बाइबल— संसारमा सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको पुस्तक

एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने कामलाई अनुवाद भनिन्छ ।[i] हिब्रू, आरमेइक र ग्रिक गरी बाइबललाई तीनवटा मूल भाषामा लेखिएको थियो तर आज हजारौँ भाषामा बाइबलको वचन उपलब्ध छ । विकिपिडियाअनुसार अक्टोबर २०१८ सम्ममा पूरै बाइबललाई ६८३ ओटा भाषामा, नयाँ करारलाई थप १,५३४ ओटा भाषामा र यसका अंशहरूलाई थप १,१३३ ओटा भाषामा अनुवाद गरिएको छ । यसरी बाइबलको कुनै न कुनै अंश कम्तीमा पनि ३,३५० ओटा भाषामा अनुवाद भइसकेको छ ।[ii] बाइबलको वचनलाई थप भाषाहरूमा पुर्‍याउने कामले निरन्तरता पाइरहेको छ ।

धेरैजसो पुस्तकहरू अन्य भाषामा अनुवाद नै गरिँदैनन् । अनुवाद गरिए पनि दुई वा तीनवटा भाषामा मुश्किलैले छापिन्छन् । ज्यादै थोरै पुस्तकहरू मात्रै दस नाघ्न सक्छन् । तर बाइबलको हकमा भने हामी आश्चर्यपूर्ण तथ्याङ्क पाउँछौँ ।

६०५ ख्रिस्टपूर्वमा यहूदीहरू पहिलो पटक बेबिलोनी निर्वासनमा लगिँदा जब आरमेइक तिनीहरूको सम्पर्कको भाषा बन्यो, तब पञ्चग्रन्थ भनेर चिनिने बाइबलका अगिल्ला पाँचवटा पुस्तकलाई पहिलो पटक आरमेइक भाषामा अनुवाद गरियो ।[iii] यस अनुवादलाई तर्गुम भनेर चिनिन्छ ।

माथि नै उल्लेख गरिएको छ कि पुरानो करारलाई मूलतः हिब्रू भाषामा लेखिएको थियो । तर अलेक्ज्यान्डर महान् (३५६-३२३ ख्रिस्टपूर्व) को समयदेखि भूमध्यसागरका वरिपरिका क्षेत्रहरूमा ग्रिक सम्पर्कको भाषाको रूपमा स्थापित हुन पुग्यो । तसर्थ पुरानो करारलाई ग्रिकमा अनुवाद गर्नुपर्ने अवस्थाको सृजना भयो । करिब २५० ख्रिस्टपूर्वमा पुरानो करारको बाइबललाई ग्रिक भाषामा अनुवाद गरियो जसलाई सेप्टुआजिन्ट भनेर चिनिन्छ । यो नै ग्रिक भाषामा अनुवाद गरिएको प्राचीनतम बाइबल हो । हाम्रा प्रभु येशू ख्रीष्टलगायत नयाँ करारका लेखकहरूले यही बाइबलबाट प्रचुर मात्रामा उद्धृत गरे ।

करिब ख्रिस्टाब्द १८० बाट नयाँ करारको ग्रिक बाइबल ल्याटिन, सिरिया, काप्टीक भाषामा अनुवाद गरिन थालियो । झन्डै ३८० मा जेरोमले पुरानो करारलाई हिब्रू भाषाबाट र नयाँ करारलाई ग्रिक भाषाबाट ल्याटिन भाषामा उतारे । यस अनूदित बाइबललाई ल्याटिन भल्गेट भनेर चिनिन्छ । सोर्‍हौँ शताब्दीमा सुधारवादको जन्म नहुँदासम्म ल्याटिन भल्गेट नै पश्चिमी मण्डलीको बाइबल बन्यो ।[iv]

सातौँ शताब्दीको उत्तरार्द्धमा नै बाइबलका वचनहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्न थालिएको भए तापनि अङ्ग्रेजी भाषामा बाइबल अनुवाद गर्ने प्रथम व्यक्तिको रूपमा जोन विक्लिफलाई चिनिन्छ[v] जो चौधौँ शताब्दीका ईश्वरशास्त्रीसाथै अनुवादक थिए ।

