अमेरिका— ख्रीष्टियान जगमा निर्मित मुलुक

पुस्तकको नाउँ Did America Have a Christian Founding?: Separating Modern Myth from Historical Truth हो । लेखक हुन्, मार्क डेभिड हल । तिनी राजनीतिशास्त्रका प्राध्यापकसाथै लेखक हुन् । अमेरिकी जीवनमा धर्म र राजनीतिबारे तिनले मनग्गे कृतिहरू लेखेका छन् । यो २०१९ मा प्रकाशित कृति हो ।

पुस्तक पठन यात्रामा यो मेरो १२३ औँ पुस्तक हो । २४० पृष्ठको यस रचनालाई पढेर सिद्ध्याउन मलाई ६ दिन (अगस्ट ११-१६) मा ७ घण्टा लाग्यो ।

सोर्‍हौँ शताब्दीमा अमेरिकामा युरोपेली उपनिवेशको थालनी भएको थियो । स्पेन, पोर्चुगल, ब्रिटेन र फ्रान्सजस्ता मुलुकहरूले अमेरिकामा आफ्नो उपनिवेश बिस्तार गरे । १७७६ मा अमेरिका ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भयो । ८ वर्षसम्म लम्बिएको अमेरिकी क्रान्तिकारी युद्ध (१७७५-१७८३) ब्रिटिस साम्राज्यबाट स्वतन्त्रताको निम्ति लडिएको युद्ध थियो । १७८८ मा अमेरिकाले आफ्नो संविधान लागु गर्‍यो ।

अमेरिका निर्माण गर्नेहरू राष्ट्रनिर्माताहरू हुन् । जर्ज वासिङ्टन, अलेक्ज्यान्डर हामिल्टन, बेन्जामिन फ्र्याङ्कलिन, जोन आदम्स, समुएल आदम्स, थोमस जेफरसन, जेम्स म्याडिसन र जोन जेलाई अमेरिकी राष्ट्रनिर्माताहरू भनेर चिनिन्छ । यी राष्ट्रनिर्माताहरूका धर्म के थियो ? के तिनीहरू सबै ख्रीष्टियान थिए ? के तिनीहरूले परमेश्वरमाथि विश्वास गर्थे ?

ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता पाउँदा, संविधान लेख्दा र धार्मिक स्वतन्त्रतासम्बन्धी कानुनहरू निर्माण गर्दा अमेरिकी राष्ट्रनिर्माताहरू ख्रीष्टियान अवधारणाबाट ओतप्रोत थिए । तिनीहरू आफ्नो देशमा यस्तो विधिको शासन स्थापित गर्न लागिपरे जसले ख्रीष्टियानहरूलाई मात्र नभई सम्पूर्ण जनतालाई फाइदा मिलोस् । अमेरिकी इतिहासमा १७७६ मा जारी स्वतन्त्रताको घोषणापत्रलाई एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्ताबेजको रूपमा लिइन्छ जसमा राष्ट्रनिर्माताहरू ईश्वरीय बन्दोवस्तको सुरक्षामा आश्रित थिए भनी उल्लेख गरिएको छ, “यी सत्यता स्वयंसिद्ध छन् भनी हामी विश्वास गर्दछौँ: सबै मानिस समान रूपमा सृष्टि गरिएका छन्; आफ्ना सृष्टिकर्ताद्वारा तिनीहरूलाई हरण गर्न नसकिने निश्चित अधिकारहरू दिइएका छन् जसमध्ये जीवन, स्वतन्त्रता र खुसीको खोजी हुन् ।”

मानवप्रति अमेरिकी राष्ट्रनिर्माताहरूको उच्च दृष्टिकोण थियो जुन बाइबलबाट उदय भएको थियो । मान्छे परमेश्वरको स्वरूपमा सृष्टि गरिएको थियो भन्ने ख्रीष्टियान धारणाप्रति तिनीहरू प्रतिबद्ध थिए । परमेश्वरको स्वरूपमा सृष्टि गरिएकाले मान्छे जिम्मेवार प्राणी मात्र होइन, तर सृजनशील प्राणी पनि हो । त्यसैले जबरजस्ती राज्य सञ्चालन गर्नुभन्दा राजनीतिद्वारा मिलेर सञ्चालन गर्न सकिन्छ भनी तिनीहरूले बुझेका थिए ।

