ख्रिस्टाब्द १७८९ मा विलियम विल्बरफोर्सले इङ्गल्यान्डको संसद भवनमा दासप्रथाको विरुद्धमा तीन घण्टा लामो भाषण गरे । दासप्रथा अन्याय र मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भनी तिनले तर्क गरे । त्यसको दुई वर्षपछि तिनले दासप्रथाको विरुद्धमा अर्को विधेयक पेस गरे । प्रधानमन्त्रीको समर्थन भए तापनि विधेयक पारित भएन । १७८९-१८०६ सम्म हरेक वर्ष तिनले दासप्रथाको विरुद्धमा संसदमा विधेयक लगे तापनि तिनी र तिनको पक्षमा मत हाल्नेहरू पटक-पटक पराजित भए । अटुट प्रयत्नपश्चात् १८०७ मा इङ्गल्यान्डबाट दासप्रथा कानुनी रूपमा उन्मूलन भयो । २८३ मत निर्मूलनको पक्षमा खसेको थियो भने केवल १६ मत त्यसको विपक्षमा । तिनको मृत्युको तीन दिनअगि अर्थात् २६ जुलाई १८३३ मा ऐन पारित गरी दासप्रथालाई ब्रिटिस साम्राज्यमा नै गैरकानुनी ठहराइयो । यसले झन्डै ८ लाख दासलाई मुक्त गर्न मार्ग प्रशस्त गर्यो जसको निम्ति हर्जानास्वरूप अरबौँ रुपियाँ खर्च गरिएको थियो ।
ख्रीष्टियान राजनीतिज्ञ विल्बरफोर्सको पहलमा दासप्रथाको उन्मूलन मात्र भएन तर यसले विश्वव्यापी मानव अधिकार अभियानको जग बसाल्ने काम पनि गर्यो । मानव-जातिको निम्ति महान् काम गर्न तिनी आफ्नो विश्वासबाट प्रेरित थिए र तिनको लागि महान् काम भनेको दासप्रथाको उन्मूलन थियो । ब्रिटिस साम्राज्यबाट दासप्रथाको बिदाइमा सामाजिक सुधारक जोन न्युटनसाथै ईश्वरशास्त्री जोन वेस्लीजस्ता ख्रीष्टियान अगुवाहरू पनि प्रशंसाका पात्र हुन् ।
दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो । दासप्रथा नेपाललगायत विश्वका विभिन्न भूभागमा अभ्यास गरिएको एउटा अमानवीय प्रथा थियो जुन कतिपय ठाउँहरूमा विभिन्न स्वरूपमा अझै पनि कायमै छ । प्राचीन संसारमा दासप्रथा सामान्य अभ्यास थियो । धनीसाथै शक्तिशाली मानिसहरूले दासदासीहरू राख्ने गर्थे । दासदासीहरूलाई पिट्न सकिन्थ्यो; सार्वजनिक रूपमा अपमान गर्न सकिन्थ्यो; यौन दुर्व्यवहार गर्न सकिन्थ्यो; आवश्यकताअनुसार बेच्न पनि सकिन्थ्यो र मालिकले चाहेको खण्डमा मार्न पनि सक्थ्यो । दासहरूको कुनै अधिकार हुँदैनथ्यो । न समाज, न राज्य न परमेश्वरसित तिनीहरूको कुनै सम्बन्ध हुन्थ्यो । तिनीहरूलाई जीवित साधन ठानिन्थ्यो ।
राजा, पुजारीसाथै दार्शनिकहरूले यसको अनुमोदन गरेका पाइन्छ । दासको आत्मा नहुने भएकोले उसको कुनै मानव-अधिकार हुँदैनथ्यो र मालिकले उसलाई चाहेअनुसार व्यवहार गर्न सक्थ्यो भनी पाँचौँ शताब्दी ख्रिस्टपूर्वमा जन्मेका ग्रिक दार्शनिक प्लेटोले विश्वास गरे । चौथो शताब्दी ख्रिस्टपूर्वका प्रभावशाली ग्रिक दार्शनिक अरस्तुले दासप्रथालाई स्वाभाविक ठाने । दास तिनको लागि जीवित साधन थियो र तिनको मृत्यु हुँदा तिनका १४ जना दास थिए ।
