बाइबल— संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक

संसारमा सबैभन्दा बढी पढिने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी बिक्री-वितरण हुने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक कुन हो ? यी सबैको जवाफ हुन्छ, बाइबल । चाहे आख्यान होस् वा आख्यानेतर अन्य कुनै पनि पुस्तक प्रचार-प्रसारमा बाइबलको नजिक पनि आएको छैन । हरेक वर्ष १० करोड प्रति बाइबल छापिन्छ भने अनुमान गरिएको छ । यो तथ्याङ्कलाई आधार मान्दा प्रति दिन २,७३,९७२ ओटा, प्रति घण्टा ११,४१५ ओटा, प्रति मिनेट १९० ओटा र प्रति सेकेन्ड ३ ओटा बाइबल छापिन्छ ।[i]

मुद्रित बाइबलले मात्र प्रचार-प्रसारमा इतिहास रचेको छैन तर बाइबल एप्स पनि लाखौँ-करोडौँको सङ्ख्यामा डाउनलोड गरिएका छन् । युभर्नसको बाइबल एपलाई मात्र २०१७ को अन्त्यसम्ममा ३० करोड पटक डाउनलोड गरिएको थियो ।[ii]

ख्रिस्टाब्द १८१६ मा स्थापित अमेरिकी बाइबल सोसाइटी (अबासो) को उद्देश्य थियो, “सारा संसारभरि पवित्र धर्मशास्त्रको व्यापक प्रचार-प्रसारलाई उत्साह दिने ।” यो संस्थाले करोडौँ सङ्ख्यामा बाइबल वितरण गरिसकेको छ ।[iii]

बाइबललाई सित्तैँमा वितरण गर्ने उद्देश्य लिएर ख्रिस्टाब्द १८९९ मा एउटा संस्थाको जन्म हुन पुगेको थियो जसलाई हाल गिदोन इन्टरनेसनल भनेर चिनिन्छ । नेपाललगायत २०० भन्दा बेसी मुलुकमा यस संस्थाले आफ्नो सेवालाई जारी राखेको छ । १९०८ देखि बाइबल वितरण गर्न थालेको यस संस्थाले २००१ सम्म आइपुग्दा १ अरब बाइबल वितरण गरेको थियो । तर त्यसपछि भने यो निकै सक्रिय देखा पर्‍यो किनकि २००२ देखि २०१५ सम्म यसले अर्को एक अरब बाइबल वितरण गर्‍यो  । यसरी पहिलो एक अरब बाइबल वितरण गर्न यसलाई ९३ वर्ष लागेको थियो जब कि दोस्रो एक अरब वितरण गर्न केवल १४ वर्ष । हालसम्म २ अरब बाइबल वितरण गरिसकेको गिदोनले यसका सदस्यहरूमार्फत प्रत्येक सेकेन्डमा दुईवटा बाइबल वितरण गर्दछ । यस संस्थाले वितरण गरेका बाइबलहरूले मानिसहरूको जीवनमा व्यापक प्रभाव पारेको देखिन्छ ।[iv]

युनाइटेड बाइबल सोसाइटीको दाबीअनुसार यो संस्था बाइबल अनुवाद र बिक्री-वितरणमा यस ग्रहकै सबैभन्दा ठुलो संस्था हो । यसले ख्रिस्टाब्द १९९८ सम्ममा धर्मशास्त्रको अंशसाथै छनौटलाई जोड्दा ५ अरब ८५ करोड बाइबलका प्रतिहरूलाई वितरण गरेको थियो ।[v]

बाइबलको प्रचार-प्रसारको विषयमा गिनिज वर्ल्ड रिकर्डसमा यसरी लेखिएको छ, “वास्तविक तथ्याङ्क प्राप्त गर्न असम्भव भए तापनि बाइबल संसारमा सबैभन्दा बेसी बिक्री भएको र सबैभन्दा व्यापक रूपमा वितरण भएको पुस्तक हो भन्ने कुरामा थोरै मात्र आशङ्का छ । बाइबल सोसाइटीले गरेको सर्वेक्षणले निष्कर्ष निकालेको थियो, कि ख्रिस्टाब्द १८१५-१९७५ सम्ममा साढे दुई अरब प्रति बाइबल छापिएको थियो, तर हालैको अनुमानले त्यो सङ्ख्यालाई ५ अरब पुर्‍याएको छ ।”[vi]

द क्याम्ब्रिज हिस्ट्री अफ द बाइबलले बताउँछ, कि बाइबलबाहेक “अन्य कुनै पनि पुस्तक यस्तो अविच्छिन्न प्रचार-प्रचासको नजिक आएको थाहा छैन ।”[vii]

हालसम्म पुरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू ७ अरबभन्दा बेसी बिक्री–वितरण भएको छ भनी अनुमान गरिएको छ ।[viii]

तसर्थ हामी भन्न सक्छौँ कि संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तकको नाम हो, बाइबल । बिक्री वितरणसाथै प्रचार-प्रसारमा बाइबलले इतिहास रचेको छ । मानव इतिहासको अनुवाद, प्रतिलिपि, छपाइसाथै वितरणमा अन्य कुनै पुस्तक बाइबलको तुलनामा आएको छैन ।

माओत्सेतुङद्वारा लिखित पुस्तक कोटेसन्स फ्रम चेएरम्यान माओत्सेतुङ दोस्रोमा आउँछ । लिटिल रेड बुक भनेर पनि परिचित यस पुस्तकलाई १ अरबभन्दा बेसी सङ्ख्यामा बेचिएको छ भनी अनुमान गरिएको छ यद्यपि वास्तविक तथ्याङ्क विवादस्पद छ । स्पेनका लेखक मिगुल डे कर्भान्टस साभेद्राद्वारा लिखित डन क्विक्सटे नामक कृति तेस्रोमा श्रेणीमा पर्छ । यो कृति ५० करोड प्रति बिक्री गरिएको छ भनी अनुमान गरिएको छ । चार्ल्स डिकेन्सद्वारा लिखित अ टेल अफ टु सिटिज चौथोमा र जे. आर. आर. टोल्किनद्वारा लिखित द लर्ड अफ द रिङ्ग्स पाँचौँमा पर्छ । यी पुस्तकहरू क्रमशः २० करोड र १५ करोड प्रति बिक्री गरिएको अनुमान गरिएको छ ।[ix]

येशूले भविष्यवाणी गर्नुभएको थियो, “अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ” (मत्ती २४:१४) । लिखित वचन सारा संसारमा सुसमाचार पुर्‍याउने एउटा उल्लेखनीय माध्यम हो ।

 

सन्दर्भ स्रोतहरू

[i]    https://thebibleanswer.org/bibles-sold-each-year/ Accessed on 10 September 2019

[ii]    Ibid.

[iii]    https://en.wikipedia.org/wiki/American_Bible_Society Accessed on 10 September 2019

[iv]    https://en.wikipedia.org/wiki/The_Gideons_International Accessed on 10 September 2019

[v]    Josh McDowell, The New Evidence That Demands a Verdict, (Nashville: Thomas Nelson Publishers), p.8.

[vi]    https://www.guinnessworldrecords.com/world-records/best-selling-book-of-non-fiction/ Accessed on 10 September 2019

[vii]   Quoted by McDowell, The New Evidence That Demands a Verdict, p.8.

[viii]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, २०१९), पृ. सं. १४० ।

[ix]    https://www.worldatlas.com/articles/the-best-selling-books-of-all-time.html Accessed on 10 September 2019

 

Facebook Comments

Powered by Youth Circle