‘स्वतन्त्रता’ अमेरिकी मूल्य-मान्यताको सार हो । स्वतन्त्रताको निम्ति लडिएको अमेरिकी युद्ध मूलत: राजनीतिक र धार्मिक स्वतन्त्रताको रक्षाको लागि थियो । गलाती ५:१ बारम्बर उद्धृत खण्ड थियो, “स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ । यसकारण दह्रा भएर खडा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर ।” “सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू” (लेवी २५:१०) भन्ने वचन औधी प्रसिद्ध थियो । स्वतन्त्रताविना कानुनले आफ्नो स्वभाव र नाउँ गुमाउँछ अनि यो दमन बन्न पुग्छ । कानुनविना स्वतन्त्रताले आफ्नो स्वभाव र नाउँ गुमाउँछ अनि यो भ्रष्ट बन्न पुग्छ । राष्ट्रनिर्माताहरूले यी दुईको आवश्यकता र भिन्नतालाई राम्ररी बुझेका थिए ।

संवैधानिक सङ्घीय गणतान्त्रिक मुलुक अमेरका ५० ओटा राज्य मिलेर बनेको छ । ९८,३३,५२० वर्ग किलोमिटरमा फैलिएको यो भूगोलको हिसाबले चौथो (वा तेस्रो ?) ठुलो मुलुक हो । नेपालभन्दा ६७ गुणा ठुलो अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. हो । २०२० को जनगणनाअनुसार यहाँ ३३ करोड जनसङ्ख्या छ । ख्रिस्टियमत अमेरिकाको सर्वाधिक ठुलो धर्म हो । यहाँका ६५% जनसङ्ख्या ख्रीष्टियान छन् । ख्रीष्टियानहरूको बाहुल्यता रहेको यस देशमा कुनै पनि नागरिकले कुनै पनि धर्म मान्न पाउँछ । धार्मिक स्वतन्त्रताप्रति अमेरिका प्रतिबद्ध छ । यहाँका ९९% जनसङ्ख्या साक्षर छन् र ८३% मानिस सहरवासी छन् । १७६ ओटा भाषा बोलिने यो देश मानव विकास सूचाङ्कमा १७ औँ स्थानमा छ र यसलाई निकै उच्च मानिन्छ । “परमेश्वरमा नै हामी भरोस गर्छौं” अमेरिकाको आदर्श वाक्य उसको नोटमा पनि लेखिएको छ ।

अमेरिका ख्रीष्टियान जगमा निर्मित मुलुक हो भनी पुस्तकमा प्रस्ट पारिएको छ । ख्रीष्टियान प्रतिबद्धताले राष्ट्रनिर्माताहरूलाई यस्तो नियम-कानुनको रचना गर्न प्रेरित गर्‍यो जसले सरकारको शक्तिलाई सीमित पार्छ; विभिन्न शाखाहरूमा शक्तिको विभाजन गर्छ र कुनै एउटा व्यक्ति वा संस्था निर्दयी बन्न सक्ने सम्भावनालाई रोक्छ । अमेरिकी स्थापना कालमा बाइबल सबैभन्दा प्रभावशाली पुस्तक थियो । राष्ट्रनिर्माताहरूका लागि बाइबल सबैभन्दा आधिकारिक स्रोत थियो यद्यपि यो कुनै राजनीतिक निर्देशिका थिएन र होइन ।

यस पुस्तकले अमेरिका निर्माणमा ख्रीष्टियान मूल्य-मान्यताहरूलाई छर्लङ्ग पारिदिन्छ । अमेरिकी स्थापना ख्रीष्टियान स्थापना थियो र यो देशको धार्मिक स्वतन्त्रता ख्रीष्टियान अवधारणाको नतिजा थियो । स्वतन्त्रता, सीमित सरकार, संविधानको अवधारणा, विधिको शासनजस्ता विचारहरूको लागि अमेरिका ख्रीष्टियान विचारप्रति ऋणी छ । अमेरिकी राष्ट्रनिर्माताहरू गहन ख्रीष्टियान विश्वासका राजनेताहरू थिए जसले मुलुकको आधारभूत दस्ताबेज, भाषण र संविधानमा आफ्ना विश्वासहरू लागु गरी आफ्नो देशलाई समृद्धितर्फ डोर्‍याए ।

Facebook Comments

Powered by Youth Circle