दासप्रथा प्रायः हरेक प्राचीन समुदायमा अभ्यास गरिन्थ्यो । प्राचीन संसारमा दासप्रथा यति व्यापक थियो कि ख्रीष्टको आगमनसम्ममा एथेन्समा मात्र ७५% र पूरै रोमी साम्राज्यमा आधाभन्दा बढी जनसङ्ख्या दासदासी थिए भनी अनुमान गरिएको छ । अमेरिका पत्ता लगाउने कोलम्बसले त्यहाँ पाइला टेक्नुअगि त्यहाँका धेरै आदिवासीले पनि दासप्रथालाई व्यापक रूपमा अभ्यास गर्थे । एसिया, युरोप अफ्रिका, अमेरिकासाथै अन्य भूभागहरूमा दासप्रथा विद्यमान थियो । नेपाल, भारत, चीन, इन्डोनेसिया जापान, भियतनाम, कोरियाजस्ता एसियाली मुलुकहरूमा मात्र नभई अमेरिका, इङ्गल्यान्ड, स्पेन, पोर्चुगल, जर्मनी, रुस, ब्राजिल, क्युबा, हैटी, जमैका, मेक्सिको, पुर्टोरिकोजस्ता मुलुकहरूमा पनि दासप्रथाको अभ्यास गरिन्थ्यो ।
व्यापक रूपमा अभ्यास गरिएको यस कुप्रथालाई हटाउन ख्रीष्ट येशूका अनुयायीहरूले उल्लेखनीय योगदान पुर्याएका छन् । परमेश्वरको दृष्टिमा कोही पनि दास छैन भनी चौथो शताब्दीको सुरुमा ख्रीष्टियान दार्शनिक लेक्टानियसले व्यक्त गरे । चौथो-पाँचौँ शताब्दीका ईश्वरशास्त्री अगस्टिनले दासप्रथालाई पापको फल र ईश्वरीय योजनाको विपरीत भएको देखे । ख्रीष्ट आउनुहुँदा उहाँले दासप्रथालाई निमिट्यान्न पारिसक्नुभएको थियो भनी चौथो शताब्दीमा नै प्रखर वक्ता ख्रिसोस्टोमले प्रचार गरे । पाँचौँ शताब्दीमा आएरल्यान्डमा सन्त प्याट्रिकले दासप्रथाको विरोध गरे । अन्ततः छैटौँ शताब्दीमा रोमी सम्राट् जस्टिनियनले दासहरूलाई मुक्त गर्न अवरोध गर्ने सबै कानुन निर्मूलन पारे । बार्हौं शताब्दीमा आइपुग्दा युरोपमा दासप्रथा दुर्लभ बनिसकेको थियो भने चौधौँ शताब्दीसम्ममा यो प्रायः अज्ञात भइसकेको थियो । दासहरूप्रति ख्रीष्टियानहरूको आदर, स्वीकार र स्वतन्त्रताले गर्दा धेरै दासले नयाँ विश्वासलाई स्वीकार गरे । केही त मण्डलीका बिशपहरूसमेत बने । मण्डलीकै कारण मध्यकालीन युरोपमा दासप्रथाको अन्त्य भएको थियो ।
चौधौँ शताब्दीसम्म आइपुग्दा युरोपमा दासप्रथा प्रायः समाप्त भइसकेको भए तापनि सत्रौँ शताब्दीमा ब्रिटिस साम्राज्यले यसलाई ब्युँताएको थियो, खास गरी इङ्गल्यान्डका उपनिवेशहरूमा । ब्रिटेनले अफ्रिकाबाट अमेरिका, क्यानडाजस्ता आफ्ना उपनिवेशी भूभाग लाखौँको सङ्ख्यामा दास-दासी भित्र्याई तिनीहरूलाई जबरजस्ती काममा लगाउन थाल्यो । दासप्रथालाई कानुनी रूपमा स्वीकारयोग्य ठानियो । दासदासीको बेचबिखनविना ब्रिटेनको शक्ति ढल्नेथियो र अर्थतन्त्र डामाडोल हुनेथियो भनी धेरैले विश्वास गर्न थाले । तर मूलतः ख्रीष्टियान राजनीतिज्ञ विल्बरफोर्सको पहलमा ब्रिटिस साम्राज्यबाट दासप्रथाको अन्त्य भयो ।