नेपाली भाषामा बाइबल अनुवाद गर्ने प्रथम व्यक्ति विलियम केरी हुन् जसले ख्रिस्टाब्द १८२० मा भारतको बङ्गालमा नयाँ करारलाई अनुवाद गरेका थिए । ब्रिटिस एन्ड फोरेन बाइबल सोसाइटीको प्रयासमा पास्टर गंगाप्रसाद प्रधानको मुख्य भूमिकामा पूरै बाइबललाई १९१४ मा नेपाली भाषामा प्रकाशित गरियो ।[vi]

संसारमा बोलिने ७,१११ ओटा[vii] ज्ञात विद्यमान भाषामध्ये बाइबल अनूदित तथ्याङ्क भनेको लगभग ४७% भए तापनि संसारका ९०% भन्दा बढी जनसङ्ख्याले बाइबलका वचनहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन् ।[viii]

तपाईंले सोध्नुहोलाः लगभग ४७% भाषामा मात्र बाइबलको वचन छापिएको छ भने कसरी ९०% भन्दा बढी जनसङ्ख्याले यसलाई आफ्नै मातृभाषामा पढ्न पाएका छन् त ? यसको जवाफ दिन्छ वार्षिक रूपमा मुद्रणसाथै अनलाइनमा प्रकाशित हुने Ethnologue: Languages of the World नामक स्रोतले । यसको बाइसौँ संस्करण (२०१९) अनुसार संसारमा ९१ करोड मानिसले चिनियाँ, ४६ करोड मानिसले स्पेनी, ३७ करोड मानिसले अङ्ग्रेजी र ३४ करोड मानिसले हिन्दी बोल्छन् ।[ix] हामीलाई थाहा छ, कि यीलगायत अन्य धेरै मानिसहरूले बोल्ने भाषाहरूमा बाइबल अनुवाद भइसकेको छ ।

विकिपिडियाअनुसार संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक हो— बाइबल ।[x] दोस्रो नम्बरमा पास्टर क्रिस ओखिलोमद्वारा अङ्ग्रेजीमा लिखित रापसोडोसी अफ रियालिटिज पर्छ जसलाई १,००० ओटाभन्दा कम भाषामा अनुवाद गरिएको छ । तेस्रोमा कार्लो कोलोडीको कृति (ले अभेन्चुर डि पिनोखिओ) पर्छ जसको अनूदित सङ्ख्या ३०० भन्दा कम रहेको छ ।[xi] यसै गरी, जोन बनयानद्वारा लिखित पिलग्रिम्स प्रोग्रेसलाई २०० ओटा, थोमस केम्पिसद्वारा लिखित द इमिटेसन अफ क्राइस्टलाई ९५ ओटा, भगवद्गीतालाई ८० ओटा, पूर्ण कुरआनलाई ५० ओटा, सी. एस. लेविसद्वारा लिखित कृति द क्रोनिकल्स अफ नार्नियालाई ४७ ओटा भाषामा अनुवाद गरिएको छ ।[xii]

मानिसहरूले आफ्नै भाषामा धर्मशास्त्रलाई पढ्न पाउनुपर्छ भन्ने चौधौँ शताब्दीका बाइबल अनुवादक जोन विक्लिफको सपना परमेश्वरले केही दसकभित्र पूरा गर्दै हुनुहुन्छ भनी अपेक्षा गर्न सकिन्छ ।[xiii]

 

सन्दर्भ स्रोतहरूः

[i] नेपाली बृहत् शब्दकोश (काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठान, २०७५) ।

[ii] https://en.wikipedia.org/wiki/Bible_translations Accessed on 9 September 2019

[iii] कमल अधिकारी, प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (काठमाडौँ: वरदान प्रकाशन, २०११), पृ. सं. १८५ ।

[iv] Ibid.

[v] https://en.wikipedia.org/wiki/Bible_translations_into_English Accessed on 9 September 2019

[vi] अधिकारी, प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू, पृ. सं. १८८ ।

[vii] https://www.ethnologue.com/ Accessed on 9 September 2019

[viii] Josh McDowell, The New Evidence That Demands a Verdict, (Nashville: Thomas Nelson Publishers), p.8.

[ix] https://en.wikipedia.org/wiki/List_of_languages_by_number_of_native_speakers Accessed on 9 September 2019

[x] https://en.wikipedia.org/wiki/List_of_literary_works_by_number_of_translations Accessed on 9 September 2019

[xi] Ibid.

[xii] Ibid.

[xiii] थप जानकारीको लागि कमल अधिकारीद्वारा लिखित पुस्तक प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरूको पाठ पच्चिस पढ्नुहोस् ।

Facebook Comments

Powered by Youth Circle