनि ४८ हजारभन्दा बेसी देवदासी थिए भनी अनुमान गरिएको थियो ।

भारतमा प्रचलित देवदासी प्रथा नेपालको देउकी प्रथासित मेल खान्छ । नेपालको सुदूरपश्चिमको सेती र महाकाली अञ्चलमा देउकी प्रथा प्रचलनमा थियो । चौधौँ शताब्दीमा डोटीका राजा नागी मल्लद्वारा ‘मन्दिरमा कन्य चढाउने’ परम्पराको सुरुआतसँगै देउकी प्रथाको थालनी भयो । यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेलौली देवीको मन्दिर थियो । महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नु परेमा, आफ्नो मनोकाङ्क्षाको प्राप्तिमा वा कुनै भाकल पूरा गर्न आफ्नै छोरी वा गरिब परिवारकी अबोध बालिकालाई किनेर मन्दिरमा चढाउने गरिन्थ्यो । यसरी चढाइएकी बालिकालाई देउकी भनिन्थ्यो र ती कन्याहरूले बिहेचाहिँ गर्न नहुने तर यौन सम्पर्कचाहिँ गर्न हुने अन्धविश्वास थियो । मन्दिरमा चढाइएका सामग्रीहरूबाट जीविकोपार्जन गर्नुपर्ने भएकाले देउकीहरू देहव्यापार गर्न बाध्य हुन्थे । ख्रिस्टाब्द १९९० मा जारी नेपालको संविधानले देउकी प्रथालाई मानव बेचबिखन तथा धर्म र संस्कृतिको नाउँमा शोषणको रूपमा लियो । २०७२ को संविधानले देउकीजस्ता प्रथाहरूलाई स्पष्ट रूपमा निषेध गर्छ, “धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन ।” विद्यमान कानुनअनुसार देउकी प्रथा गैरकानुनी भए तापनि व्यावहारिक रूपमा यो पूर्णत: निर्मूलन भइसकेको छैन । अहिले पनि नेपालमा २,०००-३,००० देउकीहरू छन् भनी अनुमान गरिएको छ ।

बाइबलमा कतै पनि देवदासी प्रथाको उल्लेख नभए तापनि यो प्रथा वेश्यावृत्तिसित जोडिएको छ र बाइबलले वेश्यावृत्तिको निषेध गर्छ । बाइबलीय नीतिशास्तमुताबिक वेश्यावृत्ति अनैतिक कार्य हो । यसले विवाह, परिवार र जीवन बर्बाद पारिदिन्छ । इस्राएलीहरूलाई चेताउनी दिइएको थियो, “कुनै इस्राएली पुरुष वा स्‍त्रीले मन्‍दिरका वेश्‍याको काम नगरोस्‌” (व्यवस्था २३:१७) । “तिमीहरूका छोरीहरूलाई वेश्‍या तुल्‍याएर अशुद्ध नपार्नू” (लेवी १९:२९) । हाम्रो शरीर पवित्र आत्माको मन्दिर भएकोले यसलाई बिटुलो पार्नुहुँदैन । पावल कडा चेताउनी दिन्छन्, “तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन ? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ ? यो कदापि नहोस्‌!” (१ कोरिन्थी ६:१५) । बाइबलमा स्पष्ट रूपमा वेश्यावृत्तिमा नलाग्न आज्ञा दिइएको छ ।

यो देवदासी (वा देउकी) प्रथा मानव समाजमा प्रचलनमा आएका कुप्रथामध्ये एक हो । जसरी हिन्दु धर्ममा आफ्नो भाकल पूरा गर्न राँगा, बोका, कुखुरा, परेवा आदि पशुपक्षी मन्दिरमा बलि गरिन्छ, त्यसै गरी गैरकानुनी हुँदाहुँदै पनि अझै कन्यालाई मन्दिरमा चढाइने गरिन्छ । यो धर्म र परम्पराको नाउँमा महिलामाथि हुने यौन शोषण हो । चाहे देवदासी प्रथा होस् (वा देउकी), यो धार्मिक वेश्यावृत्ति अर्थात् कुलिन वर्गले धर्मको आडमा खुलेआम गर्ने यौनशोषण हो । यो बालअधिकार र नारी अधिकारको विपरीत मात्र छैन तर यो मानव बेचबिखनकै एउटा रूप पनि हो । यस्तो प्रथा मानव अधिकारको निर्लज्ज उल्लङ्घन हो । धर्मको नाउँमा हुने यस्तो कलङ्कपूर्ण कुप्रथालाई कडाइका साथ प्रतिबन्ध लगाई यसलाई निरन्तरता दिनेहरूलाई दण्डित गरिनुपर्छ ।

Facebook Comments

Powered by Youth Circle