ख्रिस्टाब्द १८३९ मा इङ्गल्यान्डका भक्त ख्रीष्टियान जोसेफ स्टर्जले संसारकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको स्थापना गरे । अन्य देशहरूबाट दासप्रथा उन्मूलन गर्नु संस्थाको उद्देश्य थियो । १९४८ मा संयुक्त राष्ट्रसङ्घले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गर्यो जसको धारा ४ मा दासप्रथा निषेध गरिएको छ, “कसैलाई पनि दासत्व वा गुलामीमा राखिने छैन । दासत्व र दास व्यापार तिनका सबै स्वरूपमा निषेध गरिने छन् ।”
अमेरिकामा १८६५ मा दासप्रथा उन्मूलन भए तापनि संसारका विभिन्न मुलुकहरूमा बिसौँ शताब्दीसम्म यसको अभ्यास गरिएको थियो । इथियोपियामा १९४२ सम्म, साउदी अरबमा १९६२ सम्म, पेरुमा १९६४ सम्म दासप्रथा कायम थियो । छिमेकी मुलुक भारतमा १८४३ मा दासप्रथालाई कानुनी रूपमा निर्मूलन गरिएको थियो । अफ्रिकाको उत्तर-पश्चिममा अवस्थित मौरिटानिया नामक मुलुक दासप्रथाको अन्त्य हुने अन्तिम देश हो जहाँ १९८१ मा दासप्रथालाई अवैधानिक ठहराइएको थियो ।
नेपालमा शताब्दीऔँदेखि दासप्रथा अस्तित्वमा थियो भन्ने इतिहास पाइन्छ । सय वर्षअगि एउटा दासको मूल्य १०० देखि ३०० रुपियाँ पर्थ्यो र दासले पशुले जस्तै जोतिएर काम गर्नुपर्थ्यो । त्यस बेला नेपालमा ५० हजारभन्दा बेसी दास थिए । २८ नोभेम्बर १९२४ (वि.सं. १९८१ मंसिर १४) मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले दासप्रथाको विरुद्धमा लामो भाषण गरे जसमा तिनले यस अमानवीय क्रूर प्रथाको निर्मूलन गर्ने इमानदार इच्छा व्यक्त गरे । फलस्वरूप अर्को वर्ष अर्थात् १९२५ मा नेपालमा वैधानिक रूपमा दासप्रथाको अन्त्य भयो । सतीप्रथा र दासप्रथाको उन्मूलन गरी चन्द्र शमशेरले नेपाली समाजमा तारिफयोग्य गुण लगाएका छन् । दासप्रथाको निर्मूलन भए तापनि कमैया प्रथा, कमलरी प्रथा र हलिया प्रथाको नाउँमा दासप्रथाको अवशेष जीवितै थियो । साहुको ऋण तिर्न नसकेर साहुकै घरमा बँधुवा मजदुरको रूपमा काम गर्ने प्रथालाई कमैया प्रथा भनिन्छ र यो पश्चिम नेपालको तराई-मधेशमा प्रचलित थियो । परिवारको ऋण चुक्ता गर्न बालिकाहरूलाई साहुको घरमा काम गर्न पठाइने प्रथालाई कमलरी प्रथा भनिन्छ र यो नेपालको पश्चिम तराईमा विद्यमान थियो । अरूको खेत जोतेर जीवन निर्वाह गर्ने बँधुवा कृषि मजदुरीलाई हलिया प्रथा भनिन्छ र यो मूलतः नेपालको सुदूरपश्चिममा अस्तित्वमा थियो । कमैया, कमलरी र हलिया प्रथा क्रमशः ख्रिस्टाब्द २०००, २००६ र २००८ मा कानुनी रूपमा हटेर गए ।
बाइबलमा सतावटकर्ताबाट सुसमाचारका राजकुमार बनेका प्रेरित पावलले फिलेमोनलाई बिन्ती गरेका छन् कि तिनका कमारा ओनेसिमसलाई तिनले कमाराको रूपमा नभई प्रिय भाइजस्तै व्यवहार गर्नुपर्छ (फिलेमोन १६) । ओनेसिमस आफ्ना मालिक फिलेमोनबाट भागेर गएका कमारा थिए जो तिनीकहाँ फर्कंदै थिए । ख्रीष्टियान भएको नाताले हामीले अब उसो दासप्रथाको अभ्यास गर्नुहुँदैन भनी पावल मालिक फिलेमोनलाई पत्र लेखेर बिन्ती गर्दै छन् । पावलले अर्को पत्रमा पनि भनेका छन्, “अब … न कमारा छ न फुक्का, … किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) । प्राचीन संसारमा शताब्दीऔँसम्म विद्यमान दासप्रथाको अभ्यासलाई ध्यानमा राख्दा पावलका वचनहरू क्रान्तिकारी थिए भनी व्यक्त गर्न सकिन्छ । फिलेमोनलाई लिखित पत्र र गलातीको यस खण्डले तत्कालीन समय र अनुगामी पुस्तामा दासप्रथाको उन्मूलनको लागि दृढ जग बसाल्ने काम गरे ।
आदि ख्रीष्टियानहरू फुक्का ख्रीष्टियानहरूसित मात्र नभई दासहरूसित पनि घुलमिल हुन्थे । चाहे दासहरू होउन् वा फुक्का, तिनीहरूले उही वेदीमा प्रभु-भोज लिन्थे । ख्रीष्टियानहरूको यस्तो किसिमको समावेशी व्यवहार रोमीहरूको भन्दा बिलकुल फरक थियो जसले दासहरूलाई घृणा गर्थे । प्राचीन संसारमा मात्र नभई उन्नाइसौँ शताब्दीमा पनि दासप्रथाको उन्मूलनमा ख्रीष्टका अनुयायीहरू नै अग्रपङ्क्तिमा रहे । वास्तवमा दासप्रथा उन्मूलन गरिनुपर्छ भन्ने विचार ख्रीष्टियान आस्थामा मात्र जन्म्यो । समाजशास्त्री रोड्नी स्टार्क लेख्छन्, “तीनवटा महान् एकेश्वरवादी धर्मसहित संसारका सबै धर्ममध्ये दासप्रथा पापिष्ठ थियो र यसको उन्मूलन गरिनुपर्छ भन्ने अवधारणा केवल ख्रिस्टियमतमा उदय भयो । … एक पटक किन्न सक्ने सबै समाजका लागि दासप्रथा झन्डै विश्वव्यापी थियो । … पश्चिमी जगत्मा मात्र उल्लेखनीय नैतिक विरोधको उदय भयो जसले यसको उन्मूलनमा डोर्यायो ।” ख्रीष्टियान दृष्टिकोणमा दासप्रथा केवल प्रथा थिएन, यो त पाप थियो । न दार्शनिक न बाइबलेतर विचारकहरूले दासप्रथालाई नैतिक दृष्टिकोणबाट अमानवीय देखे । ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने पुरुष र स्त्रीहरूले दासप्रथाको विरोध गरी यसलाई निर्मूलन गरे किनकि यो पाप थियो ।
ख्रिस्टियमत भेदभाव गर्ने धर्म थिएन, बरु यसले त सबै किसिमका मानिस, वर्ग र राज्यलाई निमन्त्रणा गर्छ । दासप्रथाको निर्मूलन र जातिभेदको इन्कार दुवैको जरा आदि ख्रीष्टियान शिक्षामा गडेका छन् । चाहे दासप्रथा विरुद्ध विलियम विल्बरफोर्सको अभियान होस् या रङ्गभेद विरुद्ध मार्टिन लुथर किङ्गको आन्दोलन होस्, यी सबै नै आदि ख्रीष्टियान अभ्यासलाई बिउँताउने प्रयत्न मात्रै थिए । मानव-जातिलाई हजारौँ वर्षसम्म पीडा दिने दासप्रथा मूलतः ख्रीष्टियानहरूको प्रयासद्वारा अन्त्य भयो ।
(लेखक कमल अधिकारीको आठौँ पुस्तक सभ्यता निर्माणमा ख्रीष्टियान योगदान नामक पुस्तकबाट साभार)